Thursday, August 6th, 2020
राजनीतिमा आज

राजनीतिमा आज

– सचिवालय र स्थायी कमिटीमा शीर्ष नेताहरूको विवाद उत्कर्षमा पुगेपछि नेकपाका १ सय ५२ जना केन्द्रीय सदस्यले केन्द्रीय कमिटी बैठक माग गर्दै पार्टी कार्यालयमा पत्र बुझाएका छन् । पत्र बुझाउनेमा अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालनिकट केन्द्रीय सदस्यहरू छन् । पार्टीमा उठेका विषयलाई सचिवालय र स्थायी कमिटीले पार लगाउन नसकेको भन्दै उनीहरूले केन्द्रीय कमिटीबाट छिनोफानो गर्नुपर्ने माग गरेका हुन् ।

– मेलम्ची सुरुङ फुटेको विषयमा अध्ययन गरी तयार पारिएको प्रतिवेदन खानेपानी मन्त्रालयले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई बुझाएको छ । प्रतिवेदन सार्वजनिक हुनुअगावै आयोगले घटनाका विषयमा जानकारी गराउन मन्त्रालयलाई लिखित पत्राचार गरेको थियो ।

– चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीले चेपाङको घर जलाएको विषयमा गरेको टिप्पणीप्रति आलोचना खेपिरहेका वनमन्त्री शक्तिबहादुर बस्नेतले आफूलाई गोठ र घरको परिभाषा सिकाउन आवश्यक नरहेको बताएका छन् । संसद्को कृषि, सहकारी तथा प्राकृतिक स्रोतसाधन समितिको बैठकमा बुधबार मन्त्री बस्नेतले चितवनमा घर नभई गोठ नै जलेको दाबी गरे ।

– कांग्रेस महाधिवेशन आउन सात महिना बाँकी छँदा सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय निकायमा एकपछि अर्को मनोनयन र नियुक्ति गर्दै जान थालेपछि संस्थापन इतर समूह सशंकित बनेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पक्षले देउवाको नेतृत्वमा स्वतन्त्र र निष्पक्ष महाधिवेशन हुनेमै संशय व्यक्त गरेका छन् ।

– लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीले संवैधानिक निकायमा राजनीतीकरण भयो भन्ने संशय बढ्नुमा संवैधानिक परिषद्को ढाँचा पनि कारक रहेको बताएका छन् । राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा केही सांसदले संवैधानिक निकाय सरकारको लाचार छाया बन्ने गरेको, राजनीतिक स्वार्थअनुसार काम हुने गरेको कुरा उठाएका थिए ।

– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्स कर्पोरेसन (एमसीसी) सम्बन्धी सम्झौतालाई समर्थन गरेमा आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् । बिहीबार संसदको उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले बझाङबाट एक जनाले टेलिफोन गरेर टाउको काट्ने धम्की दिएको बताएका हुन्

– काठमाडौं उपत्यकाकाको सुरक्षा व्यवस्थापन र प्रहरी सञ्चालन अब केन्द्र मातहतबाटै गरिने भएको छ। प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रामबहादुर थापा, सातवटै प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री, गृहसचिव र प्रहरी महानिरीक्षक सम्मिलित बैठकमा राजधानीको सुरक्षा व्यवस्थापन गर्ने जिम्मा केन्द्र मातहत रहने गरी प्रकिया अघि बढाउने निर्णय भएको हो। त्यो अनुसार प्रहरी समायोजन तथा अन्य सुरक्षा समन्वय एवं संरचना तयार गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएका छन्।

– नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यक्षमता नियतमाथि प्रश्न उठाउनुभएको छ । पौडेलले आज सामाजिक सञ्जाल ट्वीटरमा टिप्पणी गर्दै वागी उम्मेदवार, उम्मेदवारी खोसिएका र चुनावपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तिलाई विधानको एउटै दफा प्रयोग गरी कारवाही गरेको भन्दै अनुशासन समितिको नियतमाथि प्रश्न उठाउनुभएको हो।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com