Thursday, August 6th, 2020
राजनीतिमा आज

राजनीतिमा आज

– साउन १३ को बैठक स्थगन र प्रचण्डको अध्यक्षतामा अलग्गै बैठक बसेपछि उत्पन्न गतिरोध हटाउन नेकपाका दुई अध्यक्षबीच ६ दिन पछि संवाद शुरु भएको छ । ओलीसँग एक्लै वार्ता नगर्ने अडानमा रहेका प्रचण्ड आइतवार बरिष्ठ नेता झलनाथ खनाललाई लिएर बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री निवासमा भएको दुई अध्यक्षबीचको संवादमा संसदीय दलका उपनेता सुवास नेम्वाङ पनि सहभागी छन् । प्रचण्ड यसअघि पूर्व माओवादीका नेतालाई लिएर वार्तामा जाने गरेकामा पूर्व एमालेभित्रको समेत एउटा समूहको नेतृत्व गरेको देखाउन झलनाथलाई पनि लगेका हुन् ।

– रुपन्देही प्रहरीले विप्लव समूहका नेताहरुको बैठकस्थलबाट एक थान रिभल्वर, ६ थान गोली र डेढ लाख बढी नगद बरामद गरेको जनाएको छ । शुक्रबार दिउसो बुटवल–१७ रानीगञ्जस्थित गमबहादुर थारुको एकतले टिनले छाएको घरमा विप्लव समूहको वैठक बस्दै गरेको सूचनाका आधारमा जिल्ला इन्चार्ज संगम भनिने ४७ वर्षीय टेक बहादुर पुनमगरसहित १० जना पक्राउ परेका थिए ।

– राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सेनाले राष्ट्रियसभा नियमावलीको बाधा अड्काउ फुकाएर शनिबार चारवटा विषयगत समिति गठन गरेका छन्। संसद् अधिवेशन चालु नरहेकाले विषयगत समिति गठन गर्न नियमावलीले बाधा उत्पन्न गरेपछि अध्यक्ष तिमिल्सेनाले बाधा अड्काउ फुकाएका हुन्।

– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वसन्तपुरमा अनशनरत युवाको माग तत्काल सम्बोधन गर्न सरकारलाई आग्रह गरेका छन् । शतप्रतिशत पीसीआर परीक्षणको माग राख्दै १५ दिनदेखि अनशनरत ‘इनफ इज इनफ’ का अभियन्तालाई शनिबार वसन्तपुरमा भेटेर उनले अनशनकारीको माग सरकारले तत्काल सम्बोधन गर्नुपर्ने बताएका हुन् ।

– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले व्यक्तिगत र व्यापारिक स्वार्थमा पशुपतिमाथि भइरहेको मानव अतिक्रमणलाई स्वीकार नगरिने बताएका छन्। पशुपति क्षेत्र विकास कोषको स्वामित्वमा रहेको गोठाटारस्थित जग्गाका सम्बन्धमा पछिल्लो पटक उठिरहेको सवालका सन्दर्भमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले पशुपति क्षेत्रको ऐतिहासिक, सांस्कृतिक तथा पुरातात्विक पक्षको संरक्षण र संम्द्धन गरिने बताएका हुन्।

– चिनियाँ राष्ट्रपति सी चिनफिङले चीनले नेपालसँगको सम्बन्धलाई अत्यधिक महत्व दिएको बताएका छन् । दुई देशबीचको ६५ औं वर्षगाँठको अवसरमा चिनियाँ राष्ट्रपति सीले सो कुरा बताएको चिनियाँ समाचार एजेन्सीले जनाएको छ । चिनियाँ राष्ट्रपति सीले चीन–नेपाल सम्बन्धको ६५ औं वर्षगाँठको अवसरमा समकक्षी विद्यादेवी भण्डारीसँग बधाइ सन्देश साटासाट गरेका छन् ।

– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणसम्बन्धी मापदण्ड परिवर्तन गरेको छ । मन्त्रीस्तरीय निर्णयबाट मन्त्रालयले नयाँ मापदण्ड बनाएको छ, जसलाई जनस्वास्थ्य विज्ञहरुले सकारात्मक भनेका छन् । नयाँ मापदण्डअनुसार अब ज्वरो, खोकी, सास फेर्न कठिनाइका साथै स्वाद तथा गन्ध थाहा नपाउने र झाडापखालाका विरामीको पनि पीसीआर टेष्ट गरिनेछ ।

– कोरोना महामारीका कारण बन्द रहेका विद्यालय पुनः सञ्चालनका लागि सम्बन्धित स्थानीय तह र विद्यालयलाई अधिकार दिने गरी संघीय सरकारले कार्यविधि ल्याउनुपर्ने विज्ञ र सरोकार भएका पक्षले सुझाव दिएका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय पुनःसञ्चालनका लागि चाँडै कार्यविधि ल्याउने तयारी गरेका बेला सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपाल र शिक्षा पत्रकार समाजले आइतबार आयोजना गरेको भर्चुअल संवादमा सबै पक्षसँग छलफल नभएको स्थितिमा हतारमा कार्यविधि जारी नगर्न सुझाव दिइएको हो ।

– लक्षणसहितका कोरोना संक्रमित र संक्रमितहरुको मृत्यु संख्या बढेसँगै जोखिम थप बढेको देखिन्छ । कोरोना संक्रमण नियन्त्रणका निम्ति सरकारी निकायहरुसँगको समन्वय गरिरहेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले तत्कालै लकडाउन गरिनहाले पनि संक्रमणको विस्तार रोक्न आवतजावतमा कडाइ गर्ने र संक्रमण देखिएका क्षेत्रमा सिलबन्दी गर्ने नीति अगाडि सारेको छ ।

– सरकारले कोरोना महामारी फैलिएको पर्साको वीरगञ्जमा उच्चस्तरीय स्वास्थ्य टोली पठाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्र रमण सिंहको नेतृत्वमा उच्चस्तरीय टोली प्रदेश २ को वीरगञ्ज पठाइएको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com