Sunday, March 7th, 2021
खेलकुद

खेलकुद

– क्रिस्टियानो रोनाल्डोले हेडबाट गरेको दुई गोलमा युभेन्टसले सोमबार इटालीको सिरी ‘ए’ मा पुछारको क्रोटोनलाई ३–० ले हराएको छ । जितपछि युभेन्टसले शीर्ष स्थानको इन्टर मिलानसँगको दूरी आठ अंकमा कायम राख्यो ।

– क्रिस्टियन बेनटेकले खेल सकिनु केही क्षणअगाडि मात्र गरेको गोलमा क्रिस्टल प्यालेसले इङ्लिस प्रिमियर लिगमा सोमबार ब्राइटनलाई २–१ ले पराजित गरेको छ । घरेलु मैदानमा अधिकांश समय खेल आफ्नो नियन्त्रणमा राखेर पनि ब्राइटन पराजित भएको हो ।

– राष्ट्रिय भलिबल टोलीले अब स्पेनिस खेल सामग्री उत्पादन कम्पनीका सामग्री प्रयोग गर्ने भएको छ । केल्मीका लागि नेपाली आधिकारिक विक्रेता कामारू ट्रेडिङका प्रबन्ध निर्देशक प्रदीप न्यौपाने र नेपाल भलिबल संघका अध्यक्ष मनोरञ्जन रमण शर्माबीच सोमबार दुईवर्षे सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।

– तेस्रो संस्करणको सहिद स्मृति राष्ट्रिय फुटबल प्रतियोगिता–२०७७ फागुन अन्तिम साताबाट हेटौंडामा सञ्चालन हुने भएको छ । जिल्लाका दशवटा स्थानीय तहको सहयोगमा मकवानपुर जिल्ला फुटबल संघद्वारा आयोजित प्रतियोगितामा देशभरका चर्चित १० वटा क्लबको सहभागिता रहनेछ । फागुन २७ गतेदेखि चैत ७ गतेसम्म हेटौंडा–१० स्थित वन विज्ञान खेल मैदानमा हुने प्रतियोगिताको विजेताले नगद १० लाख रुपैयाँ र उपविजेताले ५ लाख रुपैयाँ प्राप्त गर्ने संघ अध्यक्षले जानकारी दिए ।

– सेभिया स्पानिस ला लिगाको अंक तालिकामा तेस्रो स्थानमा उक्लेको छ । सोमबार राति भएको खेलमा ओसासुनालाई २-० ले पराजित गर्दै सेभियाले बार्सिलोनालाई पछि पारेको हो । सेभियालाई जित दिलाउन डिएगो कार्लोस र लुक डी जोङले एक-एक गोल गरे ।

– वैशाखको दोस्रो साता नेपाल सुपर लिग (एनएसएल) हुने भएको छ । नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसईएम) को आयोजना र अखिल नेपाल फुटबल संघ (एन्फा) को प्राविधिक सहयोगमा नेपाली फुटबलमा पहिलो पल्ट फ्रेन्चाइज लिग हुन लागेको हो । प्रतियोगिता वैशाख ११ देखि २५ सम्म हुनेछ ।

– घरेलु टोली न्युजिल्याण्डले अष्ट्रेलिया विरुद्धको पहिलो टी-२० क्रिकेट जितेको छ । जितपछि पाँच खेलको सिरिजमा न्युजिल्याण्डले १-० को अग्रता बनाएको छ । हाग्ले ओभलमा सोमबार भएको खेलमा न्युजिल्याण्डले अष्ट्रेलियालाई ५३ रनले पराजित गरेको हो । न्युजिल्याण्डको जितमा डेभिड कोनवेले अविजित ९९ रन बनाए भने इश सोधीले ४ विकेट लिए ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*