Sunday, September 20th, 2020
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– बुधबार बिहानै ६ रेक्टर स्केलको भूकम्प गएको छ । बिहान ५ः१९ बजे आएको भूकम्प काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा महसुस गरिएको थियो । भूकम्प सिन्धुपाल्चोकको राम्चेलाई केन्द्रविन्दु बनाएर गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

– सिरहामा भएको मोटरसाइकल दुर्घटनामा नेपाली सेनाका एक जमदारको मृत्यु भएको छ । मृत्यु हुनेमा खोटाङको घर भइ सुनसरीको इटहरी ४ बस्ने पेशल पाण्डे छन् । उनी नेपाली सेनाको श्री बक्स गुल्मी अर्थुङ्गे ब्यारेक म्याग्दीमा कार्यरत थिए ।

– भारतले प्याज निर्यातमा रोक लगाएसँगै नेपालमा बढी मूल्यमा किनबेच हुन थालेको छ । यस्तो कार्यमा संलग्न भएको अभियोगमा बुधबार बल्खु बजारबाट एक जना व्यवसायी पक्राउ परेका छन् । काठमाडौं महानगरपालिकाको अनुगमन टोलीले सुनिल केसीलाई बढी मूल्यमा प्याज विक्री गरेको अवस्थामा फेला पारेर नियन्त्रणमा लिएको हो ।

– नक्कली प्रेस कार्ड बनाएको अभियोगमा पक्राउ परेका तीन जना धरौटीमा छुटेका छन् । जिल्ला प्रशासन कार्यालय, काठमाडौंले १०/१० हजार रुपैयाँ धरौटी लिएर छाड्न आदेश दिएको हो । प्रशासनको आदेशपछि बर्दियाका श्रीराम खड्का, नवलपुरका रमेशकुमार रेग्मी र स्याङ्जाका राजेन्द्र भण्डारी छुटेको एसएसपी दिपक थापाले बताए । मुख्य आरोपित बागबजारस्थित कालिका प्रिटिङ प्रेसका सञ्चालक लक्ष्मण न्यौपाने भने आइसोलेसनमा छन् ।

– महानगरीय प्रहरी वृत्त, बौद्धले चोरी अभियोगमा पक्राउ गरेका ५ जना अभियुक्तलाई कोरोना भाइरसको संक्रमण देखिएको छ । जिल्ला अदालत, काठमाडौंबाट म्याद थप गर्नुअघि गरिएको पिसीआर जाँचमा कोरोना संक्रमण पुष्टि भएको हो । उनीहरुमाथि १३ लाख ५० हजार रुपैयाँ चोरी गरेको अभियोग छ ।

– पहाडबाट लेदो झरेर नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । निरन्तर वर्षाका कारण यस सडकखण्डको चितवनको इच्छाकामना गाउँपालिका–६ चारकिलो भन्ने स्थानमा पहाडबाट लेदो झर्दा सडक अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा उपचारत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सप्तरी खडक नगरपालिका–३ का ३५ वर्षीय पुरुषको मृत्यु भएको हो । २८ भदौमा कोरोना पोजेटिभ देखिएका पुरुषलाई ३० भदौमा प्रतिष्ठानमा भर्ना गरिएको थियो । उनको उपचारका क्रममा बुधबार विहान ६ बजे मृत्यु भएको हो ।

– सुनसरीको देवानगञ्ज गाउँपालिका–६ मा चट्याङ लागेर मङ्गलबार एक बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय १३ वर्षीया बालिका सुष्मा पासवान रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

– दाङमा करेन्ट लागेर तीन बालबालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा घोराही उपमहानगरपालिका १० उत्तरअम्राईका आठ वर्षीय प्रशान्त चौधरी, चार वर्षीया रेणुका चौधरी र तीन वर्षीय अमृत चौधरी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवम् डीएसपी सुमित खड्काले जानकारी दिए।

– सुनसरीमा खोलाले बगाएर ल्याएको अवस्थामा मंगलबार एकजना पुरुषको शव फेला परेको छ । प्रहरीका अनुसार इटहरी उपमहानगरपलिका-१० बरगाछीमा बुढीखोलाले बगाएर ल्याएको अवस्थामा ५० वर्षीय पुरुषको शव फेला परेको हो । मृत भेटिएका पुरुषको नाम, थर, वतन खुल्न नसकेको र घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

– दैलेखमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । भैरवी गाउँपालिका-२ बडचिन्मायाका २४ वर्षीय पुष्कर थापाको मृत्यु भएको हो । बिजुलीका पोल विस्तार गर्ने क्रममा करेन्ट लाग्दा बुधबार दिउँसो १२ बजे उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

– जाजरकोटमा कोरोना भाइरस (कोभिड–१९)सँग मिल्दोजुल्दो लक्षण देखिएका एक वडा सचिवको मृत्यु भएको छ । नलगाड नगरपालिका–१० का २६ वर्षीय वडासचिव कविराम रोकाको मृत्यु भएको हो ।

– बर्दियामा आफ्नै घरको छतबाट खसेर एक पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा बढैयाताल गाउँपालिका–८ कण्ठपुरका ५० वर्षका कर्णबहादुर सुनार रहेका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com