Thursday, June 4th, 2020
विदेशमा आज

विदेशमा आज

– इरानमा पक्राउ परेका अमेरिकी नागरिक माइकल ह्वाइट रिहा भएका छन् । अमेरिकी विदेशमन्त्री माइक पोम्पियोका अनुसार सन् २०१८ देखि इरानी जेलमा रहेका ह्वाइटलाई स्वास्थ्य उपचारका लागि रिहा गरिएको छ । अमेरिकी जलसेनाका पूर्वसदस्य ह्वाइट हाल स्विस सरकारको हिरासतमा छन् ।

– दोस्रो विश्वयुद्धमा विजयी भएको सम्झनामा रुसले मनाउने दिवसमा सहभागी हुन अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार रोबर्ट ओ ब्राइन मस्को जाने भएका छन् । मे महिनामा हुने रुसी परेडमा सहभागी हुन ब्राइन मस्को जाने भएको रुसका लागि अमेरिकी राजदूतले बिहीबार बताए । दोस्रो विश्वयुद्धमा नाजी जर्मनीविरुद्ध सोभियत संघले प्राप्त गरेको जितको सम्मानमा मे ९ का दिन राजधानी मस्कोमा हुने वार्षिक परेडको अध्यक्षता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गर्ने कार्यतालिका छ ।

– संक्रमण फैलिएपछि युरोपका सबै नेपाली दूतावास बन्द गरिएका छन् । कर्मचारी नै संक्रमित हुन सक्ने त्रासले नेपाली दूतावास बन्द गरेर अत्यावश्यक सेवा टेलिवर्क (इन्टरनेट, टेलिफोन मार्फत) दिन थालिएको छ ।

– ७ वर्ष अगाडी भारतीय युवती निर्भयालाई सामूहिक बलात्कार गर्ने चार जनालाई फँसी दिइएको छ । दिल्लीको तिहाड जेलमा रहेका उनीहरुलाई शुक्रबार बिहान ५ः३० बजे फँसी दिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । मुकेश सिंह, विनय शर्मा, अक्षय कुमार सिंह र पवन गुप्तालाई फाँसी दिइएको हो ।

– कोरोना भाइरस (कोभिड–१९) बाट इटालीमा चीनमा भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । इटालीमा पछिल्लो २४ घण्टामा ४ सय २७ जनाको भाइरसको संक्रमणबाट ज्यान गएसँगै मृत्यु हुनेको संख्या ३ हजार ४ सय ५ पुगेको हो ।

– पछिल्लो समय विश्वभर कोरोना भाइरस (कोभिड–१९) को त्रास फैलिएको छ । यो भाइरस नियन्त्रणका लागि विश्वका धेरै मुलुकले आफ्नो अन्तर्राष्ट्रिय उडान तथा बाहिरबाट आउने मानिसमा प्रतिबन्ध लगाउने निर्णय गरिसकेको छ । त्यसका साथै भीडभाड हुने क्षेत्र बन्द गर्ने र धेरै मानिस भेला हुन नपाउने नियम धेरै मुलुकले अघि सारेका छन् । तर, बंगलादेशमा भने बुधबार भाइरसको बढिरहेको समयमा हजारौं मानिस मस्जिदमा प्रार्थनाको लागि भेला भएका थिए । बंगलादेशको राइपुरमा १० हजार मानिस बुधबार भेला भएको स्थानीय प्रहरी प्रमुख टोता मियाहले बताएका छन् । तर केहीले भने उक्त स्थानमा भेला हुनेको संख्या ३० हजार रहेको दाबी गरेका छन् । यसअघि गत फेब्रुअरीमा मलेसियामा त्यस्तै किसिमको धार्मिक भेला कोरोना भाइरस फैलिनुको कारण रहेको खुलेको थियो ।

– महामारीको रूप लिएको कोरोना ९कोभिड–१९० संक्रमणबाट ज्यान जानेको संख्या १० हजार नाघेको छ । चीन उद्गम भएर गत डिसेम्बरको अन्तिम साताबाट फैलिएको कोरोनाले शुक्रबार बिहानसम्म १० हजार ४८ मानिसको ज्यान गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।

– कोविड १९ को संक्रमण फैलिएपछि अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले सबै आगन्तुकका लागि देशको सिमाना बन्द गरेको घोषणा गरेका छन्। अष्ट्रेलियाका आप्रवासी बासिन्दा तथा अन्य नागरिकलाई स्थानीय समयाअनुसार शुक्रबार राति ९ बजेदेखि देशमा प्रवेश गर्न निषेध गरिने बिहीबार पत्रकार सम्मेलनमा बताएका हुन्। गैरअष्ट्रेलियाली नागरिक र देशमा प्रवेश गर्न चाहने अन्य देशका नागरिकलाई यस्तो बन्देज गरिएको हो।

– विस्तारै खुल्न थालेका चिनियाँ कलकारखाना यूरोप र अमेरिकाबाट आउने सामान अभावमा अप्ठेरोमा परेका छन्। खासगरी माइक्रोचिप्स र त्यसका लागि आवश्यक सामान आपूर्तिमा बाधा पुर्याउन सक्नेछ। कोविडमा विजय हासिल गरे पनि विश्वकै दोस्रो ठूलो चिनियाँ अर्थतन्त्रलाई पुनर्जीवित तुल्याउने प्रयासमा अझै केही दिन ढिलाइ हुने देखिएको छ।

– कोरोना भाइरसको महामारी फैलिरहँदा भारतमा कर्फ्यू घोषणा गरिएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीले जनताको नाममा सम्बोधन गर्दै कर्फ्यू घोषणा गरेका हुन् । जनताको हितका लागि भन्दै उक्त कर्फ्यूलाई ‘जनता कर्फ्यू’ नाम दिइएको छ । जुन कर्फ्यू आगामी आइतबारदेखि बिहान ७ देखि राति ९ बजे सम्मका लागि हुनेछ ।

– इन्डोनेसियामा मुस्लिम समुदायको आम सम्मेलन कोरोना भाइरसको त्रासका कारण स्थगित भएको छ । साथै सम्मेलनमा सहभागी हुन लागेका ९ हजार तिर्थयात्रीलाई क्वारेन्टाइनमा राखेर स्वास्थ्य जाँच गरिएको छ । यही बिहीबार दक्षिणी सुलावेसी टापुमा रहेको एक स्कुलमा मुस्लिम तिर्थयात्रीहरुको सम्मेलनको तयारी थियो ।

– श्रीलङ्कामा शुक्रबार बेलुका ६ बजेदेखि आउँदो सोमबार बिहान ६ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको छ । आउँदो वैशाख १३ गते तय भएको संसदीय चुनाव स्थगित गरिएको भोलिपल्ट सरकारले कर्फ्यु लगाउन आदेश जारी गरेको हो ।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com