Wednesday, April 14th, 2021
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– एमाले प्रवेश गरेको १८ दिनमै व्यवसायी किशोर प्रधानलाई सरकारले नियुक्ति उपहार दिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले मंगलबार मोरङका किशोरकुमार प्रधानलाई नेपाल वायुसेवा निगमको सञ्चालकमा नियुक्त गरेको मन्त्री ढकालको सचिवालयले जानकारी गराएको छ ।

– बिमा समितिको पूर्वस्वीकृतिबिना बिमा कम्पनीहरूले हकप्रद सेयर निष्कासन गर्न नपाउने भएका छन् । मंगलबार बिमा समितिले बिमा कम्पनी र पुनर्बिमा कम्पनीलाई यससम्बन्धी निर्देशन दिएको हो । बिमा कम्पनीहरूमा मनपरी रूपमा हकप्रद सेयर निष्कासन गर्ने प्रवृत्ति बढेपछि उक्त निर्देशन दिइएको समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले जानकारी दिए ।

– स्वचलित सूचना आदान प्रदान गर्दै पेपर फ्रि व्यापार प्रणालीको विकास गर्न भन्सार विभागले तयारी थालेको छ । त्यसैक्रममा सूचना आदान प्रदानको थलो वेवसाइट निर्माण गरिएको छ । अन्तर्राष्ट्रिय व्यापार तथा पारवहनसँग सम्बन्धित सबै सम्बद्ध पक्षहरुले आयात, निर्यात तथा पारवनसम्बन्धि सम्पूर्ण कागजात तथा सूचना एकै पटक एकै प्रवेश विन्दुबाट दिने, विभिन्न निकायमा कानुनी औपचारिकता पुरा गर्न वा निर्णयका लागि पेश भएका व्यापारिक घोषणाहरुको बारेमा भएका निर्णयहरु समेत सोही एप्लीकेसनले आवेदकसम्म पुर्याउने व्यवस्था यसमा छ।

– अजोड इन्स्योरेन्सलाई हकप्रद निष्कासन गराउन नियामक निकायले रोक लगाउने भएको छ । इन्साइडर ट्रेडिङ भएको उजुरी परेपछि बीमा समितिले हकप्रद निष्कासनमै रोक लगाइदिने भएको हो । आगामी साधारणसभामा हकप्रद निष्कासनको प्रस्ताव नै नलैजान निर्देशन दिइएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले जानकारी दिए । उनका अनुसार अब कम्पनीले यस वर्ष हकप्रद निष्कासन नै गर्न पाउने छैन ।

– कोभिड–१९ ले सुस्ताएको जग्गाको कारोबार संख्या बिस्तारै बढ्दै गएको छ । भूमि व्यवस्था विभागको तथ्यांकअनुसार आर्थिक वर्ष २०७६/७७ र २०७७/७८ का आठ महिनासम्म भएका जग्गा कारोबारको तुलना गर्दा जग्गा कारोबार बढेको छ ।

– एक वर्ष लामो पूर्ण बन्देज हटेसँगै केराउ, मरिच, छोकडा र सुपारी आयात गर्न व्यापारीहरुले वाणिज्य विभागमा निवेदन दिन थालेका छन् । आयात कोटा निर्धारण भएको दुई सातामै ती वस्तुहरुको आयात गर्न १९ गुणा परिमाण बराबरको निवेदन परेको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जनाएको छ । चैत ९ गतेको मन्त्रिपरिषद् बैठकले उक्त वस्तुको प्रतिबन्धमा परिमाण कोटा तोकेको थियो ।

– सरकारले हानिकारक मेहेन्दी र कस्मेटिक उत्पादन गरी बिक्री गर्ने हबिब काला कोकिला हिनाज उद्योगमा सिलबन्दी गरेको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र महानगरीय प्रहरी अपराध महाशाखाको संयुक्त अनुगमनमा उक्त उद्योगको उत्पादनस्थल, भण्डारण तथा बिक्री स्थलहरू सिलबन्दी गरिएको हो । त्यसक्रमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

– भैरहवामा लुम्बिनी प्रदेशकै ठूलो वाटरपार्क सञ्चालनमा आएको छ। पाँचजना युवा उद्यमीको ४५ करोड लगानीमा सिद्धार्थनगर नगरपालिका-१ डण्डापुल नजिकै साढे ६ विघा क्षेत्रफलमा लुम्बिनी अम्युजमेन्ट पार्क एण्ड रिसोर्ट सञ्चालनमा आएको हो। दोस्रो चरणमा दशहजार वर्गमिटरको बहुउद्देश्य हल, रेष्टुरेन्टसहित रिसोर्ट सञ्चालनमा ल्याउन थप ५५ करोड लगानी गर्ने योजना रहेको प्रालिले जनाएको छ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*