– मनकामना केबुलकार ६ दिन बन्द हुने भएको छ । स्तरोन्नतिको पहिलो चरणको कामका लागि यही चैत २५ देखि ३० गतेसम्म बन्द गरिने भएको हो । केबुलकारको स्तरोन्नतिको पहिलो चरण मध्येको कार्यअनुसार बुल ह्विल बेरिङ नयाँ फेर्नाका साथै बुल ह्विल र अन्य मर्मतसम्भारका लागि केबुलकार बन्द गर्न लागिएको मनकामना दर्शन प्रालिका नायब महाप्रबन्धकले जानकारी दिए । केबुलकार चैत ३१ गतेदेखि पुनःनियमित सञ्चालनमा आउने छ ।
– सरकारले मुलुकका विभिन्न भागमा निर्माणाधीन २७ वटा नयाँ सहरका लागि ५० अर्ब रुपैयाँ आवश्यक पर्ने जनाएको छ । मध्यपहाडी लोकमार्गमा पर्ने १२, हुलाकी राजमार्गमा पर्ने १० र तराई मधेसमा पर्ने ५ सहरलाई अत्याधुनिक, प्रविधियुक्त र सुविधायुक्त बनाउन उक्त रकम चाहिने भएको हो ।
– नेपाल पर्यटन बोर्डले देशभरका होटल व्यवसायीको क्षमता अभिवृद्धिमा सहयोग गर्ने भएको छ । पर्यटन बोर्ड र होटल व्यवसायी महासंघको आयोजनामा काठमाडौमा आयोजित दुई दिने हस्पिटालिटी म्याजनेजमेन्ट सम्बन्धी तालीम समापनका अवसरमा बोर्डका कार्यकारी प्रमुखले यस्तो जानकारी गराएका हुन् ।
– कारबाही गर्नु नपर्ने सहकारी भेटिन मुस्किल हुन थालेको छ। सहकारी ऐन, नियम र कानुनभन्दा बाहिर गएर सञ्चालन हुन थालेपछि सहकारीका समस्या विकराल बन्दै गएको छ। सहकारी विभागका अनुसार देशभर ३० हजार सहकारी छन् तर विभागमा ३३ कर्मचारीमात्रै कार्यरत छन्। दक्ष कर्मचारी नहुँदा नियमन गर्न समस्या भएको स्वीकारोक्ति छ। सहकारी विभागका उपरजिस्ट्रार सुरेन्द्र पौडेलले सबै सहकारीको नियमन गर्न नसकिने बताए।
– सेयर बजारमा सूचना चुहाएर गत साता गरिएको अजोड इन्स्योरेन्सको सेयर कारोबार सम्बन्धमा छानबिन गर्न अर्थ मन्त्रालयले धितोपत्र बोर्डलाई निर्देशन दिएको छ । मन्त्रालयले सोमबार बोर्डलाई पठाएको पत्रमा ‘भित्री सूचना चुहाएर गरिएको अजोड इन्स्योरेन्सको कारोबार सम्बन्धमा व्यापक जनगुनासो आएकाले त्यसको अध्ययन गरी अविलम्ब जानकारी गराउनू’ भनिएको छ । निर्देशनको बोधार्थ नेपाल स्टक एक्सचेञ्ज (नेप्से) लाई पनि पठाइएको छ ।
– कतारले मार्चदेखि विदेशी कामदारलाई न्यूनतम पारिश्रमिक ३० हजार रुपैयाँ दिन थालेको छ। पारिश्रमिक बढेपछि त्यहाँ कार्यरत साढे ४ लाख नेपालीले राहत महसुस गरेका छन्। तर, खाडीका अन्य मुलुक र मलेसियामा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक तोकिएको छैन।