Thursday, June 4th, 2020
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– ग्यासको माग बढेपछि आयल निगमले थप आपूर्ति बढाइदिन भारतसँग आग्रह गरेको छ । निगमले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय हुँदै परराष्ट्र मन्त्रालयमार्फत थप १५ हजार टन ग्यास उपलब्ध गराइदिन आग्रह गरेको हो ।

– कोभिड–१९ फैलिएसँगै विश्व सेयर बजार निरन्तर ओरालो लागेको छ । यो अवधिमा अमेरिका, युरोप र एसिया क्षेत्रका सेयर बजारमा उच्च गिरावट छ । यसअघि अमेरिका र चीनबीचको व्यापार युद्ध (ट्रेड वार) ले प्रभावित विश्व सेयर बजार यस पटक कोरोनाका कारण समस्यामा परेको हो ।

– एक दशक समय र सुरुको अनुमानभन्दा दोब्बर लगानीमा निर्माण सम्पन्न भएको चमेलिया जलविद्युत् आयोजनाले दुई वर्षमा ३ अर्ब रुपैयाँ आम्दानी गरेको छ । आयोजनाले ०७४ माघदेखि व्यावसायिक उत्पादन थालेको हो ।

– आयल निगमले ग्यासको आपूर्ति सहज बनाउन रिटेल काउन्टर खोल्न निर्देशन दिएको छ । निगम र ग्यास उद्योग संघबीच शनिबार भएको छलफलमा उद्योगीलाई रिटेल काउन्टर खोलेर ग्यास बिक्री गर्न निर्देशन दिएको हो ।

– कोभिड–१९ को डरले घरमा बस्ने क्रम बढेसँगै तीन दिनयता इन्टरनेट ब्यान्डविथ प्रयोग ३० प्रतिशतसम्म बढेको छ । ब्यान्डविथ खपत बढ्दै गएपछि सेवाप्रदायकको क्षमताभन्दा बढी माग हुन थालेको इन्टरनेट सेवा प्रदायकहरूको संस्था ९आइस्पान० नेपालका अध्यक्षले जानकारी दिए ।

– आयल निगमले इन्धनको मूल्य समायोजन गर्ने बेला २२ पम्पले इन्धन ढुवानी नगरेको भेटिएको छ । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटिरहँदा यहाँ पनि घट्ने अनुमान गर्दै ती पम्पले इन्धन ढुवानी गरेका थिएनन् । नोक्सानी हुने त्रासले ढुवानी नगर्दा आपूर्ति प्रणालीमै असर परेको थियो ।

– एटीएम कार्ड, मोबाइल बैंकिङ तथा इन्टरनेट बैंकिङमा कुनै प्रकारको शुल्क नलाग्ने भएको छ । कोभिड–१९ को जोखिमबाट बच्न ग्राहकलाई विद्युतीय कारोबार गर्न प्रोत्साहन गर्दै अर्को सूचना जारी नभएसम्मका लागि बैंक तथा वित्तीय संस्थाले शुल्क मिनाहा गरेका हुन् ।

– सरकारले खाद्य वस्तु लगायतको आपूर्ति सहज बनाउन आपतकालीन आपूर्ति व्यवस्थापन कार्यदल गठन गर्ने भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव बैकुण्ठ अर्यालको संयोजकत्ववमा आपूर्ति व्यवस्थापन समन्वय समिति र वाणिज्य आपूर्ति तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुखको संयोजकत्वमा मन्त्रालयका सम्बन्धित महाशाखासहितको सहभागिता गठन हुने कार्यदलले आपूर्ति व्यवस्थापन गर्ने जनाएको छ ।

– बुद्ध एयरले आफ्नो अधिकतम् भाडाको सीमालाई घटाएको छ । कोरोना संक्रमणको जोखिम बढ्दै गएपछि यात्रुको चाप बढेको बाहाना बनाएर एयरलाइन्स कम्पनीहरुले काठममाडौंबाट बाहिरिने यात्रुसँग अधिकतम् भाडा उठाएका थिए ।

– ह्यान्ड स्यानिटाइजर दर्ता गरेर मात्रै बिक्री वितरण गर्न औषधि व्यवस्था विभागले आग्रह गरेको छ । आइतबार एक सूचना जारी गर्दै विभागले बजारमा स्यानिटाइजरको प्रयोग अत्यधिक भएको तर यसको गुणस्तरको एकिन हुन नसकेको भन्दै दर्तार् गर्न उत्पादक कम्पनीहरुलाई आगह गरेको हो ।

– सुनको भाउ आइतबार तोलामा एक हजार रुपैयाँले बढेको छ । सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेर तोलाको ७६ हजार पाँच सय रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यस्तै चाँदी तोलामा २० रुपैयाँ बढेर तोलाको सात सय २० रुपैयाँमा कारोबार भइरहेको छ ।

– कोरोना भाइरसको त्रासले प्रदेश २ मा आर्थिक मन्दी छाएको छ। आयात, निर्यात र उद्योगको उत्पादन मात्रै बन्द भएको छैन, बजारमा वस्तु किन्ने ग्राहक भेटिन छाडेको छ। कारोना त्रासले आर्थिक कारोबार ठप्प छ। मुख्य व्यपारी केन्द्रमा कोरोनाको त्रासले चहलपहल घटेको छ। १० दिनयता होटल व्यवसाय ८० प्रतिशत खस्किएको नेपाल होटल तथा पर्यटन व्यवसायी महासंघ प्रदेश २ का अध्यक्षले बताए।

– अर्थ मन्त्रालयले आगामी आर्थिक वर्षको बजेट तयारी सुरु गरेको छ। मन्त्रालयले बजेट तथा कार्यक्रम तर्जुमा गर्न सुझाव दिन सम्बन्धित निकायलाई आह्वान गरेको छ। वैशाख ५ गतेसम्म सुझाव पेस गर्न सम्बन्धित संघसंस्था निकायमा आह्वा गरिएको हो।

– कैलालीको टीकापुरमा उत्पादन भएको मास्क भारतीय बजारमा बिक्री हुन थालेको छ । विश्वभर कोभिड–१९ को संक्रमण फैलिरहेका बेला बजारमा मास्क अभाव भएपछि सीमावर्ती भारतीय बजारबाट समेत मास्क खरिद गर्न टीकापुर आउन थालेका हुन् । टीकापुरमा महालक्ष्मी गार्मेन्टले उत्पादन गरेका मास्क थोकमा १५ मा बिक्री गर्न थालेपछि भारतीय नागरिकसमेत मास्क खरिद गर्न नेपाल आउन थालेको उद्योगका सञ्चालकले बताए ।

Share This:

PHP Code Snippets Powered By : XYZScripts.com