Tuesday, September 22nd, 2020
विदेशमा आज

विदेशमा आज

– जापानी मन्त्रिपरिषद्मा प्रमुख सचिव योशिहिडे सुगा जापानको नयाँ प्रधानमन्त्री बन्ने भएका छन् । सोमबार सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टी (एलडीपी) ले सुगालाई संसदीय दलको नेतामा चयन गरेसँगै उनी जापानको नयाँ प्रधानमन्त्री बन्ने निश्चित भएको जापानी समाचार संस्था क्योदोले जनाएको छ ।

– भारत र चीनबीच सीमा विवादका कारण तनाव कायम रहेका बेला एक चिनियाँ कम्पनीले भारतका राष्ट्रपति, प्रधानमन्त्रीलगायत उच्च राजनीतिज्ञदेखि सांसद, कलाकार, पत्रकार र स्थानीय राजनीतिक कार्यकताहरूको ‘निगरानी’ गरेको दाबी गरिएको छ । भारतीय अंग्रेजी दैनिक ‘द इन्डियन एक्सप्रेस’ को सोमबारको संस्करणमा प्रकाशित खोजमूलक रिपोर्टमा त्यस्तो खुलासा गरिएको हो । रिपोर्टमा चिनियाँ कम्युनिस्ट पार्टीसँग निकट रहेको झेन्हुवा डाटा इन्फरमेसन टेक्नोलोजी कम्पनी लिमिटेडले १० हजारभन्दा बढी भारतीय व्यक्ति तथा संगठनहरूको ट्र्याक गर्दै आएको दाबी गरिएको छ ।

– कोरोना महामारीपछि पहिलो पटक सुरु भएको भारतीय संसद्को मनसुन सत्रमा दार्जिलिङका सांसद राजु विष्टले गोर्खाका ११ जातजातिलाई जनजातिको मर्यादा दिइनुपर्ने आवाज उठाएका छन् । भारतीय जनता पार्टीले अघिल्लो लोकसभा चुनावमा गोर्खाका दुइटा मुद्दालाई चुनावी घोषणापत्रमा समावेश गरेको थियो । यी दुईमा एक जनजातिको मुद्दा थियो ।

– भारतमा कोरोना भाइरस (कोभिड–१९) को कारण मृत्यु हुनेको संख्या ८० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० हजार ७७६ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसका कारण एक हजार ५४ जनाको मृत्यु भएको हो ।

– यूट्यूबले टिकटकको नयाँ प्रतिस्पर्धीको रूपमा भारतमा आफ्नो नयाँ एपको बीटा संस्करण परीक्षण गर्ने घोषणा गरेको छ । यूट्यूब सर्ट्स नामक उक्त एपमा १५ सेकेन्डको भिडिओ बनाउन मिल्नेछ र तिनको सिर्जना गर्ने शैली र तरिका चिनियाँ स्वामित्वको टिकटकसँग मिल्दोजुल्दो हुनेछ । भारत र चीनबीच सीमामा तनाव चुलिएका बेला दिल्लीले टिकटकसहित सबै चिनियाँ एपलाई जुन प्रतिबन्ध लगाएको थियो। त्यस बेलासम्म भारतमा टिकटकका सर्वाधिक १२ करोड प्रयोगकर्ता थिए ।

– अमेरिकाले मानव अधिकारको उल्लंघन गरेको मुद्दामा चीनको सिन्चियाङबाट अमेरिका आउने केही सामानमा प्रतिबन्ध लगाउने भएको छ । यो प्रान्तबाट आउने सामानहरु मानव अधिकार उल्लंघन गरी श्रम शोषणद्वारा बनाइने भएकाले आफ्नो मुलुकमा त्यस्ता सामग्रीको आयात रोक्ने निर्णय गरेको हो । अमेरिकाको यो प्रतिबन्ध सिन्चियाङ र अन्हुई प्रान्तबाट सामान निर्यात गर्ने पाँच कम्पनीलाई लागू हुनेछ ।

– ६ महिना लकडाउनपछि इटालीमा विद्यालयहरु खुलेका छन् । इटालीको २० मध्ये १३ प्रान्तका विद्यालयहरु खुलेका हुन् । यससँगै इटालीका ५६ लाख विद्यार्थीहरु विद्यालयमा फर्किएका छन् । बाँकी सात प्रान्तमा भने एक सातापछि मात्र विद्यालयहरु खुल्नेछन् ।

– अमेरिकामा तीन वटा राज्यमा सल्किइरहेको डढेलो झनै तीव्र गतिमा फैलिरहेको छ । अगष्टको सुरुदेखि क्यालिफोर्निया, आरेगन र वासिङ्टनमा फैलिएको डढेलोका कारण ३५ जनाको ज्यान गइसकेको छ, कयौं व्यक्ति बेपत्ता छन् । डढेलोले दुई लाख हेक्टर क्षेत्रफल ध्वस्त बनाएको छ, सयौं भौतिक संरचना जलेर खरानी भएका छन् भने लाखौं जीवजन्तु मरेका छन् ।

– अफगानिस्तानको पश्चिमी बागदिस प्रान्तमा भएको एक बम हमलाको घटनामा पाँच जना अफगान सेनाको ज्यान लिइएको छ । पश्चिमी बागदिस प्रान्तको अबकामारी जिल्लामा सडक किनारमा राखिएको बम विस्फोट गराएर ती सैनिकका ज्यान लिइएको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com