Wednesday, April 14th, 2021
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– कैलालीको भजनी नगरपालिका मोरियाघाटस्थित नेपाल–भारत सीमा नाकामा सोमबार साँझ लागुऔषधका भारतीय तस्कर र नेपाल प्रहरीबीच गोली हानाहान भएको छ । सो क्षेत्रमा ठूलो मात्रामा लागुऔषध भित्रिन लागेको भन्ने सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी नायब उपरीक्षक प्रेम शाहीको नेतृत्वमा खटिएको प्रहरी टोली र भारतीय तस्करबीच गोली हानाहान भएको हो ।

– पाल्पाको तानसेन नगरपालिका–७ काजीपौवास्थितभित्री कच्ची सडकखण्डमा कुखुरा बोक्ने पिकअप जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । गए राति करिब साढे १२ बजे पिकअप जीप कुखरा ल्याउँदै गर्दा अचानक सडकदेखि करिब २० मिटर तल खसेर चालक बगनासकाली गाउँपालिका–४ का २० वर्षीय विजय खाम्चा र रिब्दीकोट–४ का २७ वर्षीय राज थापाको मृत्यु भएको छ।

– मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१० भुटनदेवी मोडमा दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१० का १७ वर्षीय सगुन रुम्बा छन् । उनको उपचारका क्रममा सोमबार चितवनमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनामा तीनजना घाइते भएको र उनीहरुको हेटौंडामा उपचार भइरहेको प्रहरी कार्यालयका प्रवक्ता जयश्वर रिमालले जानकारी दिए ।

– नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थको मूल्य वृद्धिको विरोधमा नेपाल आयल निगमको केन्द्रीय कार्यालय अगाडि धर्ना दिएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर दुई रुपैयाँका दरले मूल्य वृद्धि गरेपछि नेविसंघले सोमबार धर्ना दिएको हो ।

– संरक्षित वन्यजन्तुको आखेटोपहारसहित तीनजना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले काठमाडौँको कागेश्वरी मनहरा नगरपालिका-६ झुलपाखाबाट संरक्षित वन्यजन्तु चितुवाको जस्तो देखिने छाला (आखेटोपहार)सहित तीनजनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा जितपुर सिमरा उप(महानगरपालिका ३४ वर्षीया फुलमाया तामाङ, गुल्मी साविक जुभुङ्ग गा।वि।स। ८ का ३२ वर्षीय शिव पल्ली र रामेछाप दोरम्बा गाँउपालिका २का २२ वर्षीय पासाङ टसी तामाङ रहेका छन्।

– बेलायती सेनाका भूतपूर्व सैनिकहरुले फेरि आन्दोलन गर्ने भएका छन् । बेलायती सेनामा रहेका बेलायती नागरिक र नेपाली नागरिकबीच भइरहेको भेदभावका विरुद्ध आन्दोलन गर्दै आएको ब्रिटिश गोर्खाहरुको संघर्ष समितिले पुनः आन्दोलन चर्काउने भएको छ ।

– माइतीमा छोरी रोकेको निहुँमा दैलेखमा एक ज्वाइँले सासु–ससुरालाई खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका छन्। नौमूले गाउँपालिका–४ कालिकाको कुइने टोलका ६३ वर्षीय ससुरा झपिलाल रोकामगर र ५५ वर्षीया सासु लालसरी रोकामगर माथि खुकुरी प्रहार भएको हो।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*