Wednesday, April 8th, 2020
प्रशंसाको महत्व (प्रेरक कथा)

प्रशंसाको महत्व (प्रेरक कथा)

एक पटक थोमस एडिसन स्कुलबाट घर गए र आफ्नी आमालाई एउटा पत्र दिँदै भने, ‘यो चिठ्ठी स्कुलको म्याडमले तिम्रो आमालाई दिनु भन्नु भयो ।’ चिठ्ठी खोल्ना साथ एडिसनकी आमाको आँखाबाट आँसु झर्न थाल्यो । उनले चिठ्ठी बेस्सरी पढीन् , ‘तपाईको छोरा निकै बुद्धिमान् छ । हाम्रो हिसाबले उसको लागि हाम्रो स्कुल धेरै उपयुक्त छैन । हामी कहाँ धेरै योग्य शिक्षकहरू पनि छैनन् ,जसले एडिसनको दिमाग अनुसार शिक्षा दिन सकुन् । त्यसैले कृपया अब देखि एडिसनलाई तपाईले आफै घरमै पढाउनु होला ।’

केही वर्ष पछि एडिसनकी आमाको मृत्यु भयो । त्यस बेला सम्म उनी महान् वैज्ञानिक बनी सकेका थिए । एक दिन उनी बाकसमा रहेको पुराना वस्तुहरू हेरी रहेका थिए । त्यसैबेला उनले शिक्षिकाले आमालाई पठाएको चिठ्ठी भेट्टाए । उनले त्यो चिठ्ठी पढ्न सुरु गरे । उनी त्यो चिठ्ठी पढेर छक्क परे किनकि त्यहाँ लेखिएको थियो ‘तपाईँको छोरा मानसिक रूपमा रोगी छ । हाम्रा शिक्षकले उसलाई पढाउन सक्दैनन् । त्यसैले हामीले उसलाई स्कुलबाट निकाल्दैछौ । तपाई आफैले उसलाई घरमा पढाउनु होला ।’ त्यो चिठ्ठी पढेर उनी निकै भावुक भए र उनले एउटा किताब लेखे । उनले त्यसमा व्यक्त गरे कि एडिसन एक मानसिक रूपमा कमजोर बच्चा थिए ,जसलाई उनकी आमाले एक महान् वैज्ञानिक बनाई दिइन् ।

प्रायः यस्तो हुन्छ कि हामी कुनै व्यक्तिलाई बारम्बार उसको अवगुणका बारेमा बताउछौ भने उ बिस्तारै हतोत्साहीत हुँदै जान्छ र आफ्नो गुण चिन्न सक्दैन । यसको सट्टा हामीले उसको अवगुणलाई उसको कमजोरी जस्तो व्यवहार नगरी उसको शक्ति जस्तो व्यवहार गर्नुपर्छ । यसले उसको समग्र व्यक्तित्व नै परिवर्तन हुन पुग्छ ।

Share This: