– सरकारले घरजग्गाको कारोबार कम्पनीमार्फत गर्नुपर्ने व्यवस्था गर्न लागेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले व्यक्तिमार्फत घरजग्गा खरिदबिक्री गर्दा कर तथा राजस्व छली हुनुका साथै ठगीका घटना बढेको भन्दै ‘कम्पनी’ मार्फत मात्रै किनबेचको व्यवस्था गर्न लागेको हो।
– एक कल फोन गरेको भरमा नै ऋण लिन पाइने सुविधा क्रमशः विस्तार हुँदै गएको छ । फोनबाट ऋण लिने सुविधाप्रति आकर्षण पनि पछिल्ला दिनमा उल्लेखनीय वृद्धि भएको छ । अहिले ‘फोन लोन’को सुविधा तीन वटा वाणिज्य बैंकले दिइरहेका छन् । अहिलेसम्म नबिल बैंक, लक्ष्मी बैंक र कुमारी बैंकले फोनबाट ऋण लिन सकिने सुविधा दिएका छन् । नेपालमा पहिलो पटक सुरु भएको फोन लोनमार्फत सय दिनमा कुल एक हजारले ऋण लिएको पाइएको हो ।
– डेढ वर्षअघि रोकिएकै विन्दुबाट साझा यातायातले विद्युतीय बस किन्ने प्रक्रिया अघि बढाउने भएको छ । सरकारले खिचेको ३ अर्ब रकम फेरि साझालाई नै बस किन्न फिर्ता दिएपछि अब पुरानो बिन्दुबाटै प्रक्रिया अघि बढाउने साझा यातायातले बताएको छ । सरकारले बस किन्दा चलखेल हुन लागेको आशंका गरेर करिब डेढ वर्ष खेर फालिदिए पनि अब जतिसक्दो छिटो पारदर्शी रुपमा खरिद प्रक्रिया अघि बढाउने साझाको दावी छ ।
– कोरोना बिमामा परेका दाबीमध्ये करिब ४१ हजार २ सय २६ ले भुक्तानी पाएका छन् । ती दाबीउपर ४ अर्ब ५२ लाख ५० हजार रुपैयाँ भुक्तानी भएको नियामक निकाय बिमा समितिले जनाएको छ । कागजात पुगेका कुल दाबीको करिब साढे ५३ प्रतिशत हो । त्यसयता पनि बिमा भुक्तानी भएको छ । यसकारण दाबी भुक्तानी संख्या अझै बढ्ने बिमा कम्पनीहरूको दाबी छ ।
– हुम्ला जिल्लाका पर्यटन तथा होटल व्यवसायीले हिल्सा नाका सञ्चालनमा ल्याउन सरकारसँग माग गरेका छन् । मानसरोवर–कैलाश दर्शन गर्ने सिजन नजिकिएसँगै व्यवसायीले छिट्टै नाका खुला गर्न माग गरेका हुन् ।
– बुटवलमा दोस्रो केवुलकारको शिलान्यास गरिएको छ । बुटवल उपमहानगरपालिका–१ (पारी बुटवल) बाट पाल्पाको नुवाकोट डाँडोसम्म चल्ने सिद्धार्थ केवुलकारको अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरेका हुन् । यसअघि फागुन १ गते बुटवलमै लुम्बिनी केवुलकारको प्रधानमन्त्री केपी शर्मा ओलीले शिलान्यास गरेका थिए । सिद्धार्थ केवुलकार प्रालिले सञ्चालन गर्ने केवुलकार १८ महिनाभित्र सञ्चालनमा ल्याउने लक्ष्य रहेको छ ।
– नेपाल धितोपत्र बोर्डले ज्योति लाइफ इन्सुरेन्स कम्पनीलाई साधारण शेयर बिक्रीको अनुमति दिएको छ । कम्पनीले कूल रु ६६ करोड बराबरको ६६ लाख कित्ता साधारण शेयर बिक्रीको अनुमति पाएको हो । कम्पनीले कूल पूँजीको ३० प्रतिशत बराबरको साधारण शेयर बिक्री गर्न लागेको छ ।
– उपत्यकाको खानेपानीको समस्या समाधानको उपायका रुपमा रहेको मेलम्ची खानेपानी आयोजनाको सुरुङ सोमबार पुनः परीक्षण गरिने भएको छ। सुरुङमा पहिलोपटक पानी पठाएर परीक्षण गरिएको आठ महिनापछि पुनः परीक्षण गर्न लागिएको हो।