Thursday, August 6th, 2020
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– प्रहरीले १५ किलो ‘सुन’ भनेर बरामद गरेको पहेँलो धातु सम्बन्धी अनुसन्धान विवादमा तानिएको छ । यसमा काठमाडौं प्रहरी परिसर र महानगरीय प्रहरी वृत्त, दरबारमार्गको गम्भिर लापरबाही देखिएको छ । समिति स्रोतका अनुसार महानगरीय प्रहरी वृत्त, दरबारमार्गका डीएसपी रञ्जन दाहालले घटनास्थलसमेत परिवर्तन गरेर माथिल्लो निकायलाई गुमराहमा राखेको पाइएको छ । यसमा उनी एक्लै संलग्न हुन् वा अन्य पनि छन् भन्ने विषय खुलिसकेको छैन ।

– पृथ्वी राजमार्गको चितवन ईच्छाकामाना गाउँपालिका–५ नाग्दी खोलानजिक बिहीबार बिहान दुई ट्रक एकापसमा ठोक्किँदा एउटा ट्रक त्रिशूली नदीमा खसेको छ । नदीमा खसेको ट्रकका चालकले भने हाम फालेर ज्यान जोगाएका छन् ।

– नारायणी अस्पतालको प्रयोगशालामा बुधबार राति गरिएको परीक्षणमा ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तीमध्ये ३ जना बारा र बाँकी सबै पर्सामै बस्दै आएकाहरू हुन् ।

– कैलालीमा बाढीले बगाउँदा चार जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जानकी गाउँपालिका–२ का ५४ वर्षीय कोबी सुनार, भजनी नगरपालिका–८ का सोनाफाटाका ११ वर्षीय स्केल चौधरी, सोही ठाउँका ४० वर्षीय ईश्वर शाही र ३२ वर्षीय चक्र बिक छन् । अविरल वर्षासँगै आएको बाढी बस्तीमा पस्दा कैलालीमा ६ हजार भन्दा बढी घर डुबानमा परेका छन् ।

– २ थान पेस्तोल, १४ केजी ५ सय ग्राम चाँदी र ५ सय ग्राम सुनसहितको सडकमा फ्याँकेर भागेका ३ जना भारतीय नागरिक नवलपरासी पूर्वबाट पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा र जिल्ला प्रहरी कार्यालयको संयुक्त टोलीले पूर्वी नवलपरासीको दुम्कीबासबाट तीनै जनालाई बुधबार पक्राउ गरेको हो । प्रहरी स्रोतका अनुसार देवान पटेल, विजय पटेल र निलेश सखिया बुधबार दिउँसो पक्राउ परेका हुन् ।

– कालीकोटको सान्नी त्रिवेणि गाउँपालिकामा पहिरो जाँदा दुईजनाको मृत्यु भएको छ । गाउँपालिकाको वडानम्बर-६ बुढागाउँका ६० वर्षीय पर्शुराम संज्याल र उनकी बुहारी नाता पर्ने २९ वर्षीया तारा संज्यालको मृत्यु भएको हो । बिहीबार बिहान खानेपानी लिन लालिखोला गएकोबेला पहिरोमा परी ससुरा बुहारीको मृत्यु भएको हो ।

– अश्लील भिडियो बनाएको आरोपमा कञ्चनपुर कृष्णपुर नगरपालिका– ५ का २० वर्षका मोहनराज भट्ट पक्राउ परेका छन् । युवकले प्रेमिकासँगको सम्बन्ध बिग्रिएपछि अश्लील भिडियो साथीलाई पठाएको पाइएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक उपरीक्षकले बताए ।

– प्रदेश सरकारले निर्माण गरेका दुईवटा आइसोलेसन कक्ष भरिएपछि विराटनगरका कोरोना संक्रमित घरमै बसेका छन् । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि विराटनगरमा गत बुधबारयता ६७ जनामा संक्रमण पुष्टि भएको छ । प्रदेश सरकारले विराटनगर र गोठगाउँमा निर्माण गरेको आइसोलेसन भरिएपछि विराटनगरका संक्रमित घरमै बसेका हुन् । प्रदेश सरकारले कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र विराटनगरमा ५० र पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा १२५ बेड क्षमताको आइसोलेसन बनाएको छ ।

– बुटवलको लक्ष्मीनगर पहिरोको उच्च जोखिममा परेको छ । केही दिनदेखिको अविरल वर्षाका कारण बुटवल–४ लक्ष्मीनगरमाथिको चुरे पहाड खसेपछि बस्ती जोखिममा परेको हो । तीनतिरबाट झरेका पहिरोले दर्जनौं रुख र ठूला–ठूला ढुंगाहरु बगाएर ल्याउंदा सुखौरा खोलाको धार नै परिवर्तन गरेको छ

– प्रहरी प्रधान कार्यालयमा कार्यरत थप चारजना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ ।

– सर्लाही प्रहरीले लालबन्दी नगरपालिकाबाट एक युवकलाई लागूऔषधसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको टोखा घर भई काठमाडौंको जोरपाटी नगरपालिका १ बस्दै आएका १९ वर्षीय सुनिल सन्थाली छन् । सन्थालीको साथबाट १९६ थान नाइट्रोभेट ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ ।

– सिराहाको सिराहा नगरपालिकामा एकजना व्यक्तिको कल्भर्टमा डुबेर मृत्यु भएको छ । सिराहा नगरपालिका–१० स्थित पदमपुरबाट नरैया जाने भित्रि सडकखण्डको कल्भर्टमा डुबेर सोही वडाका झगरु मुखियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

– ३३ केभी प्रसारण लाइनको तार चुडिएर करेन्ट लाग्दा रौतहटमा एक महिलाको मृत्यु भएको छ । करेन्ट लागेर गौर–४ की ७० वर्षीया शान्ती देवी पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बिहान चिया खान पसलमा गएकी वृद्धा बाटो काट्ने क्रममा करेन्टको चपेटामा परेकी थिइन् । सोही स्थानमा करेन्ट लागेर दुई साँढेको समेत ज्यान गएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com