Wednesday, April 14th, 2021
राजनीतिमा आज

राजनीतिमा आज

– नेकपा माओवादी केन्द्रले प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध दर्ता गराएको अविश्वासको प्रस्ताव फिर्ता लिने भएको छ । आज दिउँसो २ बजे बस्ने प्रदेश १ को प्रदेशसभाको सातौं हिउँदे अधिवेशनको चौथो बैठकबाट माओवादी केन्द्रले औपचारिक रुपमा प्रस्ताव फिर्ता लिने भएको हो ।

– प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजना मन्त्री टंक आङ्बुहाङलाई नेकपा माओवादी केन्द्रले सांसद पदबाट हटाएको छ । संसदीय दलको नेतृत्व छाडेर एमाले प्रदेश गर्दै मन्त्री बनेका आङ्बुहाङलाई माओवादी केन्द्रले सासद्बाट हटाएको हो । सांसदबाट हटाएको जानकारी आजै प्रदेशसभालाई जानकारी दिने माओवादी केन्द्रको तयारी छ ।

– कोरोना संक्रमण फैलिने खतरा बढेपछि स्थानीय प्रशासनले भक्तपुरको प्रसिद्ध बिस्केट जात्रामा यस वर्ष पनि रोक लगाएको छ । स्थानीयले बिस्केट जात्रामा तानिने रथ निर्माणको काम जारी राखेको बेला स्थानीय प्रशासनले जात्रामा रोक लगाउने निर्णय गरेको हो ।

– जनता समाजवादी पार्टी (जसपा)ले साथ दिने सङ्केत नदेखाएपछि वैकल्पिक सरकार बनाउने तयारीमा लागेका कांग्रेस र माओवादी केन्द्र अलमलमा परेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीलाई हटाएर नयाँ सरकार बनाउन कांग्रेस र माओवादी केन्द्रका नेताहरुले जसपाका अध्यक्ष महन्थ ठाकुर र नेता राजेन्द्र महतोलाई फकाउने प्रयास गरिरहेका छन् । तर ठाकुर र महतो ओली नेतृत्वको सरकारको विकल्प खोज्ने पक्षमा अझै देखिएका छैनन् । जसपाभित्रै उपेन्द्र यादव र डाक्टर बाबुराम भट्टराई भने पहिलेदेखि नै ओलीको विकल्प खोज्नुपर्ने पक्षमा छन् ।

– नेकपा एमाले कर्णाली प्रदेश सरकारबाट बाहिरिने भएको छ । संसदीय दलको आइतबार बसेको बैठकले मुख्यमन्त्री महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा रहेका तीन मन्त्रीलाई तत्काल राजीनामा दिन निर्देशन दिएको छ । एमालेमा माधवकुमार नेपाल पक्षमा रहेका प्रकाश ज्वाला आर्थिक मामिला, दल रावल सामाजिक विकास र नन्दसिंह बुढा वन तथा वातावरणमन्त्री छन् ।

– माओवादी केन्द्रले पार्टी परिवर्तन गरेका प्रदेश १, लुम्बिनी र कर्णाली प्रदेशसभाका चार सांसदलाई कारबाही प्रक्रिया अघि बढाएको छ । माओवादीले एमालेतिर लागेका प्रदेश १ का टंक आङ्बोहाङ, लुम्बिनीका दधिराम न्यौपाने र दिनेश पन्थी तथा कर्णालीका धर्मराज रेग्मीलाई प्रदेशसभा सदस्यबाट हटाउन लागेको हो ।

– नेपाली सेनाका अवकाश प्राप्त प्रधानसेनापति अर्जुननरसिंह राणाको आइतबार बेलुकी निधन भएको छ । उनको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा कोभिड–१९ संक्रमणपश्चात् भएको निमोनियाका कारण ९१ वर्षको उमेरमा मृत्यु भएको नेपाली सेनाले जनाएको छ ।

– सभामुख अग्निप्रसाद सापकोटाले गोलबजार नगरपालिका–१ सिरहाकी जानकीदेवी रामलाई प्रतिनिधिसभा सदस्यको पद तथा गोपनियताको शपथ खुवाएका छन्। सभामुख सापकोटाले सिंहदरबारस्थित संघीय संसद् सचिवालयमा आइतबार आयोजित कार्यक्रममा उनलाई पद तथा गोपनियताको शपथ खुवाएका हुन्।

– पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा. डुकबहादुर क्षेत्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार प्रतिष्ठानको उपकुलपतिमा क्षेत्रीलाई नियुक्त गरेका हुन् । सहकुलपति एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेस त्रिपाठीको संयोजकत्वमा बनेको सिफारिस समितिले गरेको सिफारिसका प्रधानमन्त्रीले नियुक्त गरे । सिफारिस समितिले १ नम्बरमा क्षेत्रीको नाम सिफारिस गरेको थियो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*