Wednesday, April 14th, 2021
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– चलचित्र निर्देशक समाजको साधारण सभामा ९२ बर्षीय निर्देशक तथा निर्माता हेमबहादुर लामालाई लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ । चलचित्र विकास बोर्डको हलमा आयोजित कार्यक्रममा लामासहित अन्य केही निर्देशकलाई पनि सम्मान गरिएको थियो । लामाले चलचित्र ‘आदर्श नारी’को निर्माण तथा निर्देशन गरेका थिए । कार्यक्रममा निर्देशक यूवराज लामा, रमेश वुढाथोकी, प्रकाश सायमी, नारायण पुरीलाई सम्मान गरिएको थियो ।

– नेपाली चलचित्र क्षेत्रमा ‘रणवीर’बाट नायिकाको रुपमा उदाएकी सुपुष्पा भट्ट चलचित्र ‘चपली हाइट ३’ रिलिजको प्रतिक्षामा छिन् । तर, लकडाउनका कारण चलचित्रको रिलिज मिति पोष्टपोन्ड भएको एक बर्ष भैसकेको छ । यो चलचित्र रिलिज नहुँदा सुपुष्पाको करिअर अगाडि बढ्न गाह्रो भैरहेको छ । तर, उनै सुपुष्पा यतिबेला भने एक निर्माताको प्रेममा रहेकी छिन् । नायिका सुपुष्पा भट्ट चलचित्र ‘कबड्डी’का निर्माता रौनक विक्रम कँडेलको प्रेममा रहेकी छिन् । सुपुष्पाले अहिले आफूहरुको इन्गेजमेन्ट र बिहेको कुरा भने नभएको बताएकी छिन् ।

– अन्तर्राष्ट्रिय खुल्ला मगर एकल अनलाईन नृत्य प्रतियोगिताको उपाधी ६ वर्षीय स्टेसी आले मगरले हात पारेकी छिन् । ७चैतबाट सुरु भएको प्रतियोगितामा गोर्खा घर भई हाल चितवन बस्दै आएकी स्टेसीले उपाधी जितेकी हुन्। बुबा कुश आले मगर र आमा तुल्सी थापाको सन्तानका रुपमा जन्मिएकी स्टेसीको अभिनयसहितको नृत्यले दर्शकको मन जितेको हो ।

– गायिका टीका प्रसाईं र गायक वीरेन्द्र श्रेष्ठको स्वरमा समावेश ‘फूल फुल्यो केसरी’ बोलको गीत सार्वजनिक भएको छ । अमेरिकामा बस्दै आएका पुष्कर पन्तको शब्द र राहुल प्रधानको संगीत रहेको गीतको भिडियोलाई किरण मगरले निर्देशन गरेका हुन् । मगरकै कोरियोग्राफी रहेको भिडियोमा सुदिप बिष्टको छायांकन र सम्पादन छ । भिडियोमा निक्की श्रेष्ठ, किरण मगरलगायतको अभिनय रहेको छ ।

– ‘ओए’को सफलतापछि ‘ओए २’ सार्वजनिक भएको छ । ‘फ्याट्टै’ बोलको गीतमा नविन रावल, बादल थापा र स्मिता दाहालको स्वर, नविन रावलको संगीत, मिलन बिष्टको शब्द छ । भिडियोमा राहुल शाह, सरोज अधिकारी, आश्मा विश्वकर्मा, जिवेश गुरुङ लगायतको अभिनय हेर्न सकिनछ । भिडियोमा राहुल शाहको कोरियोग्राफी तथा निर्देशन छ

– गायक समिर आचार्य र गायिका विद्या तिवारीको ‘भात खाएर हो’ सार्वजनिक भएको छ । समिरकै शब्द तथा संगीतमा तयार भएको यो गीतको भिडियोको छायांकन अष्ट्रेलियामै गरिएको छ । भिडियोमा अष्ट्रेलियाको डान्स क्रु ‘दि नेक्ट’को नृत्य गर्न सकिन्छ । अमित बज्रचार्यको कन्सेप्ट तथा कथामा तयार भएको यो भिडियोमा अमृत बज्रचार्य, राजीव शेरचन, सयूज श्रेष्ठ, अभियान थापाको स्क्रिप्ट छ । अभियान थापाले यो भिडियोको छायांकन, निर्देशन, सम्पादन गरेका हुन् ।

– कलाकार मुकुन भुषालको चलचित्रमा व्यस्तता लोभलाग्दो छ । धेरै नायकहरुले चलचित्रमा काम नपाइरहेको समयमा मुकुनले भने एकपछि अर्को चलचित्रमा काम गरिरहेका छन् । चलचित्र ‘बुलबुल’मा काम गरेपछि मुकुनको कामको सर्वत्र प्रशंसा भएको हो । लकडाउनपछि उनको ‘के माया लाग्छ र’ बोलको गीतको म्यूजिक भिडियो पनि सार्वजनिक भयो । यो गीतले पनि धमाका नै मच्चायो । तर, मुकुन भने चलचित्रमा नै बढी जमिरहेका छन् । मुकुनले चलचित्र ‘गणपति’को छायांकन सकाएका छन् । यो चलचित्रमा उनी नायिका मेनुका प्रधानसँग जोडी बनेर देखिदैछन् । मुकुनले बसन्त निरौलाको निर्देशनमा बनेको एक सिरिजमा पनि काम गरे । यो सिरिज कहिले सार्वजनिक हुन्छ पक्का छैन । उनै, मुकुनले चलचित्र ‘भाडाकुटी’ पनि साइन गरिसकेका छन् । चलचित्रको छायांकन भने सुरु हुन सकेको छैन । मुकुन अब निर्देशक रमेश वुढाथोकीको चलचित्र ‘सुदुर’मा काम गर्ने तयारीमा छन् ।

– नायिका नीता ढुंगानाले निर्माण तथा निर्देशन गर्न लागेको वेव सिरिज ‘श्रीमद्भागवत गीता’को घोषणा गरिएको छ । वेव सिरिजको घोषणासँगै यसको सांगीतिक टिम पनि सार्वजनिक गरिएको छ । नीता फिल्मसको दोश्रो प्रस्तुतिको रुपमा निर्माण हुन लागेको यो वेव सिरिजमा शीतल गिरीको शब्द, पुष्पन प्रधानको संगीत तथा स्वर रहनेछ । कार्यक्रममा बोल्दै नायिका नीता ढुंगानाले नेपालमा पहिलो पटक भन्न लागेको ‘श्रीमद्भागवत गीता’को सिरिजमा महाभारतको कृष्ण र अर्जुनको पाटो मात्र समावेश हुने पत्रकार सम्मेलनमा बताइन् । गीतामा रहेक ७०० श्लोकबाट ४५ भागको सिरिज निर्माण हुनेछ ।

– निर्माता भुषण कुमार र अहमेद खानले नायिका श्रद्धा कपुरलाई चलचित्र ‘चालबाज’मा दोहोरो भूमिकाका लागि अनुवन्धित गरेका छन् । यो चलचित्रलाई टी–सिरिज र डल इन्टरटेन्मेन्टले संयुक्त रुपमा निर्माण गर्नेछ ।श्रद्धाले पहिलो पटक चलचित्रको पर्दामा दोहोरो भूमिका निर्वाह गर्न लागेकी हुन् । पंकज पारासरको निर्देशनमा बन्ने यो चलचित्रलाई लिएर श्रद्धा उत्साहित छिन् । पंकजले सन् १९८९ मा नायिका श्रीदेवीलाई मुख्य भूमिकामा राखेर ‘चालबाज’कै निर्देशन गरेका थिए ।

– बलिउड नायक अक्षय कुमारले आफूलाई कोरोना पोजिटिभ भएको बताएका छन् । अक्षयले आफूलाई कोरोना पोजिटिभ देखिएको भन्दै आफ्नो सम्पर्कमा आउने सबैलाई टेष्ट गर्नका लागि आग्रह गरेका छन् । भारतमा दोश्रो चरणको कोरोनाको लहर सुरु भएसँगै नायक रणवीर कपुर, आमिर खान, नायिका आलिया भट्ट लगायतका कलाकारलाई कोरोना पोजिटिभ देखिएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*