Monday, June 1st, 2020
विदेशमा आज

विदेशमा आज

– अमेरिकाले उत्तर कोरियालाई सहयोग गर्नेबारे एक पत्र पठाएको छ । उत्तर कोरियाली सञ्चार माध्यम केसीएनएका अनुसार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सर्वोच्च नेता किम जोङ–उनलाई लेखेको पत्रमा ‘कोभिड–१९’ महामारीविरुद्ध लड्न सहयोग गर्ने इच्छा व्यक्त गरिएको छ ।

– साउदी अरबमा सोमबारदेखि २१ दिनसम्म साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म कर्फ्यु लगाइने भएको छ । प्रधानमन्त्रीसमेत रहेका साउदी राजा सलमान बिन अब्दुलअजिजले कोरोना भाइरस (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि आंशिक रुपमा कर्फ्युको घोषणा गरेका हुन् । साउदी अरेबियाको आन्तरिक मामिला मन्त्रालयले सैनिक अधिकार र नागरकिलाई कर्फ्युको पालना गर्न गराउन निर्देशन दिएको छ ।

– कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट युरोपमा मात्रै मृत्यु हुनेको संख्या करिब ९ हजार पुगेको छ। कोभिड–१९ को नयाँ इपिसेन्टर मानिएको युरोपका इटाली, जर्मनी, स्पेन र बेलायतमा भाइरसको संक्रमण र मृतकको संख्या बढिरहेको छ ।

– कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट फ्रान्समा एक जना डाक्टरको मृत्यु भएको छ । कोभिड–१९ को संक्रमणबाट कोम्पियानी अस्पतालका ६७ वर्षीय डाक्टर जाँ ज्याक्स राजाफिन्द्रानाजीको आइतबार मृत्यु भएको हो ।

– अफगानिस्तानको कापिसा प्रान्तमा शनिबार भएको गोली हानाहानमा सरकार समर्थित चार र विद्रोही तीनजना लडाकुको मृत्यु भएको छ । प्रान्तीय प्रहरी प्रवक्ताले तालिबान लडाकुको एक समूहले निजरब जिल्लाको एक प्रहरी चौकीमा शनिबार बिहान आक्रमण गरेका थिए । दुबैतर्फ झण्डै एक घण्टा गोली हानाहान भएको बताइएको छ ।

– अस्ट्रेलियाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने निर्णय गरेको छ । कोरोना भाइरसको प्रकोप नियन्त्रणका लागि सरकारले यस्तो योजना अघि सारेको हो । अहिले अस्ट्रेलियामा तीव्र गतिमा कोरोना भाइरसको प्रकोप फैलिइरहेको छ ।

– कोरियामा झन्डै दुई महिनाछि कोरोना संक्रमित संख्या दैनिक एक सयभन्दा कम भएको छ । आइतबार जारी भएको सरकारी तथ्यांकले ९८ जना संक्रमित पुष्टि भएको देखाएको छ । बिहीबार, शुक्रबार र शनिबार पनि नयाँ संक्रमितको संख्या सयकै हाराहारी थियो ।

– भारतले कोरोना भाइरसको संक्रमणलाई फैलनबाट रोक्न आइतबारदेखि १० दिनका लागि यात्रुवाहक रेलसेवा पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ । आइतबार बिहान बसेको रेल मन्त्रालय अन्तर्गतको रेल्वे बोर्डको बैठकले त्यस्तो निर्णय लिएको हो ।

– कोभिड–१९ (कोरोना भाइरस) को संक्रमणसँग जुधिरहेको युरोपको क्रोएसियालाई आइतबार भूकम्प जाँदा एकजना गम्भीर घाइते भएका छन् । राजधानी जाग्रिब नजिकै इपिसेन्टर भएको ५।३ म्याग्निच्युडको भूकम्पमा परी एक १५ वर्षीय किशोरको अवस्था गम्भीर छ। भूकम्पमा परी भत्किएको घरको भग्नावशेषमा ती किशोर फेला परेका थिए।

– कोरोना संक्रमित एक जना डाक्टरसँग भेटघाट भएको पत्ता लागेपछि जर्मनी चान्सलर एंगेला मर्केललाई क्वारेन्टाइनमा राखिएको छ । उनी आफ्नै घरमा क्वारेन्टाइनमा रहेको बताइएको छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि जर्मनीले दुई जनाभन्दा बढी व्यक्ति जमघट गर्न रोक लगाएको छ । यस्तो प्रतिबन्ध घरभित्र र बाहिर दुवै ठाउँमा एक हप्ताका लागि लगाइएको हो ।

– सयौं माओवादी विद्रोहीद्वारा भारतको छत्तीसगढ राज्यमा शनिवार गरेको आक्रमणमा १७ प्रहरीको मृत्यु भएको भारतीय अधिकारीले पुष्टि गरेका छन् । सुकमा जिल्लाको जंगलमा रहेको पुलिस कमाण्डो गस्तीमा भएको आक्रमण पछिल्ला वर्षहरूमा प्रहरीमाथि भएको भीषण आक्रमणका रूपमा लिएको भारतीय प्रहरीका एक प्रवक्ताले बताए । आक्रमणपछि आइतवार नै उक्त जिल्लामा ठूलो संख्यामा सुरक्षाकर्मी पठाइएको राज्य सरकारले बताएको छ ।

– कोरोना भाइरसविरुद्ध लड्न इरानलाई अमेरिकाले दिने भनेको सहयोग इरानका सर्वोच्च नेता अयातोल्लाह अली खमेनीले अस्वीकार गरेका छन् । कोरोना भाइरसको महामारीलाई ‘षड्यन्त्रको सिद्धान्त’ भन्दै उनले अमेरिकी सहयोग अस्वीकार गरेका हुन् ।

– अमेरिकाको न्यूयोर्क राज्यमा बसोबास गर्ने दुई जना नेपालीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। दुवै जनालाई अहिले कुइन्सस्थित एल्मष्ट अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ। दुई जनामध्ये ५० वर्षीय एक नेपालीको अवस्था गम्भीर रहेको छ।

– विश्वभर फैलिएको नोबेल कोरोना भाइरस(कोभिड–१९) को उद्गमस्थल मानिएको चीनमा यसको प्रभाव घटिरहेको छ । चीनमा करिब ९० प्रतिशत कोरोना संक्रमित उपचार गरी घर फर्किसकेका छन् । आइतबारसम्म ७२, ७०३ जना कोरोना संक्रमित उपचारपछि घर फर्किएका छन् ।

– इटालीमा कोरोना भाइरसको महामारी डरलाग्दो रुपमा फैलिरहँदा मेडिकल सहयोगका लागि रुसले आफ्ना सेना पठाउने भएको छ । यही आइतबार रुसले सैन्य मेडिकल टोली इटाली पठाउने तयारी गरेको हो । भ्लादिमिर पुटिनले यसअघि नै सहायता पठाउने बारे इटालीका प्रधानमन्त्री गिसेप्पे कोन्टेसँग कुराकानी गरिसकेका छन् ।

– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनले कोरोना भाइरसबारे आफूलाई पहिले नै भन्नुपर्ने बताएका छन् । कोरोना भाइरसबारे सार्वजनिक रुपमा नआएसम्म आफूहरुलाई जानकारी नभएको ट्रम्पको भनाइ छ । जनवरी २४ मा ट्रम्पले चीन र राष्ट्रपति सि जिनफिङलाई कोरोना भाइरसको संक्रमणबारे पारदर्शिता नदेखाएको आरोप लगाएका थिए । साथै एक साताअघि मात्रै कोरोना भाइरसलाई ‘चाइनीज भाइरस’ भनेपछि ट्रम्प आलोचित बनेका थिए ।

– एक घण्टा भन्दा छोटो समयभित्रै कोरोना भाइरस संक्रमण भएको वा नभएको पहिचान हुने परीक्षण विधि अमेरिकामा पत्ता लागेको छ । क्यालिफोर्नियास्थित सेफिड कम्पनीले कोभिड–१९ ४५ मिनेटभित्रै पत्ता लगाउने नयाँ परीक्षण प्रविधि सार्वजनिक गरेको हो । जसलाई औषधि तथा खाद्य प्रशासन (एफडीए) ले स्वीकृति दिएको हो ।

– अष्ट्रेलियामा कोरोनाभाइरसको महामारीबाट भएको आर्थिक क्षतिलाई न्यूनीकरण गर्न ३८ अर्ब अमेरिकी डलरको राहत योजना सार्वजनिक गरेको छ । सरकारले भाइरस फैलिन नदिन आमनागरिकलाई देशभित्रैको यात्रा र घुमफिरलाई पनि रोक्न आग्रह गरेका छन् ।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com