Wednesday, January 27th, 2021
राजनीतिमा आज

राजनीतिमा आज

– सरकारले कोरोनाविरुद्धको खोप आयातका लागि आर्थिक सहयोग गर्न आग्रह गरेको छ । सरकारी बजेटले मात्रै खोप खरिद गर्न नपुग्ने भन्दै स्वास्थ्य मन्त्रालयले दातृ निकाय, विदेशी, विभिन्न व्यवसायिक एवम् सामाजिक र परोपकारी संस्थाहरुलाई आर्थिक सहयोग गर्न आह्वान गरेको हो । दाताहरुले “खोप कोष” अन्तर्गत कोष तथा लेखा नियन्त्रणको कार्यालय त्रिपुरेश्वरको खातामा रकम जम्मा गर्न सक्नेछन् ।

– संसद विघटनविरुद्ध परेका रिटहरुमा सुनुवाइ गर्न प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराले संवैधानिक इजलास गठन गरेका छन् । उनले न्यायाधीश हरिकृष्ण कार्कीको स्थानमा सपना प्रधान मल्ललाई राखेका छन् । न्यायाधीश प्रधान संविधान सभामा तत्कालीन एमालेबाट समानुपातिक सभासद बनेकी थिइन् । उनी २०७३ सालमा सर्वोच्चको अदालतको न्यायाधीश नियुक्त भएको थिइन् ।

– नेपाल प्रहरीले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेलको नेतृत्वमा शान्ति सुरक्षाका लागि केन्द्रीय निर्वाचन तयारी तथा समन्वय समिति गठन गरी आवश्यक काम थालेको छ । पोखरेलको नेतृत्वमा बनेको उक्त समितिमा प्रहरी नायब महानिरीक्षकसहित ३७ सदस्य रहेको र आवश्यकता अनुसार अन्य प्रहरी अधिकृत तथा कर्मचारीसमेत परिचालन हुने प्रहरी वरिष्ठ उपरीक्षकले जानकारी दिए ।

– प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोभिड—१९ को खोप नेपालमा यथाशक्य छिटो भित्र्याउन र जनतालाई निःशुल्क उपलब्ध गराउने प्रबन्ध मिलाउन सरकारसँग आग्रह गरेको छ । कांग्रेस, सूचना, सञ्चार तथा प्रचार केन्द्रीय विभागले कोभिड–१९ को उपचार र रोकथामलाई पहिलो प्राथमिकतामा राखी व्यवस्थापन गर्न तथा विश्व बजारमा आइपुगेको खोप भित्र्याई निःशुल्क उपलब्ध गराउन आग्रह गरेको हो ।

– प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेका रिटमाथि आज सुनुवाइ हुँदैछ । यस सम्बन्धी रिटहरुको सुनुवाइ संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलासमा भन्ने विवाद छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट निवेदक १३ मध्ये ११ जनाले बृहत् पूर्ण इजलासमा सुनुवाइको माग गर्दै यही पुस २२ गते पूरक निवेदन दिएका थिए । सो विवाद कहाँ सुनुवाइ गर्ने भन्ने पनि आजै टुंगो लाग्ने छ ।

– लोक सेवा आयोगले नायब सुब्बा (नासु) पदमा ८४३ जनाका लागि विज्ञापन खुलाएको छ । खुल्लाबाट ४११ र ज्येष्ठता र कार्यक्षमता मूल्यांकन बढुवाबाट ४३२ जना पदपूर्ति गर्ने गरी लोक सेवाले बुधबार नासु (अप्राविधिक) पदमा विज्ञापन प्रकाशित गरेको हो ।

– पूर्वमन्त्री एवं नेकपा प्रचण्ड(माधव समूहका नेता गोकर्ण विष्टलाई मातृशोक परेको छ । गुल्मी क्षेत्र नम्वर २ का प्रतिनिधिसभा सदस्य एवं इस्मा गाउँपालिका–४ निवासी विष्टकी आमा चिन्तकला विष्टको ९२ वर्षको उमेरमा निधन भएको हो । चिन्तकला विष्टको मगंलबार दिउँसो आफनै घरमा निधन भएको हो ।

– परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको तीन दिने भारत भ्रमणको मिति तय भएको छ। उनी माघ १ गते भारत जानेछन् । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै ज्ञवाली भारत जान लागेका हुन् ।

– अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सत्ता टिकाउने नाममा राष्ट्रिय स्वाधीनता र स्वाभिमानमा गम्भीर आँच पुर्याउने व्यक्ति र संस्थाहरुसँग रहस्यमय र अपारदर्शी भेटघाट नगर्न आग्रह गरेको गरेको छ । हालै प्रधानमन्त्री ओलीले बालुवाटारमा बोलाएर अन्तरवार्ता दिएका जी न्यूजका प्रधानसम्पादक सुधीर चौधरीले सगरमाथामा भारतले दाबी गर्नुपर्छ भन्दै रिपोर्ट प्रसारण गरेको सन्दर्भमा अनेरास्ववियूले सो आग्रह गरेको हो । अनेरास्ववियू सहसंयोजक रञ्जित तामाङले सगरमाथाको भ्रामक र तथ्यहीन समाचार सम्प्रेषण नगर्न र अविलम्ब माफी माग्न पनि जी न्यूजलाई आग्रह गरेका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*