Thursday, August 6th, 2020
विदेशमा आज

विदेशमा आज

– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि पनि कोरोना संक्रमणको उपचारमा हाइड्रोक्सिक्लोरोक्विन औषधि प्रभावकारी हुने बताएका छन् । आफूले सिफारिस गरेकाले नै हाइड्रोक्सिक्लोरोक्विन औषधि कोरोना संक्रमितको उपचारमा प्रयोग गर्न इन्कार गरिएको ट्रम्पको भनाइ छ । हाइड्रोक्सिक्लोरोक्विन औषधि खासगरी मलेरियाका बिरामीलाई दिइन्छ । ट्रम्पले भने यो औषधि कोरोना संक्रमितलाई पनि प्रभावकारी हुने दोहोर्याएका छन् ।

– इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुका छोरा येर नेतन्याहूले हिन्दुहरुसँग माफी मागेका छन् । २९ वर्षीय येरले गत आइतबार ट्वीटरमा देवी दूर्गाको एक तस्वीर पोष्ट गरेका थिए, जसमा सरकारी वकिल लिआत बेन अरीको टाउको जोडिएको थियो । लिआत बेन अरीले बेन्जामिन नेतन्याहुविरुद्धको भ्रष्टाचारको मुद्दा हेर्दै आएकी छन् । येरले यस्तो फोटो शेयर गरेपछि उनको तीव्र आलोचना भएको थियो । त्यसपछि सोमबार उनले ट्वीटरमै माफी मागेका हुन् ।

– जापानमा पछिल्लो २४ घण्टामा ९८१ नयाँ कोरोना भाइरस (कोभिड–१९) का संक्रमित थपिएका छन् । जापानको स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितको संख्या जापानमा कोरोना भाइरसको महामारी सुरु भएयताकै सबैभन्दा धेरै हो । यसअघि गत जुलाई २३ मा जापानमा ९६६ नयाँ संक्रमित भेटिएका थिए । जापानमा अहिलेसम्म कोरोना संक्रमितको संख्या ३२ हजार ६१३ पुगेको छ । साथै एक हजार १४ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ ।

– पछिल्लो केही दिनयता कोरोना भाइरस (कोभिड–१९) का संक्रमित बढ्दै गरेको अवस्थामा हङकङकी नेतृ क्यारी लामले हङकङको अस्पतालको प्रणालीमा यो महामारीले असर गर्न सक्ने बताएकी छिन् । उनले मानिसहरुलाई घरमा नै बस्न आग्रह गरेकी छिन् । साथै उनले ठूलो संख्यामा हङकङमा कोरोना भाइरस फैलिन सक्ने सम्भावना रहेको बताएकी छिन् ।

– चीनमा पछिल्लो २४ घण्टामा अप्रिलयताकै सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड १९) का नयाँ संक्रमित फेला परेका छन् । चीनको नेशनल हेल्थ कमिसनले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा चीनमा कोरोना भाइरसका १०१ नयाँ संक्रमित फेला परेका हुन् । पछिल्लो २४ घण्टामा भेटिएकामध्ये ८९ संक्रमित सिन्चियाङको सुदूरपश्चिम क्षेत्रमा फेला परेका हुन् । त्यस्तै आठ संक्रमित लियाओनिङ र एकजना बेइजिङमा फेला परेका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा २७ लक्षण नदेखिएका संक्रमित पनि फेला परेका छन् ।

– तालिवानले इद अल–अधाका अवसरमा अफगानिस्तानमा शुक्रबारदेखि तीन दिनको युद्धविराम घोषणा गरेको छ । करिब दुई महिनाको अवधिमा सरकारले दोस्रोपटक वार्ताका लागि प्रस्ताव गरेसँगै विद्रोही समूह तालिवानले युद्धविराम घोषणा गरेको हो ।

– अस्ट्रेलियाको आधुनिक इतिहासमै सबैभन्दा भीषण गत वर्षको जंगल डढेलोमा परेर करिब ३ अर्ब जीवजन्तु मारिएका वा विस्थापित भएका एक अध्ययनले देखाएको छ । अस्ट्रेलियाका धेरैवटा विश्वविद्यालयका वैज्ञानिकहरूले तयार पारेको प्रतिवेदनमा डढेलोका कारण १४ करोड ३० लाख स्तनधारी, २ अर्ब ४६ करोड सरीसृप, १८ करोड चराचुरुंगी र ५ करोड १० लाख भ्यागुता प्रभावित भएको उल्लेख छ ।

– अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणको। कारण मङ्गलबार एकै दिनमा १ हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ। गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको छ। अमेरिकामा ४४ लाख ९८ हजार ३४३ जनाको सङ्क्रमित भएका छन् भने १ लाख ५२ हजार ३२० जनाको मृत्यु भइसककेको छ।

– भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या १५ लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसका संक्रमितको संख्या १५ लाख ३१ हजार ६६९ पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र ४८ हजार ५१३ नयाँ संक्रमित थपिएका हुन् । त्यस्तै भारतमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि ३४ हजार १९३ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसको कारण ७६८ जनाको मृत्यु भएको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com