Wednesday, March 3rd, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– कर्णालीमा पनि बर्डफ्लु (एच५एन८) देखिएको छ । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१२ मा बर्डफ्लु पुष्टि भएको पशु सेवा विभागले जानकारी दिएको छ । किसानले पालेका स्थानीय कुखुराको नमुना केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्डफ्लु पुष्टि भएको हो ।

– दाङको तुलसीपुरमा जीपले अटोलाई ठक्कर दिँदा अटो चालकको ज्यान गएको छ । पाँच जना घाइते भएका छन् । जीपको ठक्करबाट गम्भीर घाइते भएका शान्तिनगर गाउँपालिका(१ पेदीखोलाका ३० वर्षीय रमेश विकको हिजोराति बाँकेको कोहलपुरमा ज्यान गएको प्रहरीले जनाएको छ ।

– जिल्ला अदालत मोरङ परिसरबाट दुई जना थुनुवा फरार भएका छन् । लागुऔषध मुद्दामा प्रहरीले म्याद थपका लागि लगेका दुई जना थुनुवा म्याद थप भइसकेपछि अदालत परिसरबाट फरार भएका हुन् । प्रहरीले मोरङको कटहरी गाउँपालिका-४ का ३७ वर्षीय मुुराज भनिने मनराज शेख र झापाको बिर्तामोड नगरपालिका-५ का २० वर्षीय प्रकाश चौधरीलाई लागूऔषधसहित पक्राउ गरेको थियो । लागुऔषध मुद्दामा अदालतबाट पाँच दिनको म्याद थप भएपछि हतकडीसहित उनीहरु भागेको प्रहरीले बताएको छ ।

– कञ्चनपुरको बेलौरी नगरपालिका–६ भुरकोटकी एक महिलाले फरुवा प्रहार गरी श्रीमानको हत्या गरेकी छन् । आज बिहान २८ वर्षीया वसन्ती चौधरीले ३० वर्षीय श्रीमान् ओमकुमार चौधरीको फरुवा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

– सिरहाको कर्जन्हा नगरपालिका-४ बस्तिपुरमा बस दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । बिग्रिएर सडकमा रोकीराखेको ट्रकमा लहानबाट ढल्केबरतर्फ आउँदै गरेको बस गएराति पौने १२ बजे ठोक्किएको थियो । ट्रक चालक फरार रहेकाले खोजी भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

– आफ्नै ससुराको हत्या आरोपमा पक्राउ परेकी बुहारीलाई गुल्मी प्रहरीले सोमबार सार्वजनिक गरेको छ । ससुराको हत्या आरोपमा पक्राउ परेकी रुरुक्षेत्र गाउँपालिका–३ की ४२ वर्षीया मनकला ज्ञवालीलाई प्रहरीले पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

– लमजुङको एक जंगलमा आगलागी भएको तीन दिनमा बल्ल नियन्त्रणमा आएको छ । गत शनिबार दिउँसोबाट आगलागी भएको लमजुङको बेँसीशहर नगरपालिका–६ रहेको शान्ति, सुलीकोट र भोटेचौर सामुदायिक वनको जङ्गलको लागेको आगो आज बल्ल नियन्त्रण आएको हो ।

– पछिल्लो २४ घण्टामा थप १२५ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ३ हजार ६८१ जनाको नमुना परीक्षण गर्दा ४४ जना महिला र ८१ जना पुरुष गरी कुल १२५ जनामा संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमित संख्या २ लाख ७३ हजार ५५६ जना पुगेको छ । उनीहरु मध्ये २ लाख ६९ हजार ९६६ जना संक्रमणमुक्त भएका छन् भने कुल २०६१ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

– सप्तरीबाट सशस्त्र प्रहरीको टोलीले भारतबाट लागूऔषध ल्याउँदै गरेका तीन जना युवकलाई पक्राउ गरेको छ । भारतबाट लागूऔषध बोकेर पैदल आउँदै गरेका उनीहरुलाई तिलाठी कोइलाडी गाउँपलिका वडा नम्बर १ बेल्हीबाट सोमबार दिउँसो पक्राउ गरिएको सशस्त्र प्रहरी उपरीक्षकले जानकारी दिए । पक्राउ पर्नेमा मोरङको पथरी निवासी २३ वर्षीय निर्मल परियार, २५ वर्षीय करण लिम्बु र सोही उमेरका करण तामङ छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*