Thursday, August 6th, 2020
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– नेपाल अयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । शनिबार राति १२ बजेबाट लागू हुनेगरी डिजेल,पेट्रोल र मट्टीतेलमा प्रतिलिटर दुई दुई रुपैयाँले मूल्य बढाईएको निगमका प्रवक्ता विनितमणी उपाध्ययले जानकारी दिए । नयाँ मूल्यवृद्धिपछि डिजेल र मट्टीतेल र पेट्रोलको काठमाडौं उपत्यकामा प्रतिलिटर मूल्य क्रमश ९० र १ सय ४ रुपैयाँ कायम भएको छ । खाना पकाउने ग्यास र हवाई इन्धनको मूल्य भने समायोजन नगरिएको निगमले जनाएको छ ।

– कोभिड–१९ ले मुलुकको अर्थतन्त्रलाई थिलथिलो पारिरहेको अवस्थामा सैनिक कल्याणकारी कोष भने ऐतिहासिक बचतमा पुगेको छ। चार महिना लामो बन्दाबन्दीले अर्थतन्त्र संकुचित भएर सरकारलाई स्रोत व्यवस्थापन गर्न कठिन परेको बेला सैनिक कोषमा एक वर्षमै ७ अर्ब २९ करोड रुपैयाँ बचत भएको छ।

– तीन वर्षअगाडिको बक्यौता रकम नपाएपछि पश्चिम नवलपरासीका उखु किसान आन्दोलित भएका छन् । चिनी उद्योग सञ्चालकविरुद्ध ठगी मुद्दा दायर गर्ने र सडक संघर्षमा जाने किसानको चेतावनी छ ।

– रौतहटको गरुडास्थित श्रीराम सुगर मिल्स बन्द भएको छ । बर्सेनि घाटामा रहेको कारण देखाउँदै गोल्छा अर्गनाइजेसनले २६ वर्ष पुरानो चिनी मिल्स बन्द गर्दा ३ सय २५ जना मजदुरको रोजगारी गुमेको छ । कम्पनी सञ्चालक समिति बैठकले साउन ९ मा मिल बन्द गर्ने निर्णय गरेको हो ।

– आफ्नो खाता रहेको बैंकको जुनसुकै शाखाबाट कारोबार गर्दा पनि बैंक तथा वित्तीय संस्थालाई शुल्क तिर्नु नपर्ने भएको छ । एनी ब्रान्च बैंकिङ सर्भिस (एबीबीएस) भनिने उक्त कारोबारमा ग्राहकबाट शुल्क नलिन बैंक तथा वित्तीय संस्थालाई राष्ट्र बैंकले निर्देशन दिएको छ ।

– सुनको भाउ तोलाको झण्डै एक लाख रुपैयाँ पुगेको छ । आज तोलामा ३ सय रुपैयाँ बढेर सुनको भाउ तोलाको ९९ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यो अहिलेसम्मकै महँगो भाउ हो । यस्तै आज चाँदी पनि तोलामा ३० रुपैयाँ बढेर तोलाको १२ सय ३० रुपैयाँ पुगेको छ ।

– रकारले मोबाइल सेवाप्रदायक कम्पनीको लाइसेन्स नवीकरण शुल्क २० अर्बबाट घटाउने तयारी गरेको छ । मोबाइल सेवा सञ्चालन गर्ने कम्पनीले सुरुमा अनुमति पाएको १० वर्षपछि थप पाँच वर्षको लाइसेन्स नवीकरण गर्न २० अर्ब रुपैयाँ तिर्नुपर्ने कानुनी व्यवस्था छ ।

– कोराना महामारीलगायत कारण उड्डयन तालिका फेरबदल हुँदा नेपाल वायुसेवा निगमले गत आर्थिक वर्ष ०७६र७७ मा करिब १० अर्ब रुपैयाँ घाटा व्यहोरेको छ । स्रोतका अनुसार निगमको गत आवमा सञ्चालन घाटा मात्रै ५ अर्ब रुपैयाँ हाराहारी पुगेको छ । त्यसअघिका वर्षसम्मको सञ्चित ५ अर्ब नोक्सानलाई समेत जोड्दा निगमको घाटा १० अर्ब रुपैयाँ पुगेको हो ।

– पछिल्लो समय जग्गा कारोबार घट्दै गएको छ । भूमि व्यवस्थापन तथा अभिलेख व्यवस्था विभागको आर्थिक वर्ष ०७४/७५, ०७५/७६ र ०७६/७७ तथ्यांकअनुसार कारोबार घट्दो क्रममा देखिएको हो । आव ०७४/७५ मा ८ लाख ३२ हजार ३ सय १९ संख्यामा जग्गा कारोबार भएको विभागको तथ्यांक थियो । यसैगरी आव ०७५/७६ मा ८२ हजार ८ सय ६८ संख्याले घटेर ७ लाख ४९ हजार ४ सय ५१ संख्या मात्र जग्गा कारोबार भएको छ । आव ०७६/७७ मा ४ लाख ५७ हजार २ सय ९८ संख्यामा जग्गाको कारोबार भएको छ । यो कारोबार संख्या आव ०७४/७५ को तुलनामा आधाले कम र आव ०७५/७६ भन्दा २ लाख ९२ हजार १ सय ५३ संख्याले कम भएको हो ।

– नेपाल पर्यटन बोर्डले करारमा नियुक्त कर्मचारी कतौती गरेको छ । यस वर्ष झण्डै ६ महिना कमाइविहीन बनेको बोर्डले ४३ जना कर्मचारीको करार नवीकरण गरेन । त्रिभुवन विमानस्थलबाट विदेशी जाने प्रत्येक हवाई यात्रुबाट नेपाल पर्यटन बोर्डले एक हजार रुपैयाँ उठाउने गरेको थियो । यसबाट उठेको रकम नै बोर्डको मुख्य आम्दानी हो । यसबाहेक पदयात्रामा जाने पर्यटकलाई दिइने टीम्सकार्ड बिक्री समेत बोर्डको आम्दानीको स्रोत हो । पर्यटक आगमन बन्द भएपछि अहिले बोर्ड आम्दानीविहीन बनेको छ । किनकी बोर्डलाई सरकारले छुट्टै रकम दिँदैन ।

– नेपाल फाइनान्स कम्पनीमा नयाँ सञ्चालकहरु नियुक्त भएका छन् । फाइनान्सको सञ्चालकरुमा रोजीना श्रेष्ठ र आनन्द कृष्ण ताम्राकार नियुक्त भएका हुन् । रिक्त रहेको सञ्चालक पदमा सर्वसाधारण सेयरधनीको प्रतिनिधित्व गर्ने संचालक पदमा पानस इनभेष्टमेन्ट प्रालिको तर्फबाट श्रेष्ठलाई बाँकी कार्यकालको लागि संस्थाको ३२५ औ संचालक समितिको बैठकको निर्णयबाट नियुक्त गरिएको कम्पनीले जनाएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com