Thursday, August 6th, 2020
शरीरमा पानी कम भएको लक्षणहरु

शरीरमा पानी कम भएको लक्षणहरु

टाउको दुख्नु

टाउको दुखिरहेको छ, तर के कारणले दुखेको हो भन्ने थाहा हुँदैन भने यसको एउटा कारण शरीरमा पानी कम हुनु पनि हो । त्यसरी टाउको गह्रौँ भएर दुखेमा तत्काल पानी पिउने र १० मिनेटको फरकमा थोरै केही खाने गर्नुपर्छ । त्यसले तत्काल दुखाइ कम हुन्छ ।

केही खानासाथ बढी भोक लाग्छ

बढी तिर्खा लाग्दा मानिसको दिमागले भोक लागेको हो कि प्यास लागेको छुट्याउन सक्दैन । त्यसैले भर्खरै खाना खाएको छ भने पनि भोक लागेको जस्तो हुन्छ । यदि कहिले यस्तो भयो भने पानी पिउनुपर्छ । भोक लागेजस्तो हुने समस्या आफैँ हटेर जान्छ ।

धेरै थकान महसुस हुनु

जब तपाई आफूलाई चाहिनेजति पानी पिउनुहुन्न, तब शरीरको पुरै प्रणाली नै कमजोर हुन्छ । जसले गर्दा शरीरमा भएको शक्ति नष्ट हुन थाल्छ । यसले तपाईलाई थाकेको महसुस गराउँछ र उदासीन बनाउँछ ।

काममा ध्यान जाँदैन

दिमागको ७० प्रतिशतभन्दा बढी भाग पानीले बनेको हुन्छ । पानी कम हुँदा दिमाग मन्द हुन्छ । यसले आफ्नो सामान्य काम पनि गर्न मन लाग्दैन र ध्यान पनि जाँदैन ।

छाला सुख्खा हुनु

मौसम विपरीत प्रायः तपाईँको छाला सुख्खा रहन्छ, बारम्बार ओठ फुट्ने हुन्छ भने त्यसको कारण पानीको कमी हो । यदि तपाई नरम र सुन्दर छाला चाहनुहन्छ भने आवश्यकता अनुसार प्रशस्त पानी पिउनुहोस् ।

पिसाव पहेँलो हुनु

तपाईले पिसाब फेर्दा दिनमा कम्तीमा दुईपटक पिसाब कस्तो छ भनेर हेर्नु भयो र दुवैपटक हल्का पहेँलो छ भने त्यो ठिकै हुन्छ । तर, धेरै पहेँलो छ भने तपाईलाई पक्कै पनि पानीको कमी भएको हुन्छ ।

एसीडीटी बढ्नु

तपाईलाई एसिडिटी बढेको छ, दिशामा कब्जियत छ, खाना राम्ररी पचिरहेको छैन भने यसको कारण तपाईँ प्रशस्त मात्रामा पानी पिउनुहुँदैन । ठिक मात्रामा पानी पिउनाले पाचन प्रक्रिया तन्दुरुस्त हुन्छ र कब्जियत हुन दिँदैन । यसले पेटमा भएको एसिडलाई पनि कम गराउँछ ।

धढ्कन बढाउछ

यदि तपाईको मुटुको धड्कन अचानक बढ्यो भने पानीको कमी भएको एउटा सङ्केत हो । चक्कर लाग्ने वा अचानक डराउने आदि लक्षणहरु कहिलेकाहीँ दबाइको कारण, निन्द्रा नआउने लगायतका कारण पनि हुन सक्छ । पानीको कमी यसको प्रमुख कारण हुन सक्छ ।

श्वास गनाउने

यदि तपाईँको शरीरमा पानीको कमी भइरहेको छ, शरीरले सही मात्रामा थुक बनाउन पाइरहेको छैन भने मुखबाट नमिठो दुर्गन्ध आउँछ । प्रशस्त थुक नआउँदा मुखमा हानिकारक ब्याक्टेरिया बन्न गई गनाउने श्वास निस्कन्छ ।

मुख सुख्खा रहन्छ

प्रायः मुख सुख्खा हुन्छ भने त्यो पानीको कमी भएको सङ्केत हो । यस्तो समस्या हुनेले छेउमा सधैँ पानी राख्नुपर्छ र आवश्यकता पर्ने बित्तिकै पिउनुपर्छ । कहिलेकाहीँ कतिपय दवाई खाँदा पनि मुख सुख्खा हुन्छ । यी दुई कुरामा भने झुक्किनु हुँदैन ।

मांसपेशी या जोर्नीमा दुखाइ हुन्छ

पानीले मांसपेशीमा वा जोर्नीमा लुब्रिकेन्टको काम गर्ने गर्छ । यसले पानी कम भयो भने दुखाइ बढ्ने सम्भावना हुन्छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com