Thursday, August 6th, 2020
राजनीतिमा आज

राजनीतिमा आज

– लकडाउन खुलेसँगै मुलुकमा कोरोना भाइरसको संक्रमण बढेकाले यस्तै अवस्था रहे नयाँ निर्णय लिनुपर्ने अनुमान गरेर कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को निर्देशक समितिले छलफल थालेको छ । समितिले बिहीबार परीक्षणलाई अझ बढाएर परिस्थिति मूल्यांकन गर्ने विषयमा छलफल गरेको हो ।

– कांग्रेस सभापति शेरबहादुर देउवाको पार्टी सञ्चालनका कमजोरी र विधानविपरीतका गतिविधिलाई वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले महाधिवेशनको मुद्दा बनाउने भएको छ । महाधिवेशन घोषणा भइसकेपछि केन्द्रीय विभाग र निकायहरूमा भइरहेका मनोनयन नरोक्ने छनक सभापति देउवाले दिएपछि पौडेल पक्षले बिहीबार पत्रकार सम्मेलनमार्फत त्यस्ता गतिविधिलाई कार्यकर्ताको तल्लो पंक्तिसम्म पुर्याउने उद्घोष गरेको हो ।

– निष्ठा र इमानदारीपूर्वक कानुन व्यवसायमा सक्रिय भएकाहरूलाई सम्मानस्वरूप वितरण गरिने ‘वरिष्ठ अधिवक्ता’ को उपाधि जथाभावी बाँड्ने विकृति बढेपछि सर्वोच्च अदालतले मापदण्ड बनाएको छ । २०७४ साउनमा २ सय ७२ जनालाई मनोमानी रूपमा ‘वरिष्ठ’ को उपाधि दिइएको थियो । त्यसको चर्को आलोचना भएपछि सर्वोच्च अदालतले नयाँ मापदण्ड जारी गरेको हो ।

– मास्क नलगाइकन हिँड्ने र सेनीटाइजरको प्रयोग नगर्नेलाई मोरङमा एक महिनासम्म कैद सजाय गरिने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट जोगिन मास्क र सेनीटाइजरको आवश्यकता एवं प्रयोग अनिवार्य रहेको ठहर गर्दै जिल्ला कोरोना क्राइसिस म्यानेजमेन्ट सेन्टरको बैठकले यस्तो निर्णय गरेको हो।

– सरकारले काठमाडौं उपत्यका प्रवेशमा कठाइ गरेको छ । गृह मन्त्रालयले साँझ ७ बजेदेखि बिहान ७ बजेसम्म उपत्यका प्रवेश गर्नमा रोक लगाउने निर्णय गरेको हो । बिहीबार एक प्रेस विज्ञप्ति जारी गरी गृह मन्त्रालयले यस निर्णयबारे जानकारी दिएको हो ।अर्को आदेश नभएसम्मका लागि सो समयमा अत्यावश्यक सेवा र ढुवानीबाहेक यात्रुहरुको आवागमन पूर्ण रुपमा बन्द गर्न गराउन निर्देशन दिएको मन्त्रालयले जनाएको छ।

– सक्रियता बढाउनुपर्ने बेला राष्ट्रिय मानवअधिकार आयोग अनिर्णयको बन्दी बनेको छ। पदाधिकारीको स्वार्थ बाँझिँदा लामो समयदेखि बैठक बस्न सकेको छैन। यसले मानवअधिकार हनन्का उजुरीमा प्रदेशबाट पठाइएका झन्डै ११ सय फाइलको निर्णय रोकिएको छ।

– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसामू निकास दिने तत्परतासहित गम्भीर छलफलमा बस्न प्रस्ताव राखेका छन् । मंगलबार बोलाइएको स्थायी कमिटी बैठक ओलीले एकपक्षीय रुपमा स्थगित गरेपछि प्रचण्डको अध्यक्षमा बहुमत स्थायी कमिटीको बैठक बसेको थियो र, यसरी बैठक स्थगित गर्नु अनुचित भएको ठहर गरेको थियो । साथै पार्टीको एकता, विधि र परम्परालाई ध्यानमा राखेर ओलीसँग छलफल गरी बैठक सुचारु गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो । तर दुई अध्यक्षबीच सम्वाद भएको छैन ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com