Saturday, January 23rd, 2021
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– नेपाली बजारमा सुनको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा ६ सय रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ९२ हजार २ सय रुपैयाँ मूल्य कायम भएको छापावाल सुनको भाउ मंगलबार भने ९२ हजार ८ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै मंगलबार तेजाबी सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबारको तुलनामा मंगलबार चाँदीको भाउमा पनि प्रतितोला २० रुपैयाँले वृद्धि भएको छ । चाँदीको भाउ मंगलबार १ हजार २ सय ५० रुपैयाँ पुगेको छ ।

– डेडिकेटेड र ट्रंक लाइनको महसुल विवाद समाधान गर्न तयार गरिएको अध्ययन प्रतिवेदन मन्त्रिपरिषदले पारित गरेको पाँच महिनामा पनि कार्यान्वयन हुन सकेको छैन । बरु सम्बद्ध निकायले प्रक्रिया नथाल्दै विभिन्न उल्झन देखिएका छन् । प्रतिवेदन कार्यान्वयनका लागि ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत नियमन आयोग र नेपाल विद्युत प्राधिकरणमा पठाएको छ । दुवै निकायले कार्यान्वयनको लागि नीतिगत निर्णय लिन सकेका छैनन् ।

– सरकारले तोकिएकै समयमा आयकर बुझाउन करदातालाई ताकेता गरेको छ । कोरोना महामारीमा बीच व्यापार प्रभावित भएको भन्दै व्यवसायिक संघसंगठनले आयकर बुझाउने समय थप गर्न माग गरिरहेका थिए । तर, सरकारले भने आयकरको किस्ता बुझाउने समय पुस मसान्तसम्म अनिवार्य बुझाउन ताकेता गरेको हो । आयकर ऐन अनुसार आर्थिक वर्ष २०७७/७८ को आयकरको किस्ता रकम बुझाउने करदाताले कारोबारको अनुमानित करको विवरण र विवरणअनुसार बुझाउनु पर्ने पहिलो किस्ता वापतको ४० प्रतिशतले हुन आउने कर पुस मसान्त भित्रै बुझाउन आन्तरिक राजस्व विभागले सूचित गरेको छ ।

– नेपालका लागि स्याटलाइट राख्न नौ वटा अन्तर्राष्ट्रिय कम्पनी इच्छुक देखिएका छन् । नेपाल दूरसञ्चार प्राधिकरणले पुस १ मा सूचना जारी गर्दै स्याटलाइटको स्थापना, सञ्चालन र व्यवस्थापनका लागि आशयपत्र माग गरेको थियो । आशयपत्र माग गर्ने अन्तिम दिन सोमबारसम्म विभिन्न देशका नौ वटा कम्पनीले प्रस्ताव पेस गरेको प्राधिकरणले जनाएको छ ।

– माघे सङ्क्रान्ति पर्वमा प्रयोग हुने चाकु र सख्खरको व्यापार यो वर्ष घटेको छ । कोरोना महामारीका कारण व्यापार घटेको व्यवसायीहरुले बताएका छन् । माघे सङ्क्रान्तिमा चाकु, घिउ र सख्खरको माग धेरै हुने गरे पनि यो वर्ष बजारमा खासै चहलपहल नभएको टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्षले जानकारी दिनुभयो ।

– बाक्लो हुस्सुका कारण आज सोमबार तराईका तीन वटा विमानस्थलमा उडान हुन सकेन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार सोमबार भैरहवा, सिमरा र विराटनगरमा एउटा पनि उडान सम्भव भएन् । यी विमानस्थलमा उडान हुन नसक्दा आन्तरिक टर्मिनलमा अधिक भिडभाड भएको थियो । बुद्ध एयरको मात्र यी तीन वटा विमानस्थलका लागि आज निर्धारित २८ वटा उडान रद्द भएको छ ।

– धितोपत्र व्यवसायीले वार्षिक खुद नाफाको न्यूनतम १ प्रतिशत रकम संस्थागत सामाजिक उत्तरदायित्व ९सीएसआर० मा खर्च गर्नुपर्ने भएको छ । नियामक निकाय धितोपत्र बोर्डले सोमबार उक्त निर्देशन दिएको हो । उक्त रकम लगानीकर्ताको ज्ञान तथा सचेतना अभिवृद्धि गर्ने काममा उपयोग गर्न पनि बोर्डले भनेको छ ।

– नेपाल पर्यटन बोर्डले प्रदेशस्तरीय कार्यालय स्थापना गर्न तयारी थालेको छ । यसका लागि आवश्यक तयारी गर्न कर्मचारीलाई फिल्डमा खटाइएको बोर्डका सीइओले जानकारी दिए । अब बोर्डले सात वटै प्रदेशमा आफ्नो कार्यालय खोल्ने भएको छ । प्रदेशमा खटिएका कर्मचारीले १० दिनसम्म आवश्यक तयारीसहित केन्द्रमा प्रतिवेदन बुझाउने र सोही प्रतिवेदनका आधारमा बोर्डले कार्यालय स्थापना गर्ने उनले जानकारी दिए ।

– बैंक तथा वित्तीय संस्थालाई एकमुस्ट रूपमा दिने पुनर्कर्जाका लागि राष्ट्र बैंकले दोस्रो चरणको आवेदन आह्वान गरेको छ । पहिलो चरणमा प्राप्त आवेदन स्वीकृत गरिसकेपछि दोस्रो चरणका लागि आवेदन आह्वान गरिएको राष्ट्र बैंकले जनाएको छ । यसअनुसार बैंक तथा वित्तीय संस्थाले आउँदो माघ १६ भित्र आवेदन संकलन गरी राष्ट्र बैंकमा बुझाउनुपर्नेछ । दोस्रो चरणमा थप ९८ अर्ब ५० करोड रुपैयाँका लागि आवेदन मागिएको राष्ट्र बैंक नियमन विभाग प्रमुखले जानकारी दिए ।

– वाग्मती प्रदेशका भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुयाँलले प्रदेश राजधानी हेटौँडाबाट सङ्घीय राजधानी काठमाडौँ जोड्नेसहित तीन सुरुङ मार्ग निर्माणका लागि बोलपत्र आह्वान गर्न लागिएको बताएका छन्। हेटौँडा–वीरगञ्ज सडकखण्डमा पर्ने चुरियामाई मन्दिर परिसरमा रहेको १०४ वर्ष पुरानो २०० मिटर सुरुङ मार्ग निरीक्षणका क्रममा उनले सो जानकारी दिएका हुन्।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*