Sunday, September 20th, 2020
खेलकुद

खेलकुद

– स्पानिस टेनिस स्टार राफेल नाडालले यस वर्षको युएस ओपन ग्राण्डस्लाम नखेल्ने भएका छन् । कोरोना भाइरस महामारीको कारण विश्वभर कठिन अवस्था रहेकाले नाडालले युएस ओपन नखेल्ने बताएका हुन् । अमेरिकाको टेनिस एसोसिएसनले आगामी अगष्ट ३१ बाट युएस ओपन गराउने तयारी गरेको छ ।

– आयरल्यान्डले तेस्रो तथा अन्तिम एकदिवसीयमा मंगलबार इङ्ल्यान्डमाथि सात विकेटको सनसनीपूर्ण जित निकालेको छ । जितका लागि ३ सय २९ रनको लक्ष्य पाएको आयरल्यान्डले ४९.५ ओभरमा तीन विकेट गुमाएर आवश्यक रन बनाएको हो ।

– चिनियाँ मोबाइल उत्पादक कम्पनी भिभोलाई इन्डियन प्रिमियर लिग (आईपीएल) को प्रायोजकबाट हट्ने भएको छ । भिभोले सन् २०१७ मा प्रतियोगिताको मुख्य प्रायोजकका रूपमा अनुबन्ध गरेको थियो ।

– फुलहमले मंगलबार च्याम्पियनसिप प्ले अफ फाइनलमा ब्रेन्टफोर्डलाई २–१ ले हरायो र इंग्लिस प्रिमियर लिगमा उक्लन सफल रह्यो । गत सिजन प्रिमियर लिगको रेलिगेसनमा परेको फुलहमले इंग्लिस दोस्रो डिभिजनमा एकै वर्ष मात्र बितायो ।

– रियल म्याड्रिडका स्पेनी पूर्व गोलरक्षक इकर कसिलासले मंगलबार फुटबल खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । रियलका लागि १६ वर्ष बर्नाबाउमा बिताएका ३९ वर्षीय कसिलासले त्यसक्रममा तीन युरोपेली च्याम्पियन्स लिग र पाँच ला लिगा उपाधि जिते ।

– इंग्लिस क्लब म्यान्चेष्टर सिटीले भ्यालेन्सियाका विंगर फेरन टोरेसलाई अनुबन्ध गरेको छ । प्रिमियर लिग क्लब सिटीले स्पानिस क्लब भ्यालेन्सियाबाट टोरेसलाई २३ मिलियन युरोमा अनुबन्ध गरेको हो । उनी समर ट्रान्सफरमा सिटीमा अनुबन्ध हुने पहिलो खेलाडी हुन् । सिटीले जर्मन फरवार्ड लिरो सानेको स्थानमा टोरेसलाई लिएको हो ।

– क्यान्सर रोगबाट पीडित एथ्लेटिक्स प्रशिक्षक रवीनकुमार राईको निधन भएको छ । भक्तपुरस्थित काठमाडौं क्यान्सर सेन्टरमा उपचारको क्रममा राईको सोमबार साँझ निधन भएको हो । उनको मंगलबार बिहानै पशुपती आर्यघाटमा दाहसंस्कार समेत गरिएको छ ।

– सिन्धुलीको दुधौली नगरपालिका–९, भोरागाँछीमा निर्माणाधीन रंगशालामा गुणस्तरहीन निर्माण सामग्री प्रयोग गरेको पाइएको छ। बाग्मती प्रदेश सरकारको ६ करोड ९४ लाख ९२ हजार चार सय ७४ रुपैयाँ लागतमा उक्त रंगशाला निर्माण थालिएको हो।निर्माण कम्पनी पाइनस कन्स्ट्रक्सनले रंगशालाको स्टेडियम, भवन, अतिथिगृह र गार्ड हाउस निर्माणमा गुणस्तरहीन सिमेन्ट, इँटा, गिट्टी, बालुवा लगायतका सामग्री प्रयोग गरेको जानकारी उक्त वडाका अध्यक्षले दिए।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com