Wednesday, April 14th, 2021
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– सुनको भाउ आज एक हजार रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा ८९ हजार रुपैयाँ कायम गरिएको छ । सुनको भाउ हिजो पनि तोलामा ५ सय रुपैयाँले बढेर ८८ हजार रुपैयाँ पुगेको थियो । हिजो बढेको भाउमा आज फेरि एक हजार रुपैयाँ बढेको हो । यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । हिजो तोलामा १२ सय ४५ रुपैयाँ कायम भएको चाँदीको भाउ आज १२ सय ६० रुपैयाँमा पुगेको छ ।

– नेपाल ट्रष्ट कमलादीस्थित काठमाडौं प्लाजा खाली गर्न अन्तिम पटक भन्दै चेतावनी दिएको छ । गत असार ३ मा नै खाली भइसक्नुपर्ने काठमाडौं प्लाजामा विवाद नसल्टएपिछि ट्रस्टले सूचना जारी गर्दै चैत ३१भित्र खाली गर्न भन्दै सूचना जारी गरेको छ । कानुनअनुसार भवन खाली गराउँदा हुने क्षतिको जिम्मेवार स्वयम् व्यवसायी नै हुने ट्रष्टले बताएको छ ।

– बालाजुस्थित राजेश हार्डवेयरले कम तौलका फलामे डन्डी बिक्री गरेर उपभोक्ता ठगेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, गुणस्तर तथा नापतौल विभाग र प्रहरीसहितको टोलीले शनिबार बालाजुको स्टर सिलबन्दी गर्यो । बिलमा तोकिएको परिमाणभन्दा १० देखि १५ प्रतिशतसम्म कम परिमाण उपलब्ध गराइएको आरोपमा आइतबार ३ लाख रुपैयाँ जरिवाना गर्यो ।

– जोखिममा आधारित पूँजी कोष कायम गर्न लगाई बीमा कम्पनीहरुलाई आन्तरिक रुपमा सबल र सक्षम बनाउने सोच नियामक निकायले बनाउन थालेको छ । यही सोचबाट फाइदा उठाउन तथा पूँजी वृद्धिलाई आधार बनाएर बीमा कम्पनीहरुले हकप्रद सेयरमार्फत ठूलै चलखेल सुरु गर्न सक्ने संभावना बढ्न थालेको देखिन्छ । कम्पनीका मुख्य सञ्चालनकर्ता र ठूला लगानीकर्ताहरुले हकप्रद निर्णय पूर्व इन्साइडर ट्रेडिङ ९भित्री सूचनाको आधारमा कारोबार० गरी कमाउने प्रयास गर्न खोज्दा सोझा-साझा लगानीकर्ता फस्ने अवस्था सिर्जना हुने सम्भावना अत्यधिक हुँदै गएको पाइन्छ।

– विश्वभरका धनीहरूको सूचीमा नेपालका विनोद चौधरीको स्थान खस्किएको छ । फोर्ब्सले बुधबार सार्वजनिक गरेको अर्बपतिहरूको ४५ औं सूचीअनुसार चौधरी ६ सय २८ स्थान तल झरेका हुन् । यो वर्ष उनी २१४१ औं स्थानमा छन् । गत वर्ष उनी १५१३ औं स्थानमा थिए । स्थान खस्किए पनि उनको कुल सम्पत्ति भने गत वर्ष जत्तिकै छ । यो वर्ष उनको कुल सम्पत्ति (रियल टाइम नेटवर्थ) १.४ बिलियन अमेरिकी डलर छ । यो अघिल्लो वर्षको बराबर हो ।

– अर्थमन्त्री विष्णु पौडेलले अहिलेको अवस्थामा मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका छन् । सत्तारुढ नेकपा (एमाले) निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुको बुधबार ज्ञापनपत्र बुझ्दै अर्थमन्त्री पौडेलले यसपटक मन खुलाएर बजेट निर्माण गर्न नसकिने बताएका हुन् । कोभिडका कारण सिर्जित समस्या र बजेटको स्रोतको सीमितताका कारण बजेट निर्माण गर्दा खुम्चिनुपर्ने अवस्था रहेको उनले बताए ।

– सार्वजनिक खरिद पुनरावलोकन समितिले ठेक्का प्रक्रिया नै कानुनसम्मत नभएको भनी निर्णय सुनाए पनि नेपाल दूरसञ्चार प्राधिकरणले पाँच जिल्लामा १ अर्ब रुपैयाँ लागतको इन्टरनेट विस्तारको ठेक्का गुपचुप रूपमा एक सेवा प्रदायकलाई दिएको पाइएको छ । प्राधिकरणले दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरका सार्वजनिक स्थानमा निःशुल्क इन्टरनेट जडान गर्ने ठेक्का जेठ २२ मा चितवनस्थित टेकमाइन्ड्स नेटवर्क प्रालिलाई दिएको थियो ।

– राष्ट्रिय जनगणना, २०७८ का क्रममा पहिलोपटक वित्तीय क्षेत्रको पहुँच, ऋण खाता सञ्चालन र सरकारी अनुदानमा बनेका घर संरचनाको तथ्याङ्क सङ्कलन गरिंदैछ । यस क्रममा अन्य उमेर समूहका साथै १५ देखि ४९ वर्ष उमेर समूहका महिलाको मृत्युको अवस्था, देशमा अनुपस्थित नेपाली नागरिक, पुर्खाको भाषा र अपाङ्गतासम्बन्धी विस्तृत विवरणसमेत सङ्कलन गर्ने तयारी भइरहेको छ ।

– बिमा समितिको पूर्वस्वीकृतिबिना बिमा कम्पनीहरूले हकप्रद सेयर निष्कासन गर्न नपाउने भएका छन् । मंगलबार बिमा समितिले बिमा कम्पनी र पुनर्बिमा कम्पनीलाई यससम्बन्धी निर्देशन दिएको हो ।

– दैलेखमा अन्तिम चरणमा पेट्रोलियम पदार्थ अन्वेषण काम गर्न चैत १९ (अप्रिल १)मा आउने भनिएको चिनियाँ विज्ञ टोली तोकिएको मितिमा आएन । कोरोनाको महामारीको कारण चिनियाँ टोली नआएको खानी तथा भूगर्भ विभागका महानिर्देशकले बताए ।

– चालू आर्थिक वर्षको आठ महिनामा २ अर्ब २२ करोड रुपैयाँबराबरको हवाईजहाजका पार्टपुर्जा आयात गरिएको भन्सार विभागको तथ्यांक छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब ९० प्रतिशतले जहाजका पार्टपुर्जा आयातमा कमी देखिएको छ। भन्सार विभागले वैदेशिक व्यापारको तथ्यांकको दफा ८८ मा जहाजका पार्टपुर्जा भनेर इंगित गरेको छ।

– अमेरिकी डलरको भाउ फेरि बढ्न थालेको छ । हिजो ११७ रुपैयाँ ८० पैसा रहेको डलरको मूल्य आज ११९ रुपैयाँ ५९ पैसा तोकिएको छ । नेपाल राष्ट्र बैंकले आज एक डलरको खरिददर ११८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ५९ पैसा तोकेको हो । डलरको यो मूल्य पछिल्लो साढे ४ महिना यताकै महँगो हो ।

– कोभिड–१९ महामारीका कारण शिथिल बनेको मुलुकको पर्यटनलाई चलायमान बनाउन नेपाल र कतारबीच पर्यटन प्रवद्र्धनका लागि सहकार्य हुने भएको छ। नेपालका लागि कतारका राजदूत युुसुफ विन मोहम्मद अल हैल र नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा धनञ्जय रेग्मीबीच पर्यटन बोर्डमा सोमबार भएको भेटवार्तामा दुवै देशबीच पर्यटन प्रर्वद्धन गर्ने विषयमा सकारात्मक कुराकानी भएको छ। दुई देशबीच पर्यटन प्रवद्र्धनको पर्याप्त सम्भावना रहेको र मिलेर काम गरे पर्यटन उद्योगलाई थप चलायमान बनाउन सकिने विषयमा छलफल भएको बोर्डले आज विज्ञप्तिमार्फत जनाएको छ।

– स्वदेशी लगानीमै निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट वैशाखमा विद्युत् उत्पादनको तयारी भएको छ। बाँकी काम १० वैशाखभित्र सम्पन्न गरी ११ गतेदेखि सुरुङमा थोरै परिमाणमा पानी पठाउने गरी काम भइरहेको छ। त्यसपछि मुख्य सुरुङ र पेनस्टक पाइपमा पानी भर्न सुरु गरी त्यस क्रममा जटिल समस्या नआए ७ देखि ९ दिनभित्र परीक्षण सम्पन्न गर्ने लक्ष्य तय गरिएको छ।

– दैनिक उपभोग्य वस्तुको मूल्य अकासिएको छ। अत्यधिक मूल्यवृद्धिका कारण उपभोक्ता खर्च धान्नै नसक्ने अवस्थामा पुगेका छन्। कोभिड १९ महामारीका कारण आयस्रोत गुमेर कमजोर बनेको क्रयशक्तिबीच नेपालीको भान्छा अचाक्ली महँगिएको छ। भटमास, सनफ्लावरको तेलसँगै चामल, केराउ, हरियो तरकारी, कुखुराको मासु, खाना पकाउने ग्यासको भाउ उच्च परिमाणमा बढेको छ। यस्तै, पेट्रोल र डिजेलको मूल्य पटक–पटक बढेको छ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*