Saturday, May 30th, 2020
स्वास्थ्यका लागि व्यायाम

स्वास्थ्यका लागि व्यायाम

आधुनिक संसारको विकास सँगै मेसिनको प्रयोग बढ्दो छ । जसले गर्दा मानिसले गर्नुपर्ने श्रममा पनि कमि आइरहेको छ । साथै तैयारी खानेकुराहरु बजारमा प्रशस्तै पाइन्छन् जुन स्वादिलो त हुन्छ तर आफूसँगै थुप्रै रोगको जरो लिएर आउँछ । अव्यवस्थित खानपान र आरामले गर्दा मानिसहरु कम उमेरमै अनेकौ रोगहरुको चपेटमा आइपुग्छन् । जस्तै प्रेशर सुगर, मोटोपना आदि । जो व्यक्ति आफ्नो स्वास्थ्यप्रति सजग छन् र नियमित व्यायाम गर्छन् । उनीहरु उमेर ढल्दै जाँदा पनि स्वस्थ र सक्रिय रहन सक्छन् । त्यसकारण व्यायाम एक आवश्यक कार्य हो । स्वस्थ जीवन तब मात्र पाइन्छ , जब हामी सहि खानपानमा ध्यान दिएर नियमित रुपले व्यायाम वा योगा गर्छौ ।

नियमित व्यायाम आवश्यक

हामीलाई धेरथोर व्यायाम वा योगको जानकारी भए पनि यस कार्यलाई नियमित गर्न हामीलाई अल्छी लाग्छ । जब सम्म हामी नियमित व्यायाम गर्दैनौ, तब सम्म हामीले कुनै स्वास्थ्य लाभ गर्न सक्दैनौ । केहि व्यक्तिहरु केहि समय व्यायाम गर्छन् र केहि दिन पछि यसलाई नियमित गर्न छोड्छन् । व्यायाम गर्दा दिनहुँ उनीहरु आफूमा परिवर्तन चाहन्छन् । जब उनीहरुले कुनै परिवर्तन पाउँदैनन् , त्यसपछि अल्छी लाग्न थाल्छ र निराश भएर केहिदिन मा नै व्यायाम गर्न छोड्छन् । यसो गर्दा स्वास्थ्यमा झन विपरित असर पर्छ । हामी जुन व्यायाम अपनाउँछौ । त्यसलाई नियम पूर्वक पालना गर्नु पर्छ । स्वस्थ खानाको सेवन र नियमित व्यायामले हाम्रो स्वास्थ्य उत्तम रहन्छ । हामीले मर्निङ वाक, स्वीमीङ वा जगिङ गरेर पनि व्यायाम गर्न सक्छौ । छिटो हिड्दा वा व्यायाम गर्दा मुटुको धमनीमा रगतको संचार सुचारु रुपमा हुनुको साथै मुटुको मांसपेशी स्वस्थ रहन्छ ।

वृद्धावस्थाका लागि हिड्नु उत्तम

त्यसो त जुनसुकै व्यायाम जुनसुकै उमेरका व्यक्तिका लागि फाइदाजनक हुन्छ तर नियमित गरेको हुनुपर्छ । निकै जोशमा आएर एक दिन कठिन व्यायाम गर्ने र अर्को दिन देखि छोड्ने गर्नु राम्रो होइन । फिटनेसलाई एकै चोटीमा जम्मा गरेर राख्न सकिदैन । यसका लागि नियमित रुपमा २०–३० मिनेट जाडो होस् वा गर्मी गरिरहनुपर्छ । जुन व्यायाम सजिलो छ र सरलतापूर्वक गर्न सकिन्छ । त्यहि
व्यायाम गर्नुपर्छ तर नियमित हुनुपर्छ । वृद्धावस्थामा सरल व्यायाम गर्नुपर्छ । त्यसैले उनीहरुका लागि बिहान हिड्नु सबै भन्दा उत्तम व्यायाम हो । बिहान हिड्दा कोहि साथी भए अझ उत्तम हुन्छ । अनुसन्धान अनुसार आफ्नो साथी वा समूहमा मर्निङ वाक गर्दा मानसिक र शारिरीक दूवै रुपमा फाइदाजनक ह्ुन्छ । समूहमा मर्निङ वाक गर्नु एक्लै गर्नु भन्दा राम्रो हुन्छ । परस्पर संवाद, भलाकुसारीले दिमागको बोझ हल्का हुन्छ । समूहमा सुख तथा दुःखका कुराहरु अवश्य पनि निस्किन्छ । झन् कोहि हसाँउन खप्पिस हुन्छन् । बिहान हाँस्नु पनि स्वास्थ्यको लागि प्रभावकारी हुन्छ ।

प्रौढ महिलाहरुका लागि फाइदाजनक

जुन महिलाहरु आफ्नो स्वास्थ्यका प्रति जागरुक रहि व्यायाम गर्छन् । उनीहरुको मेनोपोज (महिनावारी सुक्ने समय) को समस्यामा कमि हुन्छ । एक अनुसन्धान अनुसार व्यायाम गर्ने प्रौढ महिलाहरुको स्वास्थ्य राम्रो हुनुका साथै मधुमेह, मुटुको रोग र क्यान्सरको खतरा पनि कम हुन्छ । क्यालिफोनिया यूनिवर्सिटीका अनुसार जुन महिलाहरु गर्भावस्थामा हरेक हप्ता ३, ४ घण्टा व्यायाम गर्छन् । उनीहरुमा स्तन क्यान्सरको संभावना १० प्रतिशत कम हुन्छ ।

व्यायामका साथै पौष्टिक खानाको आवश्यकता

मर्निङ वाक गरेर वा व्यायाम गरेर पसिना बगाउँदा भोक लाग्नु स्वाभाविक हुन्छ । परिश्रम पछि मांसपेशीहरु शिथिल हुन्छन्, सलाईपौष्टिक आहारले पुनः बलियो बनाउँछ र शक्ति प्रदान गर्छ । हलुका व्यायाम पछि साधारण भोजन वा कम पौष्टिक भोजन चल्छ तर कठोर व्यायाम पछि मांसपेशीको कोशिकाको मर्मतका लागि प्रशस्त प्रोटिन बोसो र कार्बोहाइड्रेट युक्त खानेकुरा खानुपर्छ । बैज्ञानिकका अनुसारकार्बोहाइड्रेट र बोसोले पुनः शरिरलाई शक्ति प्रदान गर्छ र प्रोटिनको एसिडहरुले मांसपेशीलाई पहिलेको अवस्थामा ल्याउँछ । त्यसकारण हामीले यस्तो खाना खानु पर्छ । जसबाट शरिरलाई कम्तिमा १० ग्राम प्रोटिन र थोरै मात्रामा कार्बोहाइड्रेट र बोसो प्राप्त होस् । व्यायाम गरिसके पछि आधा घण्टा पछि खाना वा नास्ता खानुपर्छ र शरिरलाई आराम दिनुपर्छ । दूध दहि र दूधबाट बनेको परिकारले मांसपेशीको मर्मत तीव्र गतिमा गर्छ । यसबाट पेटको क्यान्सर हुने संभावना कम हुन्छ ।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com