– रियालिटी शो बिग बोसको १४औं सिजन रुबिना दिलैकले जितेकी छन् । उक्त जितसँगै रुबिनाले ३४ लाख भारु नगद प्राप्त गरेकी छन्। रुबिनासँगै राहुल वैद्य बिग बोसको फर्स्ट रनर अप बनेका छन् ।
– कोरोनाका कारण सुनसान बनेको विश्वकै दोश्रो ठूलो चलचित्र उद्योग बलिउड विस्तारै पखेटा फिजाउने तयारीमा छ । लकडाउनका कारण नयाँ चलचित्रको रिलिज डेट घोषणा हुन नसक्दा हलमा पुरानै चलचित्र चलिरहेका छन् । तर, अब भने धमाधम बलिउड चलचित्रको रिलिज मिति घोषणा गर्न थालिएको छ । विगत ३ दिनमा मात्र ११ वटा चलचित्रको रिलिज मिति फाइनल गरिएको छ । यसरी घोषणा भएका चलचित्रहरुमा यशराज ब्यानर, टीसीरीज, जैकी भगनानी, दिनेश विजान, धर्मा प्रोडक्शन, रिलायन्स इन्टरटेन्मेन्ट, आनन्द एल राय जस्ता निर्माता र प्रोडक्शन कम्पनीका छन् । ‘सन्दिप और पिंकी फरार’ मार्च १९ मा रिलिज हुने भएको छ । यस्तै, ‘बन्टी और बब्ली २’ अप्रिल २५, ‘बेल बटम’ मे २८, ‘८३’ जुन ४, ‘झुन्ड’ जुन १८, ‘शमशेरा’ जुन २५, ‘शेरशाह’ जुलाई ९, ‘अतरंगी रे’ अगष्ट ६, ‘जयेश भाई जोरदार’ अगष्ट २७, ‘पृथ्वीराज’ नोभेम्बर ५ मा रिलिज हुनेछन् ।
– दक्षिण भारतीय तेलुगु चलचित्र ‘अर्जुन रेड्डी’ले बक्स अफिसमा तहल्का मच्चायो । यो चलचित्रको हिन्दी रिमेक ‘कविर सिंह’ले पनि बक्स अफिसमा धुम मच्चाएको थियो । यो चलचित्रको नेपाली भर्सन बन्ने चर्चा चलेको लामो समय भैसकेको छ । तर, निर्माणपक्षले अहिलेसम्म काम सुरु गर्न सकेको छैन । यो चलचित्रका लागि कहिले नायक हरिहर अधिकारी त कहिले नायक आर्यन सिग्देलको नाम अगाडि नआएको होइन । तर, दुबै जना नायक चलचित्रमा नहुने पक्का जस्तै देखिएको छ । किनकी, यो चलचित्रका लागि लिड कलाकारको खोजी निर्माणपक्षले गरेको छ । विशाल सापकोटाको निर्देशनमा बन्न लागेको यो चलचित्रका लागि मुख्य नायक, नायिका र अन्य कलाकारको अडिसन गरिने बताइएको छ ।
– बलिउड अभिनेता रणवीर सिंह अहिले धेरै फिल्मका कारण चर्चामा छन्। रणवीरको फिल्म ‘सर्कस’ यही वर्ष ३१ डिसेम्बरमा रिलिज हुँदैछ। ताजा खबरअनुसार रोहित सेट्ठीको यो फिल्ममा रणवीरकी पत्नी तथा अभिनेत्री दीपिका पादुकोण पनि देखिने भएकी छन्। रिपोर्टअनुसार ‘सर्कस’ मा दीपिका एक विशेष डान्स नम्बरमा देखिने छिन्।
– नायक दयाहाङ राई र नायिका नम्रता श्रेष्ठले एउटा छोटो चलचित्रमा अभिनय गरेका छन् । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको ‘वरदान’ नामक छोटो चलचित्रमा यी दुई कलाकारले अभिनय गरेका छन् । दया र नम्रता लामो समयपछि एकसाथ पर्दामा देखिन लागेका हुन् । मानसिक स्वास्थ्य र आत्महत्या रोकथामको कथामा यो चलचित्र बनेको छ ।