Sunday, September 20th, 2020
खेलकुद

खेलकुद

– १३औं दक्षिण एसियाली खेलकुद (साग) मा फुटबलतर्फ स्वर्ण जितेका राजेश परियारले भारतीय दोस्रो श्रेणीको फुटबल आई लिग खेल्ने भएका छन् । राजेशलाई दोस्रो डिभिजनको आई लिग क्लब अरा एफसी (अहेमवाद राकुएटा केडेमी फुटबल क्लब)ले अनुबन्ध गरेको हो ।

– राष्ट्रिय खेलकुद परिषद (राखेप)ले मोटरसाइकल दुर्घटनामा घाइते भएका क्रिकेटर ललित भण्डारीको उपचारमा सहयोग गर्ने भएको छ । राखेपका सदस्य सचिव रमेश कुमार सिलवालसहित राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ल, निवर्तमान कप्तान पारस खड्का, नेपाल क्रिकेट संघ (क्यान) का सदस्य छुम्मबी लामा लगायत मंगलबार ललितको स्वास्थ्य अवस्था बुझ्न टोखास्थित ग्रान्डी अस्पताल पुगेका थिए ।

– ओलम्पियन पौडीबाज नयना शाक्य र बास्केटबल प्रशिक्षक विकास शाहीलाई कोरोना संक्रमण भएको छ । नयनाले मंगलबार सामाजिक सञ्जाल फेसबुकमा आफू र परिवारका सदस्यलाई कोरोना संक्रमण भएको पुष्टि गरेकी हुन् । नयना र विकास श्रीमान श्रीमती हुन् । यस्तै नयनाले छोरा इभानलाई पनि कोरोना संक्रमण भएको जनाएकी छिन् ।

– काठमाडौंको लाजिम्पाटमा नयाँ कभर्डहल तयार भएको छ । राष्ट्रिय खेलकुद परिषद् राखेपका नवनियुक्त बोर्ड सदस्य तथा नेपाल ब्याडमिन्टन संघका बरिष्ठ उपाध्यक्ष सुबास श्रेष्ठले फ्ल्यास स्पोर्ट्सद्वारा नयाँ कभर्ड हल र टेनिस कोर्टको उद्घाटन गरेका हुन् । काठमाडौंको मुटुमा निर्माण गरिएको स्पोर्ट्स कम्प्लेक्समा २ वटा ब्याडमिन्टन कोर्ट रहेको कभर्डहल र २ वटा टेनिस क्ले कोर्ट रहेको छ ।

– चर्चित क्रिकेट प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल) यसपटक युएईमा सञ्चालन हुँदैछ र आगामी शनिबार आवुधाबीस्थित शेख जायद रङ्गशालामा उद्घाटन खेल हुँदैछ । उद्घाटन खेलमा गत सिजनको विजेता मुम्बई इण्डियन्स र उपविजेता चेन्नई सुपर किङ्ग्स भिड्दैछन् । रोहित शर्माको टोली मुम्बईले ४ पटक आईपीएलको उपाधि जितिसकेको छ भने महेन्द्र सिंह धोनी नेतृत्वको चेन्नईले तीन पटक जितेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com