Wednesday, April 14th, 2021
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– बैंकिङ कसुरसम्बन्धी अपराधमा बैंक तथा वित्तीय संस्थाकै कर्मचारीको संलग्नता धेरै रहेको भेटिएको छ । पछिल्लो पाँच वर्षमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेका बैंकिङ कसुरसम्बन्धी मुद्दामा यस्तो देखिएको हो ।

– होटेल उद्योगले मासिक १ अर्ब ८० करोड रुपैयाँ बराबरको घाटा बेहोर्नु परिरहेको व्यवसायीले बताएका छन् । होटेल संघ नेपाल (हान)ले संकलन गरेको तथ्यांक अनुसार यस्तो आंकडा आएको हो । संघका अध्यक्षका अनुसार कोरोना भाइरसको महामारी र यसले पर्यटक आगमनमा पारेको प्रभावका कारण यस्तो क्षति हुन पुगेको हो ।

– निजी क्षेत्रको प्रयासबाट पहिलो पटक नेपालगन्ज–पोखरा र पोखरा–नेपालगन्ज सुरु गरिएको उडान सेवा थपिएको छ । पश्चिम नेपालको बाँके र बर्दियालाई प्रमुख पर्यटकीय नगर पोखरासँग जोड्ने उद्देश्यले एक महिनाअघि सुरु गरिएको नेपालगन्ज–पोखरा हवाई उडानमा यात्री बढ्दै गएपछि उडान संख्या थपिएको हो ।

– नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । पेट्रोल र डिजलरमट्टीतेलको साविक मूल्यमा प्रतिलिटर २ रुपैयाँ बढेको हो । अब पेट्रोलको प्रतिलिटर मूल्य १२० र डिजलरमट्टीतेलको १०३ रूपैयाँ कायम भएको छ । गत चैत ३ गते पनि निगमले मूल्य बढाएको थियो ।

– लोडसेडिङका बेला उद्योगहरूले महँगो शुल्क तिर्ने सर्तसहित उपभोग गरेको डेडिकेटेड र ट्रंक लाइनबापतको महसुल एक महिनाभित्र असुल्न संसद्को सार्वजनिक लेखा समितिले सरकारलाई निर्देशन दिएको छ । लेखा समिति बैठकले आइतबार एक महिनाभित्र बक्यौता असुल्न निर्देशन दिएको हो ।

– वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले राजेश हार्डवेयरलाई ३ लाख रुपैयाँ जरिवाना गरेको छ । उक्त हार्डवेयरले कम तौलको फलामरडन्डी बिक्री गरेको अभियोगमा विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को दफा १६ उपदफा २ (कं) बमोजिम जरिवाना गरेको हो ।

– गोल्छा ग्रुपले २ मेगावाट सौर्य उर्जा उत्पादन गर्न नेपाल विद्युत प्राधिकरणसँग पीपीए (पावर पर्चेज एग्रिमेन्ट)मा हस्ताक्षर गरेको छ । यस सम्झौतामा नेपाल विद्युत प्राधिकरणका तर्फबाट प्रबन्ध निर्देशक हितेन्द्र देव शाक्य र गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाले हस्ताक्षर गरेका छन् ।

– सेयर बजारमा नेप्से परिसूचक र बजार पुँजीकरणले आइतबार नयाँ रेकर्ड बनाएका छन् । यसअनुसार नेप्से परिसूचक २ हजार ६ सय ५७.७१ विन्दुमा पुगेको छ । अघिल्लो दिनको तुलनामा आइतबार नेप्से करिब २६ अंक बढेको हो । यसअघि गत फागुन ९ मा नेप्से उच्च २ हजार ६ सय ४० विन्दुमा पुगेर ओरालो लागेको थियो । आइतबार उक्त विन्दु पनि पार गरेर नयाँ रेकर्ड बनाएको हो ।

– खान अयोग्य प्रमाणित भएपछि राजस्व अनुसन्धान कार्यालय पथलैयाले ७२ हजार किलो चिनी नष्ट गर्ने भएको छ । लिलाम प्रायोजनका लागि नमुना परीक्षण गर्दा चिनी खान आयोग्य प्रमाणित भएपछि नष्ट गर्न लागिएको हो । लिलाम परियोजनका लागि राजस्व अनुसन्धान कार्यालय पथलैयाले खाद्य तथा गुण नियन्त्रण कार्यालय जनकपुरमा गुणस्तर परीक्षण गराएको थियो । जनकपुरबाट चिनी खानका लागि अयोग्य रहेको रिपोर्ट आएकाले नष्ट गर्ने प्रक्रिया शुरु गरिएको कार्यालयले जनाएको छ । चिनी लिलाम बिक्री प्रक्रियाका लागि राजस्वले फागुन १३ गते नमुना परीक्षणका लागि जनकपुर पठाएको थियो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*