Wednesday, April 8th, 2020
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– फ्रान्सबाट नेपाल आएकी एक विद्यार्थीमा नोबेल कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । हाल उनलाई टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग हस्पिटलमा राखिएको छ । उनी फ्रान्सबाट चैत ४ गते नेपाल फर्किएको र होम क्वारेन्टाइनमा राखिएको अवस्थामा रुगाखोकी लागि परीक्षण गर्दा कोभिड–१९ भाइरस पोजिटिभ देखिएको हो ।

– काठमाडौंमा कार्यरत दुई जना प्रहरी अधिकारीसहित आफूलाई पत्रकार बताउने एक जना लुटपाटको अभियोगमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा महानगरीय प्रहरी वृत्त, दरबारमार्गमा कार्यरत २६ वर्षीय प्रहरी सहायक निरीक्षक (असई) सुरेन्द्र बेसेल, प्रहरी जवानहरु वीरबहादुर बस्नेत र हेमाकान्त पुन मगर छन् । त्यस्तै, आफूलाई पत्रकार भन्ने सुजन आचार्य छन् ।

– नेपाल-भारतबीचको सीमा नाका बन्द भएपछि भारतबाट घर फर्किएका नेपालीहरूको ठूलो समूह सुनौली नाकामा अलपत्र परेको छ । भारतको कानपुर, गोरखपुर, बनारस, मुम्बई, मद्रास, दिल्लीलगायतका ठाउँबाट आएका उनीहरूको सुनौली नाकामा अलपत्र परेका हुन् ।

– पर्सामा प्रहरीले लागू औषध गाँजासहित सोमबार तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका-५ का ५५ वर्षीय राधाकृष्ण राउत अहिर, ५० वर्षीय लक्ष्मण महतो कोइरी र पकाहामैनपुर गाउँपालिका-१ धेरेका ५० वर्षीय मन्द्रिका सहनी रहेका छन् ।

– अनुगमनका क्रममा लुकाएको अवस्थामा मास्क भेटिएपछि वाणिज्य कार्यालय मोरङले विराटनगरको श्री सूर्जी इन्पेक्सका सञ्चालकलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । आइतबार वाणिज्य कार्यालय, विराटनगर महानगरपालिकासहितको अनुगमन टोलीले मास्क र सेनिटाइजर लुकाएको पाएपछिसञ्चालक राजेशकुमार अग्रवाललाई तीन लाख रुपैयाँ जरिवाना गरेको हो ।

– हेटौंडा–१० मा गएराति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्युहुनेमा मकवानपुरको साविक हाडीखोला–२ बस्ने ३१ वर्षीय भीम अर्याल रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ताले जानकारी दिए ।

Share This: