Sunday, March 7th, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– कैलालीको धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा उपचार गराइरहेका एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । कैलालीको गोदावरी नगरपालिका-२ का ७० वर्षीय कोरोना संक्रमित पुरुषको आज बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारीले जानकारी दिए ।

– बाराको जितपुरसिमरा उपमहानगरपालिका-९ मा रहेको आरती भेजिटेबल तेल उद्योगमा हिजो साँझदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन् । विद्युत सर्ट भएर लागेको आगो अहिलेसम्म नियन्त्रणमा नआएको प्रहरीले जनाएको छ ।

– गोरखाको बारपाक गाउँपालिकामा एकै परिवारका तीन जना मृत भेटिएका छन । लिवाचे टोलका अन्जादी ८५ वर्षका तीलबहादुर गुरुङ, उनकी बुहारी अन्दाजी २० वर्षीया आइतकुमारी गुरुङ र नातिनी १३ वर्षीया उषा गुरुङ सुतेकै ठाउँमा मृत भेटिएका हुन् । बिहान अबेरसम्म घरको ढोका नखोलेपछि गएर हेर्दा उनीहरुलाई मृतअवस्थामा फेला पारेको स्थानीयले बताएका छन् ।

– सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकास्थित आफ्नो मामाको बिहेमा सहभागी हुन अभिभावकसँग आएका एक बालकको नालामा डुबेर मृत्यु भएको छ । नगरपालिकाको वडा नम्बर १ भारदहस्थित मामा घर आएका भारतको बिहार राज्य अन्तर्गत सुपौल जिल्लाको गिदरमारी बस्ने बिनोद मेहताका अढाई वर्षीय छोरा राजेशको आइतबार दिउँसो नालमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

– काठमाडौंको ठमेलबाट बैंकिङ कसुर मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-३ महाराजगञ्जका ४९ वर्षीय सुधिर श्रेष्ठ रहेका छन् । उच्च अदालत पाटनले उनीविरुद्ध पुस २९ गते बैंकिङ कसुर मुद्दामा सात दिन कैद र २१ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।

– वीरगञ्जबाट लागूऔषध नाइट्रोभेट ट्याबलेटसहित एकजना पक्राउ परेका छन् । प्रहरीले वीरगञ्ज -३२ चोर्नी बस्ने २३ वर्षीय हरेन्द्र मण्डललाई पक्राउ गरेको हो । भारतबाट नेपालतर्फ अटोमा आउँदै गरेका मण्डलले बोकेको झोला चेकजाँच गर्ने क्रममा शनिबार दिउँसो वीरगञ्ज-१६ रजतजयन्त्री चोकबाट उनी लागूऔषधसहित पक्राउ परेका हुन् ।

– पछिल्लो २४ घण्टामा थप ८० जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ३२५ जनाको नमुना परीक्षण गर्दा ३३ जना महिला र ४७ जना पुरुष गरी कुल ८० जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ४३१ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ६९ हजार ८७६ जना संक्रमणमुक्त भएका छन् भने कुल २०६१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

– सुर्खेतमा ट्राफिक प्रहरीलाई एक हजार रुपैयाँ घुस दिन खोज्ने मोटरसाइकल चालक पक्राउ परेका छन् । गोठीचौर गाउँपालिका–५, का मोटरसाइक चालक राजकुमार भण्डारी पक्राउ परेका हुन् । उनले वीरेन्द्रनगर–६ सिटीबसपार्कमा चेकजाँचका क्रममा ट्राफिक प्रहरीलाई पैसा दिन खोजेपछि पक्राउ गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलय सुर्खेतका प्रमुखले जानकारी दिए ।

– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुससहित पक्राउ परेका महोत्तरीको गौशलामा कार्यरत सशस्त्र प्रहरीका वरिष्ठ प्रहरी हवल्दार सरबनकुमार बस्नेतविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । अनुसन्धानको क्रममा बस्नेतले सेवाग्राहीसँग १५ हजार रुपैयाँ घुस लिएको पुष्टि हुन आएको दाबी गर्दै अख्तियारले आइतबार उनीविरुद्ध मुद्दा दायर गरेको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*