Thursday, August 6th, 2020
विदेशमा आज

विदेशमा आज

– भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १६ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा थप ५५ हजार ७९ जनामा कोरोना पुष्टि भएको त्यहाँको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । योसँगै भारतमा कोरोना संक्रमितको संख्या १६ लाख ३८ हजार ८ सय ७१ पुगेको छ ।

– विश्वका चार ठूला प्रविधि कम्पनीमाथि बजारमा प्रतिस्पर्धा दबाउन उनीहरूले शक्तिको दुरुपयोग गरेको आरोप लगाइएको छ । आफूमाथि लगाइएको आरोपको सामना गर्न एप्पल, अमेजन, फेसबुक र अल्फाबेट (गुगल) का प्रमुखहरू अमेरिकी संसदीय सुनुवाइमा उपस्थित भएका छन् ।

– मंगल ग्रहको प्राचीन इतिहास अध्ययन गर्ने उद्देश्यले अमेरिकी अन्तरीक्ष संस्था नासाले बिहीबार मंगल ग्रहमा पर्सिभरेन्स रोभर त्यसतर्फ पठाएको छ । अमेरिकाको फ्लोरिडा राज्यस्थित केनेडी स्पेस सेन्टरबाट एट्लास रकेटले नासाको यो रोभर पठाइएको हो । सन् २०२१ को फेब्रुअरी १८ मा पर्सिभरेन्स मार्सको जजोरो क्रेटरस्थित एक प्राचीन नदीको डेल्टा नजिकै अवतरण गर्ने नासाले जनाएको छ । प्राचीन यो नदीको मुहान र निकाससमेत रहेको नासाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

– चीनको सिन्चियाङ प्रान्तको राजधानी उरुम्कीमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणको लागि सामाजिक गतिविधिमा प्रतिबन्धका नियमहरु लगाइएको छ । उरुम्की सहर अहिले चीनमा कोरोना भाइरसको नयाँ केन्द्र बन्न पुगेको छ । बुधबार चीनमा भेटिएका १०५ मध्ये ९६ कोरोना संक्रमित चीनको उरुम्की सहरका थिए । लकडाउनसँगै अब यो सहरमा बाहिरबाट आउन र यो सहरबाट बाहिर जानका लागि कडा नियम लगाइएको छ । अब यो सहरभन्दा बाहिरका नागरिकहरुलाई १४ दिनभन्दा लामो समय सहरमा बसेको भए बाहिर जान पीसीआर र एन्टिबडी परीक्षणमा नेगेटिभ आउनुपर्ने बताइएको छ ।

– विश्वव्यापी महामारीको रुप लिएको कोरोना भाइरस दशकौंदेखि चमेरोका शरीरमा रहेको हुन सक्ने बेलायती एक अध्ययनले संकेत गरेको छ । बेलायतमा गरिएको एक अध्ययनमा ४० देखि ७० वर्ष अघिदेखि चमेरोमा कोरोना भाइरस (कोभिड–१९) देखिएको हुन सक्ने बताइएको छ ।

– अफगानिस्तानको लोगार प्रान्तमा शक्तिशाली कार बम विष्फोट हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ । इदको अवसरमा विद्रोही समूह तालिवानले युद्धविराम घोषणा गरेको बेला विष्फोट भएको हो । विष्फोट गभर्नर कार्यालयको नजिकै भएको थियो । त्यहाँ इदका लागि थुप्रै मानिसहरू किनमेल गरिरहेको बताइएको छ ।

– इरानमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या तीन लाख नाघेको छ । इरानको स्वास्थ्य मन्त्रालयका अनुसार इरानमा कोरोना संक्रमितको संख्या तीन लाख एक हजार ५३० पुगेको हो । पछिल्लो २४ घण्टामा इरानमा कोराना भाइरसका दुई हजार ६२१ नयाँ संक्रमित थपिएका हुन् ।

– क्युवामा तयार भएको एउटा विशेष किसिमको औषधि भारतमा कोभिड–१९ बिरामीका लागि उपयोगी ठानिएको छ । क्युवाली औषधि इटोलिजुमावको प्रयोग कोभिड १९ क कडा प्रकृतिका बिरामीको लागि प्रयोग गर्न सकिने स्वीकृति भारतीय औषधि नियमन प्राधिकरणले दिएको हो । क्युवाली अधिकारीहरुले पनि यसबारे जानकारी दिएका छन् । क्युवाको मोलेकुलर इम्युनोलोजी सेन्टरका उच्च अधिकारीले इटोलिजुमाव नामको औषधिको प्रयोग कोभिड १९ का बिरामीमा गर्न सकिने स्वीकृति मिलेको जानकारी दिए ।

– अमेरिकाको प्रतिनिधि सभाले आफ्ना सबै सदस्य र कर्मचारीलाई अनिवार्य मास्क लगाउन आदेश दिएको छ । सदनकी स्पीकर न्यान्सी पेलोसीले मास्क नलगाई प्रवेश गर्नेलाई च्याम्बरबाट बाहिर निकाल्ने चेतावनी दिनुभएको छ । उहाँले सदनमा मास्क बिना उपस्थित हुने गरेका सांसदमा कोरोना पोजेटिभ देखिएपछि यो चेतावनी दिनुभएको हो । अब च्याम्बरमा बोल्ने बेला मात्रै सदस्यले मास्क खोल्न पाउने छन् ।

– नेपाली नागरिकहरुलाई कुवेत प्रवेशमा रोक लगाइएको छ । कुवेत सरकारले १ अगष्टदेखि नेपालसहित सात देशका नागरिकलाई कुवेत प्रवेशमा अनिश्चितकालीन रोक लगाएको हो । कुवेत प्रवेशमा रोक लगाइएका देशहरुमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, इरान र फिलिपिन्स छन् । कोरोना संक्रमणलाई मध्यनजर गर्दै कुवेत सरकारले बिहीबार यस्तो निर्णय गरेको जनाइएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com