Sunday, September 20th, 2020
विदेशमा आज

विदेशमा आज

– विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंगलबार रुसले निर्माण गरेको कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोपमा आशंका व्यक्त गरेको छ । रुसले आगामी अक्टोबर महिनाबाट कोरोना विरुद्धको खोप उत्पादन गर्न गइरहेको बताइसकेको अवस्थामा डब्ल्यूएचओले आशंका व्यक्त गरेको हो । डब्ल्यूएचओले खोप उत्पादनको लागि धेरै गाइडलाइन्स बनाइएको उल्लेख गर्दै यी सबै गाइडलाइन्स पार गर्नु आवश्यक रहेको बताएको छ ।

– मंगलबार साँझ लेबनानको बेरुतमा भएको शक्तिशाली विस्फोटमा दर्जनौंको मृत्यु भएको र हजारौं घाइते भएको अधिकारीहरुले जनाएका छन् । लेबनानका स्वास्थ्य मन्त्री घसान हज्बानीका अनुसार मंगलबार साँझ भएका दुई वटा शक्तिशाली विस्फोटमा कम्तीमा ७८ जनाको मृत्यु भएको छ भने करिब ४ हजार जना घाइते भएका छन् ।

– पाकिस्तानले जम्मू कश्मीर, लद्दाख र जूनागढलाई समेटेर नयाँ राजनीतिक नक्सा जारी गरेको छ । पाकिस्तानी मन्त्रिपरिषद् बैठकले नयाँ राजनीतिक नक्सा जारी गर्न स्वीकृति प्रदान गरेको प्रधानमन्त्री इमरान खानले मंगलबार जानकारी दिएका छन् ।

– मंगलबार चीनमा महामारी कोराना भाइरसका थप २७ संक्रमित भेटिएका छन्। पछिल्लो समय चीनमा कोरोनाका बिरामी बढ्न थालेका हुन्। राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार अनुसार संक्रमितमध्ये ५ जना बाहिरबाट आएका हुन्। बाँकी २२ जना सिन्जियाङ उइगुर स्वायत्त क्षेत्रका रहेका छन्। यसैगरी मंगलबार १७ कोरोनाका बिरामी डिस्चार्ज हुँदा कुनै पनि मृत्यु नभएको आयोगले जनाएको छ।

– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चिनियाँ कम्पनी टिकटकले अमेरिकामा गर्ने व्यवसाय अमेरिकी संस्थाले किनेको खण्डमा त्यसबाट सरकारले पैसा पाउनुपर्ने बताएका छन् । ट्रम्पले आफूले माइक्रोसफ्टको उच्चपदस्थ कर्मचारीसँग कुराकानीका क्रममा त्यस्तो रकम माग गरेको जनाएका हुन् । ट्रम्पले चीनको बाइटडान्सको स्वामित्वमा रहेको टिकटकको बिक्रीका लागि करिब डेढ महिनाको समय दिएका छन् । उनका अनुसार सेप्टेम्बर १५ भित्रमा बिक्रीको सहमति नगरे टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाइनेछ ।

– कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । जोन्स होप्किन्स विश्वविद्यालयको कोरोनाभाइरस रिसोर्स सेन्टरका अनुसार बुधबार बिहानसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ लाख ६ सय ४७ पुगेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com