Wednesday, March 3rd, 2021
पहिलो जबमा सफल बनौ

पहिलो जबमा सफल बनौ

जब हामी कुनै कामको खोजीमा नयाँ काम पाउँछौ । त्यसमा हामी उत्साह, उमंग, जाँगर लिएर अघि बढ्ने गर्छौ । त्यस कामप्रति हामी इमान्दार पनि हुन्छौ तर विस्तारै हामीमा भएको कामप्रतिको उत्साह, जाँगर सेलाउँदै जान्छ । यसको प्रमुख कारण पनि हामीमा नै हुन्छ किनकि हामी त्यस कम्पनीप्रति अनुकूल भई सकेका हुँदैनौ । कम्पनीमा हामी आफूले चाहेको कुरा पुगिरहेको हुँदैन । अर्कोतिर हामी जागिर छोड्न पनि सक्दैनौ । आफूलाई यसै कम्पनीबाट करिअर बनाउँछु भन्ने सकारात्मक सोच लिएर आएका भए पनि हामीमा कम्पनीप्रति त्यति चित्त बुझिरहेको हुँदैन । त्यसैले जागिरको आवश्यकता हुँदा हुँदै पनि कम्पनी छोड्न हामी तयार भईरहेका हुन्छौ । कारण आफ्नो क्षमता अनुसार सोचेको काम नपाउँनु हो तर भएको कामलाई त्यागेर बेरोजगार हुन पनि हामी चाहन्नौ । पढाई पछिको जागिरे जीवनमा प्रवेश गर्दा त्यसमा धेरै कुराहरु प्रति चित्त नबुझ्ने पनि हुन्छ । जागिरे जीवनमा अनुशासित हुनु अत्यन्त जरुरी छ । समस्या त अवश्य आउँछ तर समस्यालाई नै लिएर अघि बढ्नु मुर्खता हो । ‘जहाँ समस्या त्यहाँ समाधान’ यो कुरा त हामीलाई थाहा नै छ । समस्यालाई पन्छाएर अघि बढ्नु नै सफलताको सिढी पार गर्नु हो । त्यसैले आफ्नो जागिरलाई सफल रुपमा अघि बढाउन ध्यान दिनुहोस् ।

१ विनम्रताको आवश्यकता ।

कम्पनी वा अफिसियली रुपमा रहँदा कतिपय सहकर्मी वा हाकिमको कुरामा चित्त नबुझ्न सक्छ । आफूलाई चित्त नबुझेका कुरा आफ्नो हाकिम सामू राख्नुहोस् र हाकिमको कुरा राम्रो सँग सुन्नुहोस् । उत्तेजना तथा आवेगमा आएर त्यस्तो कुनै कुरा नभन्नुहोस् जसले तपाईको व्यक्तित्वमा नै आँच आओस् । त्यसैले आफूले भन्न चाहेको कुरा विनम्र रुपमा हाकिम समक्ष राख्नुहोस् ।

२ समयको महत्व

जागिरको सफलतालाई अघि बढाउने काम समयले पनि गर्छ । यदि तपाई समयको महत्व बुझ्नु हुन्छ भने समयमा कार्यालयमा पुग्नुहोस् र आफ्नो कार्यभार समयमा नै सिध्याउँनुहोस् । समयमा गरेको कामले पनि तपाईको व्यक्तित्वलाई प्रभाव पार्छ । कामको समयमा कामप्रति ध्यान दिएर काम पूरा गर्नुहोस् । विनाकाममा सहकर्मीहरुसँग गफगाफ गरेर समयलाई त्यतिकै खेर जान नदिनुहोस् । आफूलाई योग्य कर्मचारीको रुपमा चिनाउँनुहोस् ।

३ नयाँ कामप्रति लगाव

कहिले काही हामीले गरिरहेका काम बाहेक कामको ट्रयाक परिवर्तन हुन सक्छ । त्यस समयमा सम्पूर्ण सहकर्मीहरुले नयाँ कामको कार्यभार सम्हाल्न सक्षम हुनुपर्छ । नयाँ कामले नयाँ आयाम थपिदिन्छ । त्यसैले नयाँ कामलाई खुशिसाथ स्वीकार गर्नुहोस् । नयाँ कामले तपाईलाई नयाँ अनुभव गराउँछ साथै तपाईमा जोसको कमि आउन दिदैन ।

४ मेहनत र अनुशासित बन्नु

सफल मानिसको प्रतिविम्ब हो मेहनत र अनुशासित बन्नु । मेहनत गर्ने व्यक्ति कहिल्यै असफल हुँदैन त्यसमा पनि ऊ अझ अनुशासित छ भने उसले कुनै काम गलत गर्न सक्दैन । त्यसैले आफूलाई मेहनती तथा अनुशासित बनाउनुहोस् यसले तपाईको व्यक्तित्व प्रभावमा पनि ठूलो भूमिका खेल्नेछ ।

५ हतार नगर्नुहोस्

आफ्नो कार्य सम्पादन गर्न कुनै किसिमको हतार नगर्नुहोस् । उत्साहका साथ आफ्नो कार्यलाई विस्तारी समयमा पूरा गर्नुहोस् । यसले तपाईको कार्यक्षमतामा वृद्धि गर्छ ।

६ आफ्नो व्यक्तित्वलाई प्रोफेसनल बनाउनुहोस्

कार्यालय जाँदा आफूलाई काम गर्दा सजिलो हुने ड्रेसको छनोट गर्नुहोस् जसले तपाईलाई प्रोफेसनल छवि दिओस् । जस्तो पायो त्यस्तै गेटअपले भद्दा देखिन्छ । काम गर्दा पनि आफूलाई असजिलो हुन्छ । कतिपय कार्यालयमा ड्रेसको प्रयोग गरिएको हुन्छ भने नभएको खण्डमा प्रोफेसनल छवि दिने ड्रेसको पहिरनले पनि तपाईको डिमाण्डमा वृद्धि गराउँछ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*