Sunday, September 20th, 2020
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचाररत एक जना कोरोना संक्रमितको मंगलबार मृत्यु भएको छ । सुनसरीको धरान-१७ का ७० वर्षीय वृद्धको मंगलबार दिउँसो उपचारको क्रममा मृत्यु भएको हो ।

– काठमाडौं उपत्यकामा ६ सय ७६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा पछिल्लो २४ घन्टामा थप ६ सय ७६ मा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिइएको हो ।

– पदको दुरुपयोग गरी गैरकानुनी रुपमा अकुत सम्पत्ति आर्जन गरेको आरोपमा धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका तत्कालीन उपकुलपति डा। बलभद्रप्रसाद दासविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उपकुलपति दासविरुद्ध ७ करोड ७१ लाख ९२ हजार ८६० रुपैयाँ २४ पैसा भ्रष्टाचार गरेको आरोपमा मंगलबार मुद्दा दायर गरेको हो ।

– भारत सरकारले प्याजको निर्यातमा तत्कालका लागि प्रतिबन्ध लगाएको छ । भारतले निर्यातमा रोक लगाएसँगै नेपालमा प्याजको मूल्य बढ्न थालेको छ ।

– ब्युटी पार्लर र शैलुन सञ्चालन गर्न दिनुपर्ने माग राख्दै माइतीघर मण्डलामा मंगलबार व्यवसायीहरुले प्रदर्शन गरेका छन् ।

– कोरोना संक्रमणबाट पोखरा–१० का ७० वर्षीय एक पुरुषको मृत्यु भएको छ । क्यान्सर रोगबाट पीडित उनको पोखराकै मनिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा सोमबार राति ११ बजेर २० मिनेटमा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

– मकवानपुरमा एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौडा–१० स्थित किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालाबाट मंगलबार विहान प्राप्त पीसीआर नतिजा अनुसार हेटौंडा–४, का एक महिने शिशु (बालक) मा कोरोना पुष्टि भएको हो ।

– पर्साको पोखरिया नगरपालिका ६ को सिर्सियामा बुवाले छुरा प्रहार गर्दा छोराको ज्यान गएको छ । बुवाले रक्सी खाएर आएको विषयमा दुई जनाबीच भनाभन भएको थियो । रक्सीले मात्तिएका बावुले छुरा प्रहार गर्दा ३५ वर्षीय छोरा माधव साह रौनियारको ज्यान गएको हो । छुरा प्रहार गर्ने ७० वर्षीय बुवा लक्ष्मी साह रौनियारलाई नियन्त्रणमा लिइएको इलाका प्रहरीले जनाएको छ ।

– कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी सजाय सुनाएका अछामको चौरपाटी गाउँपालिका–१० का गमानसिंह थापालाई प्रहरीले दश वर्षपछि पक्राउ गरेको छ । आफ्नै गाउँपालिकामा बस्ने चक्र थापाको हत्यामा संलग्न रहेको भन्दै जिल्ला अदालत अछामले उनीसहित अन्य चार जनालाई विसं २०६७ असोज महिनामा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर गरी २० वर्ष जेल सजाय तोकेको थियो ।

– नेपाल विद्युत् प्राधिकरण पर्वत वितरण केन्द्रमा कार्यरत एक कर्मचारीको विद्युत्को खम्बाबाट खसेर सोमबार साँझ मृत्यु भएको छ । कुश्मा नगरपालिका-७ खरेहामा विद्युत् मर्मतका लागि खम्बा चढेका ३५ वर्षीय भोलाराम शर्माको खसेर मृत्यु भएको हो ।

– बारामा चट्याङ लागेर मंगलबार एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका–१४ का धर्मप्रसाद राय चौधरी रहेका छन् ।

– पछिल्लो २४ घण्टामा थप १ हजार ४५९ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १० हजार ३७५ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो । यससँगै मंगलबारसम्म नेपालमा कुल संक्रमितको संख्या ५६ हजार ७८८ पुगेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com