Saturday, January 23rd, 2021
विदेशमा आज

विदेशमा आज

– बुधबार अमेरिकाको वासिङटन डीसीस्थित क्यापिटल हिलमा कंग्रेसको बैठक चलिरहेको राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु प्रदर्शनमा उत्रिए । प्रदर्शनकारीहरु बलपूर्वक बैठक हलमा प्रवेश गर्न खोजे । सुरक्षाकर्मीहरुले रोक्दारोक्दै प्रदर्शनकारी बैठक हलमा प्रवेश गरेर उपद्रो मच्चाएपछि अवस्था तनावपूर्ण बन्यो । प्रहरीले गोली चलायो । गोली लागेर घाइते भएकी एक महिलाको निधन भयो । थप तीन जनाको मृत्यु भएको वासिङटनका मेयरले जानकारी दिएका छन् ।

– भारतका विभिन्न राज्यमा हाँस र कौवामा एभिअन फ्लुको संक्रमण देखिएपछि हजारौं पन्छी मार्न थालिएको छ । विभिन्न राज्यमा ठूलो संख्यामा चराहरू मरेको देखेसँगै अधिकारीहरूले एक साताअघि फ्लु भएको थाहा पाएका थिए । भाइरसले अन्य प्रजातिका पन्छीमा समेत असर पारेको छ ।

– राष्ट्रसंघका यातनासम्बन्धी विशेष प्रतिवेदक निल्स मेल्जरले विकिलिक्सका संस्थापक जुलियन असान्जलाई अमेरिका सुपुर्दगी नगर्ने भनी बेलायती अदालतले दिएको आदेश स्वागतयोग्य रहेको बताएका छन् ।

– भारतको खोप उत्पादक कम्पनी भारत बायोटेकले नेपालमा पनि कोरोना खोप ‘कोभ्याक्सिन’ क्लिनिकल ट्रायल चलिरहेको झूटो दाबी गरेको पाइएको छ । कम्पनीका प्रबन्ध निर्देशक कृष्ण एम ऐल्लाले अघिल्लो सोमबार कम्पनीद्वारा उत्पादित कोभ्याक्सिनको तेस्रो चरणको क्लिनकल ट्रायल नेपाललगायत विभिन्न १२ मुलुकमा चलिरहेको दाबी गरेको थिए । तर, कम्पनीले नेपालमा कोरोना खोपका क्लिनिकल ट्रायलका लागि हालसम्म अनुमति नलिएको पाइएको छ ।

– अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेन विजयी भएको अमेरिकी कंग्रेसले पुष्टि गरेको छ । स्थानीय समयअनुसार बिहीबार बिहान सकिएको इलेक्टोरल कलेजको मतगणनामा अमेरिकी राष्ट्रपतिमा बाइडेन र उपराष्ट्रपतिमा कमला ह्यारिस विजयी भएको पुष्टि भएको हो ।

– कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल प्रतिघण्टा एक हजार किलोमिटरका दरले कुद्न सफल भएको ‘कोरेल’ले बताएको छ ।

– विश्व स्वास्थ्य संगठन(डब्लूएचओ) ले कोरोना भाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न जान लागेको आफ्नो टिमलाई अझै अनुमति नदिएको बताएको छ । डब्लूएचओका महानिर्देशक डाक्टर टेड्रोस एड्हानोम गेहब्रेयससले संयुक्त राष्ट्र संघका दुई जना वैज्ञानिक अनुसन्धानका लागि आफ्नो मुलुक छाडिसकेको बताएका छन् । उनीहरु कोरोना भाइरसको उत्पत्तिका बारेमा अनुसन्धान गर्न चीनको वुहान जान घरबाट हिँडे पनि चीनको अनुमति पर्खिरहेको महानिर्देशक गेहब्रेयससले बताए ।

– भारत सरकारले साता दिनमा पहिलो चरणको खोप अभियान सुरु गर्ने भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले मंगलबार पत्रकार सम्मेलन गर्दै दुईवटा खोपले आपत्कालीन अनुमति पाएको दिनदेखि हिसाब गरेर दस दिनभित्र खोप अभियान सुरु गर्ने बताएको छ । यस हिसाबले सात दिनभित्र उक्त अभियान सुरु गर्ने तय भएको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*