Saturday, January 23rd, 2021
राजनीतिमा आज

राजनीतिमा आज

– नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन प्रक्रिया रोक्न निर्वाचन आयोगलाई आग्रह गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ पुसमा प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि निर्वाचन घोषणा गरेका छन् । तर संसद विघटन असंवैधानिक भएको भन्दै एक दर्जन रिट गरेको छ र यो मुद्दा सर्वोच्चमा विचाराधीन छ ।

– नेपालमा कोरोना भाइरसविरुद्धको खोप प्राप्त भएको एक हप्ताभित्र वितरणको अभियान सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले एक करोड ७० लाख खोपको भण्डारण गर्न सक्ने क्षमता रहेको र खोप प्राप्त भएको सात दिनभित्र खोप वितरण गर्ने तयारी भइरहेको बताउनुभएको हो ।

– यस वर्षको शैक्षिक सत्र पूरा हुन्छरहुन्न भन्नेबारे विद्यार्थी, शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समितिमात्र होइन स्वयं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसमेत अन्योलमा छ । किनभने मन्त्रालयले आगामी जेठसम्म शैक्षिक सत्र लम्बाएर परीक्षा लिने कार्ययोजना मन्त्रिपरिषद्मा पेस गरेको तीन साता बितिसकेको छ । तर मन्त्रिपरिषद्ले उक्त प्रस्तावलाई प्राथमिकतामा राखेको छैन ।

– प्रधानमन्त्री एवम् नेकपा ओली समूहका अध्यक्ष केपी शर्मा ओलीको केन्द्रीय कमिटी १५ सय एक सदस्यीय भएको छ । पुस ७ गते बालुवाटारमा बसेको ओली पक्षीय नेकपाको केन्द्रीय कमिटी बैठकले १ हजार १ सय ९९ सदस्यीय केन्द्रीय कमिटी बनाएकोमा ओलीले पार्टी विधान संशोधन गरेर केन्द्रीय कमिटी १५ सय १ सदस्यीय बनाउनुभएको हो ।

– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डाक्टर चन्द्र भण्डारीले संविधानको अन्तिम व्याख्या गर्ने अधिकार सर्वोच्च अदालतलाई मात्रै रहेको बताउनुभएको छ । सर्वोच्च अदालतमा रहेको विचाराधीन मुद्दामाथि सडकबाट फैसला गर्न नहुने भन्दै उहाँले प्रतिनिधि सभा पुनर्स्थापना हुनेरनहुने विषयमा सर्वोच्च अदालतले गरेको निर्णयलाई नै सबैले आत्मसात् गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, सर्वोच्चले जे व्याख्या गर्छ, त्यसलाई सबैले स्वीकार गर्नुपर्छ ।

– जनता समाजवादी पार्टी (जसपा) का वरिष्ठ नेता राजेन्द्र महतोलाई उनकै निर्वाचन क्षेत्र जनकपुरधाममा युवाहरुले सोमबार कालो झण्डा देखाएका छन् । संसद विघटनविरुद्व प्रदर्शनमा सहभागी हुने क्रममा युवाहरुले उनलाई कालो झण्डा देखाएका हुन् । कालो झण्डा देखाउने क्रममा युवाहरुले राजेन्द्र महतो मुर्दावाद, शहीदको भावनासँग खेलबाड गर्न पाइँदैनजस्ता नारा समेत लगाएका छन् ।

– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले केपी शर्मा ओली नेतृत्वको सरकारको ज्यादतीबाट मुक्ति पाउन ताजा जनादेशमा जानु उपयुक्त विकल्प रहेको बताएका छन् । पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा राप्रपाले आयोजना गरेको कार्यक्रममा सहभागी हुन गोरखा आएका थापाले पत्रकारसँग कुराकानी गर्दै प्रतिनिधि सभाविघटनको निर्णयले संवैधानिक जटिलता निम्त्याएको बताए ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*