Wednesday, April 14th, 2021
राजनीतिमा आज

राजनीतिमा आज

– नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्री प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट पदमुक्त भएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् ।

– नेपाल पत्रकार महासंघ पाल्पामा रेखीराम रानाको नेतृत्वमा १५ सदस्यीय नयाँ कार्यसमिति निर्वाचित भएको छ । बुधबार भएको निर्वाचनमा प्रेस युनियन, प्रेस सेन्टर र प्रेस चौतारी नेपाल खनाल पक्षका उम्मेदवार राना र प्रेस चौतारी नेपालका कमलराज तिमिल्सीनाबीच भएको चुनावी प्रतिष्प्रर्धामा राना ३३ मतले अग्रता लिँदै विजयी भएका हुन् । रानाले ५९ र तिमिल्सिनाले २६ मत प्राप्त गरेका हुन् । यसैगरी अर्का अध्यक्षका उम्मेदवार जिवलाल सुवेदीले ४ मत प्राप्त गरेका छन्।

– प्रमुख प्रतिपक्षी दलका सांसद गगनकुमार थापाले सरकारले गरेका कामलाई लिएर संसद्मा बहस गर्न आउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनौती दिएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सरकारले विगतमा प्रस्तुत गरेका योजनाका पुस्तक देखाउँदै सांसद थापाले प्रधानमन्त्रीलाई संसद्मा आएर बहस गर्नका लागि निम्तो र चुनौती दिएका हुन् ।

– नेकपा (एमाले)का सांसद महेश बस्नेतले प्रतिपक्षी र सरकारको समर्थन गरिरहेको दललाई केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारको विकल्प खोजेमा आफूहरू प्रतिपक्षमा बस्न तयार रहेको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद बस्नेतले वैधानिक ढंगले सरकार गठन गर्नका लागि सुझाव दिएका हुन् ।

– नेकपा एमालेका सांसद् लालबाबु पण्डितले सांसद्मा बाधा अवरोध छन् भने जानकारी हुनुपर्ने होइन भने एकतर्फी रूपमा संसद्को काम नभएको बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा विशेष समयमा बोल्दै सांसद् पण्डितले संसद्लाई बाधा अवरोधहरु भएको आफूलाई थाहा नभएको छन् भने संसद्लाई जानकारी हुनुपर्ने बताए ।

– नेकपा एमालेले संसदीय समितिहरुमा दलीय आधारमा सांसदहरुको प्रतिनिधित्व हेरफेर गर्न माग गरेको छ । सर्वोच्च अदालतको फागुन २३ गतेको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताएपछि संसदीय समितिमा पनि यी दलको अलग अलग प्रतिनिधित्व गराउन माग गरेको हो ।

– शुक्रबारका लागि बोलाइएको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक सरेको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार चैत २७ गतेलाई बोलाइएको बैठक चैत ३० गतेका लागि सारिएको हो ।

– प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिन परमादेश माग गर्दै सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाइ नहुने भएको छ । प्रधानमन्त्री ओलीको दल नेकपा विभाजित भएपछि उनले विश्वासको मत लिनुपर्ने भन्दै अधिवक्ता अमिता गौतम पौडेल र कीर्तिनाथ शर्मा पौडेलले दिएको रिट सर्वोच्चका मुख्य रजिस्टारले चैत २४ गते दरपीठ गरिदिएका थिए ।

– सूचनाप्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक बिहीबार प्रतिनिधिसभाको बैठकमा पेश गर्ने कार्यसूचीबाट हटेको छ । प्रतिनिधिसभा बैठकअघि संसद भवन नयाँबानेश्वरमा बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा प्रमुख विपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रले विरोध गरेपछि कार्यसूचीबाट हटाइएको छ ।

– नेपाल पत्रकार महासंघ कास्की शाखामा पहिलो पटक महिला उम्मेदवार विजयी भएकी छन् । प्रेस युनियन, प्रेस संगठन र प्रेस चौतारी ९माधव नेपाल समूह को साझा गठबन्धनबाट उम्मेदबार बनेकी विमला भण्डारीले १७४ मत ल्याएर महासंघको जिल्ला शाखा अध्यक्षमा विजयी भएकी हुन् । उनी प्रेस युनियनको कोटाबाट उठेकी हुन् ।

– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नयाँ सरकार बनाउन संख्या सुनिश्चित भइनसकेको बताएका छन् । संख्या निश्चित भए आफू प्रधानमन्त्री बन्नबाट नभाग्ने उनले बताए ।

– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार नै बजेट तथा योजनाको बाँडफाँड गरेको बताएका छन् । प्रदेशसभाको बुधबारको बैठकमा मुख्यमन्त्री पौडेलले प्रदेशका विभिन्न जिल्लामा सत्तापक्ष र प्रतिपक्ष दललाई कुनै प्रकारको विभेद नराखी सम्मान रुपमा बजेट तथा योजनाको बाँडफाँड गरेको बताएका हुन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*