Tuesday, September 22nd, 2020
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– पर्सामा कोरोना संक्रमणबाट बुधबार थप दुई जनाको मृत्यु भएको छ । वीरगञ्ज–१५ भिस्वा बस्ने ४६ बर्षका पुरुष र पर्साको पोखरिया नगरपालिका–८ घर भएकी १८ बर्षकी युवतीको मृत्यु भएको हो । योसँगै पर्सामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ । १४ मध्ये १२ जना पर्साकै हुन् । एउटा वेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसबाहेक बाराका २ जना र रौतहटका १ जनाको पनि वीरगञ्जमै उपचारका क्रममा मृत्यु भएको छ ।

– आइसोलेसनमा कार्यरत नर्समा कोरोना पोजिटिभ देखिएपछि बागलुङस्थित धौलागिरि अञ्चल अस्पतालको ओपीडी सेवा बन्द गरिएको छ । नर्सको सम्पर्कमा आएकाहरूको पीसीआर परीक्षण गरिएपछि मात्र सेवा नियमित गरिने अस्पतालले जनाएको छ ।

– कोरोना भाइरस जस्तै लक्षण देखापरेका सप्तरीका तीन जनाको मृत्यु भएको छ । मलेसियाबाट आएर होम क्वारेन्टिनमा बसेका एक जनाको र अस्पतालमा उपचार गराउँदै गरेका दुई जनाको मृत्यु भएको हो ।

– कैलालीको टीकापुर–१ गणेशपुर शिविरमा मरेको मानिस जिउँदो हुने विश्वासमा पाँच दिनसम्म लास घरमै राखिएको छ । स्थानीय दीपक चौधरीको घरभित्र शव गन्हाउन लागेपछि स्थानीयवासीले प्रहरीलाई खबर गर्दा लास रहेको रहस्य खुलेको हो । शक्तिनगर शिविरका अगुवा मोतीराम डगौरा मुटुको बिरामी थिए । कोहलपुरमा उपचारपछि घर फर्केका मोतीरामको मृत्यु भएको थियो ।

– कपिलवस्तुमा स्रोत नखुलेको १६ लाख रुपैयाँसहित एकजना पक्राउ परेका छन् । मायादेवी गाउँपालिका वडा नं। १ पकडीका ३६ वर्षीय विनोद सोनार १६ लाख रुपैयाँसहित पक्राउ परेका हुन् ।

– सिन्धुपाल्चोकको पाँचपोखरी थाङ्पाल गाउँपालिका–८ तिपेनीमा पहिरोको उच्च जोखिममा परेको ३० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको छ । गत आइतबारदेखि मुसलधारे वर्षासँगै खसेको पहिरो नरोकिएपछि स्थानीय सरकार र स्थानीय बासिन्दाको सहकार्यमा बस्ती स्थानान्तरण गरिएको हो ।

– राजश्व अनुसन्धान कार्यालय बुटवलका प्रमुख अनुसन्धान अधिकृत विजय राना र व्यवसायी अनिलकुमार झालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नियन्त्रणमा लिएको छ । दुई लाख रुपैयाँ घुस बापतको रकम लेनदेन गरिरहेको अवस्थामा उनीहरुलाई बुटवलको बुद्धचोकबाट नियन्त्रणमा लिइएको अख्तिायारले जनाएको छ ।

– रुपन्देहीको देवदहमा एक बैंककी महिला कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको पीसीआर परीक्षणमा गरिमा विकास बैंकको देवदह खैरेनी शाखामा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिएको हो ।

– रूपन्देहीको बुटवल उपमहानगरपालिका ९ र ११ मा पर्ने कालिकापथ विस्तारका क्रममा सडक क्षेत्र मिचेर बनाइएका घर भत्काइएको छ । सडक ओगटेर बनेका संरचना हटाउन घरधनीलाई आग्रह गरिए पनि अटेरी गरेको भन्दै उपमहानगरपालिकाले बुधबार बिहानै डोजर पठाएर घर भत्काएको हो ।

– पर्वतको मोदी गाउँपालिका ६ तिलाहारस्थित रातमाटामा ट्याक्टर दुर्घटना हुँदा सोही ट्याक्टरका सहचालककोमृत्यु भएको छ । मोदी गाउँपालिकाको ७ राम्जादेउरालीबाट २ देउपुरतर्फ आउँदै गरेको खाली ट्याक्टर मंगलबार राती साढे १० बजे अचानक सडकबाट तल खस्दा मोदी गाउँपालिका ५ बाजुङका सहचालक २१ वर्षीय युवा विजय नेपालीको मृत्यु भएको हो ।

– तीव्ररुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि भन्दै मोरङको रतुवामाई नगरपालिका १० दिनका लागि पूर्णरुपमा ‘सिल’ गरिएको छ । रंगेलीस्थित रक्तसञ्चार केन्द्रमा काम गर्ने रतुवामाई घर भएका कर्मचारीमा कारोना देखिएपछि मंगलबार राती १२ बजेबाट लागू हुने गरी पूरै नगर क्षेत्र सिल गर्नु परेको मेयरले बताए ।

– कपिलवस्तुको कृष्णनगरमा ५ जना सरकारी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । पाँचजना मध्ये दुईजना कृष्णनगर नगरपालिकाको महिला विकास शाखामा कार्यरत ३२ वर्षीया महिला र २९ वर्षका पुरुष छन् । नगरपालिकामा कार्यरत कर्मचारीहरुमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको नगरपालिकाले जनाएको छ ।

– कैलालीमा बलात्कारको आरोपमा एकजना वडा सचिव पक्राउ परेका छन् । भजनी नगरपालिका- ४ का वडा सचिव सुमनकुमार चौधरीलाई प्रहरीले बलात्कारको आरोपमा पक्राउ गरेको हो । प्रहरीका अनुसार वडा सचिव चौधरीबाट आफू बलात्कृत भएको भन्दै एक महिलाले १८ साउनमा जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता गराएकी थिइन् ।

– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० टीसीएन रोडमा रहेको सीता भवन सिल गरिएको छ । सो भवनमा बस्दै आएका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि अन्य व्यक्तिमा संक्रमण फैलिन नदिन भन्दै स्थानीय प्रशासनले सिल गर्ने निर्णय गरेको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com