Wednesday, April 14th, 2021
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– गीतकार तारा अधिकारीले आफ्नै निर्देशनमा नयाँ गीतको भिडियो निर्माण गरेकी छन्। सोमबार रिलिज भएको ‘पल पल’ बोलको गीतमा तारा आफैंले अभिनयसमेत गरेकी छन्। गीतमा गैरे सुरेशले संगीत भरेका छन् भने प्रताप दासको स्वर तथा तारा अधिकारीको शब्द छ। गीतका एरेन्जर राजन ईशान हुन्। भिडियोमा तारासँगै नेपाली चलचित्रकी प्रथम नायिका भुवन थापा चन्द र शिशिर भण्डारीको अभिनय छ।

– सौन्दर्यकर्मी रेश्मा श्रेष्ठ कुँबरले ब्युटिसियन ट्यालेन्ट–२०२१ को ताज पहिरिएकी छन्। प्रतिस्पर्धामा फस्ट रनरअप शारदा बराल, सेकेन्ड रनरअप शान्ति थापा र भिअवर्स च्वाइसको उपाधि सुप्रिना लामाले जितेका छन्। क्रियटिभ इन्साइट मिडियाद्वारा चितवनको नारायणगडमा आयोजित ब्युटिसियन ट्यालेन्ट प्रतियोगिताको शीर्ष उपाधि विजेता रश्मीले ५० हजार नगद पुरस्कार प्राप्त गरिन्। साथै विजेता सबैले क्राउन, सर्टिफिकेटको साथमा फाइटो म्याक्स कम्पनी स्किन एडबाट गिफ्ट ह्याम्पर प्राप्त गरेका थिए। त्यस्तै उपाधि विजेताले म्युजिक भिडियोमा अभिनयको अवसर पाउने प्रतियोगिताकी अध्यक्षले जानकारी दिइन्।

– नेपाली चलचित्र तथा म्यूजिक भिडियोका सफल कलाकार नाजिर हुसेन ‘लेवल ब्रान्ड’सँग जोडिएका छन् । उनलाई यो ब्रान्डले एक बर्षका लागि ब्रान्ड एम्ब्यासडरको रुपमा नियुक्त गरेको छ । बुधबार आयोजना गरिएको पत्रकार सम्मेलनमा नाजिरले आफू एक बर्षका लागि ‘लेवल ब्रान्ड’सँग जोडिएको बताएका छन् । मिडियासँग कुरा गर्दै नाजिरले आफूलाई विश्वका चर्चित फेसन डिजाइनर प्रवल गुरुङले तयार पारेका पहिरन लगाउन मन लागेको बताए ।

– यसअघि ‘पिच रोड’ र ‘घाममा सुकाइदेउ’ जस्ता चर्चित गीतको युगल गायनमा सफल मानिएको जोडी समिर आचार्य र विद्या तिवारीको नयाँ गीत ‘भात खाएर हो’ सार्वजनिक भएको छ। समिरकै शब्द, संगीत र श्यामस्वेत रसाइलीको एरेन्ज रहेको गीतको भिडियोमा अष्ट्रेलियामा रहेको चर्चित डान्स क्रु ‘द नेक्ट’ लाई फिचारिंग गरिएको छ। भिडियोमा ‘द नेक्ट’का प्रभा दवाडी, साजिया मियाँ, अन्जना तामाङ, दिञ्छेन ह्योल्मो, अमित बज्राचार्य, अमर पाख्रिन र प्रवेश गौचनको दमदार नृत्य रहेको छ।

– मञ्चमै झगडा भएपछि श्रीलङ्कामा एउटा सौन्दर्य प्रतियोगिताकी विजेताको टाउकोमा चोट लागेको छ । आइतबार पुष्पिका डिसिल्भाले ‘मिसेस् श्रीलङ्का’को उपाधि जितेकी थिइन् । त्यसको केही समयपछि सन् २०१९ की विजेताले डिसिल्भाको ताज खोसिन् । सम्बन्धविच्छेद भइसकेको दाबी गर्दै डिसिल्भालाई उपाधि दिइन नहुने ती पूर्वविजेताको भनाइ थियो।तर उनको सम्बन्धविच्छेद नभएको पुष्टि भएको भन्दै आयोजकहरूले उक्त उपाधि डिसिल्भालाई फिर्ता दिएका छन्।

–निजी क्षेत्रको लगानीमा बनेको पहिलो चलचित्र ‘माइतीघर’को पछाडि २ थप्दै नयाँ कथामा चलचित्र बन्ने भएको छ । ‘माइतीघर २’ नाममा बन्न लागेको चलचित्रलाई दि सुपर काजोल फिल्मस्ले निर्माण गर्ने पक्का भएको छ । यो चलचित्रलाई निर्माता भूवन केसीले आफ्नो ब्यानरमा दर्ता समेत गरिसकेका छन् । भूवनका अनुसार, यो चलचित्रलाई सुवोध चोपडाले निर्देशन गर्दैछन् । चलचित्रमा नायक अनमोल केसी मुख्य भूमिकामा देखिनेछन् । नायिका भने फाइनल गरिएको छैन ।

– ८ बर्षपछि चलचित्र निर्देशनमा फर्किन लागेका निर्देशक दीपक श्रेष्ठले फरक कथामा चलचित्र ‘घिन्ताङ’ बनाउँदैछन् । यो चलचित्रको छायांकन चैत्रको पहिलो साताबाट नै सुरु हुने पक्का गरिएको थियो । तर, दीपकलाई कोरोना पोजिटिभ देखिएपछि छायांकन समय केही पछि धकेलियो । तर, चलचित्रमा दीपकले अनुवन्धित गरेका २ नायिकाले भने चलचित्र छाडे । नायिका एलिजा गौतमले यो चलचित्र छाडेपछि दीपकले नायिका लक्ष्मी वर्देवालाई राखेर यसको शुभसाइत समेत गरेका थिए । सरस्वती पूजाको दिन शुभसाइत गरिएको चलचित्रको छायांकन सुरु हुन नसकेपछि लक्ष्मीले पनि हात झिकिन् । दुई नायिकाले चलचित्र छाडेपछि निर्देशक श्रेष्ठले नायिका केकी अधिकारीलाई चलचित्रमा अनुवन्धित गरेका छन् । दीपकका अनुसार, वैशाखको ६ गतेबाट यो चलचित्रको छायांकन सुरु हुनेछ । पनौती वरपर चलचित्रको छायांकन गरिने उनले बताएका छन् । चलचित्रमा केकीको साथमा नायक गौरव पहारी मुख्य भूमिकामा देखिदैछन् । एकल पुरुष र एकल महिलाको कथामा यो चलचित्र बन्नेछ ।

– निर्माता माधव वाग्ले चलचित्र निर्देशनका लागि कस्सिएका छन् । उनले, चलचित्र ‘पारस’ बनाउने घोषणा गरे । तर, यो चलचित्रको सम्पूर्ण अधिकार दि सुपर काजोल फिल्मस्लाई दिएर उनले यो चलचित्रबाट हात झिकिसकेका छन् । उनै, माधवले चलचित्र ‘हिमानी’ बनाउने घोषणा गरे । यो चलचित्रको स्क्रिप्टको पहिलो ड्राफ्ट तयार गर्दैगर्दा उनले ‘विवेक’ नामक चलचित्र बनाउने घोषणा गरेका छन् । यो चलचित्रमा नायक विपिन कार्की शिर्ष भूमिकामा देखिदैछन् । नायिकाको रुपमा स्वस्तिमा खड्काले काम गर्ने पक्का भएको छ । माधवले अन्य केही कलाकार अडिसनबाट तय गर्ने पनि बताएका छन् ।

– बलिउड नायक सलमान खान अभिनित चलचित्र ‘राधे’ मे महिनाको १३ तारिखबाट रिलिज हुने सेड्यूल तय गरिएको छ । तर, भारतमा दैनिक १ लाख भन्दा बढी कोरोना संक्रमित देखिन थालेका छन् । यसले, बलिउडकर्मीलाई चिन्तामा पारिदिएको छ । अक्षय कुमारको मुख्य भूमिका रहेको चलचित्र ‘सूर्यवंशी’को रिलिज डेट पोष्टपोन्ड भैसकेको छ । अब, सबैको आँखा नायक सलमान खान अभिनित चलचित्र ‘राधे’माथि छ । नायक सलमान खानले हालै दिएको एक अन्तरवार्तामा महाराष्ट्रमा अप्रिल ३० सम्म लागू गरिएको रात्रीकालिन लकडाउन बढेको खण्डमा चलचित्र पोष्टपोन्ड गर्ने बताएका छन् । यसैले, अप्रिल ३० सम्मको लकडाउन र कोरोना संक्रमितको संख्या हेरेर चलचित्र रिलिज के गर्ने भन्ने बिषयमा निर्णय हुने सलमानको भनाई छ । सलमानले यदि, यो बर्षको इदमा चलचित्र रिलिज हुन सकेन भने अर्को बर्षको इदमा रिलिज गर्ने पनि बताएका छन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*