Saturday, May 30th, 2020
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–१३ भैँसेपाटीस्थित अरनिको राजमार्गमा मिनीट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । बनेपाबाट साँगातर्फ जाँदै गरेको मिनीट्रक र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल एकापसमा आइतबार बिहान ठक्कर खाँदा मोटरसाइकलमा सवार तीन घाइते हुँदा उपचारको क्रममा दुई जनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षकले जानकारी दिए । मृत्यु हुनेमा उदयपुर जिल्ला रौतमाई गाउँपालिका–४ बस्ने वर्ष ३५ का मोटरसाइकल चालक मीनबहादुर श्रेष्ठ र उनको पाँच वर्षीय छोरा सुबिन श्रेष्ठ रहेका छन् ।

– कैलालीको विकट क्षेत्र गोदावरी नगरपालिका–४, फुलबस्तीमा विस्फोट भएको छ । घटनामा अन्दाजी ३५ वर्षीय नरबहादुर विकको मृत्यु भएको छ ।

– कोरोनाको संक्रमण फैलिन नदिन चौतर्फी प्रयास भइरहेको अवस्थामा कालोबजारी गर्ने चार जनालाई जनकपुरधामबाट पक्राउ गरिएको छ । पक्राउ पर्नेमा जनकपुरधाम ४ स्थित सुस्मिता मेडिकलका सञ्चालक सर्लाहीको बरहथवा नगरपालिका ८ बस्ने संजय साह र जनकपुरधााम ४ स्थित सम्पूर्ण मेडिकलबाट सोही ठाउँका ३२ वर्षीय संजय साह छन् । यी दुबैले मास्कमा कालोबजारी गरेको प्रहरीको भनाइ छ । यस्तै, जनकपुरकै भ्रमरपुरा चोकस्थित अटल फार्मेसीबाट धनुषाको लक्ष्मिनियाँ गाउँपालिका ३ बस्ने २६ वर्षीय अनिल यादव र महोत्तरीको जलेश्वर नगरपालिका ६ बस्ने ३० वर्षीय प्रभन्स चौधरीलाई पक्राउ गरिएको छ ।

– बहराइनमा तीन नेपालीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । शनिबार बेलुकी परीक्षणको क्रममा नेपाली तीन जना पुरुष व्यक्तिलाई कोरोना संक्रमणको पुष्टि भएको बहराइनस्थित नेपाली राजदूतले जानकारी दिएको छ।

– पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ घाँसीकुवामा आइतबार बिहान बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा नगरपालिका घर भई हाल तनहुँको शुक्लागण्डकी नगरपालिका–२ बस्ने २५ वर्षीया शर्मिला ठकुरी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

– ताप्लेजुङको मैवाखोला गाउँपालिकाको केन्द्र साँघु बजारमा आगलागी भएको छ । आइतबार दिउँसो स्थानीय मानबहादुर प्रसाईंको घरबाट आगलागी सुरु भएको हो । प्रसाईंको घर पूर्ण रुपमा जलेको छ।नजिकै रहेको राम शेर्पाको घर पनि आशिंक जलेको स्थानीयले बताएका छन् ।

– राजधानीका अधिकांश ठूला व्यापारिक प्रतिष्ठान बन्द भएका छन् । सपिङ मलको नाममा सञ्चालनमा रहेका व्यापारिक प्रतिष्ठान आइतबारदेखि बन्द भएका हुन् । सरकारले अत्यावश्यक वस्तुबाहेक अन्य क्षेत्र बन्द गर्ने घोषणासँगै यस्ता व्यापारिक प्रतिष्ठान बन्द भएका हुन् ।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com