Thursday, August 6th, 2020
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– पर्साको वीरगञ्जमा सेना, प्रहरी र कैदीबन्दीसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालको पीसीआर प्रयोगशालामा २ सय ७४ जनाको स्वाब परीक्षण गर्दा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जानकारी दियो ।

– कैलालीका भजनी नगरपालिका र जोशीपुर गाउँपालिकाका वस्तीहरुमा बाढी पसेको छ । गएराति आएको बाढी वस्तीमा पसेपछि करिब एक सय घर परिवार प्रभावित भएका छन् । डुबानमा परेका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने क्रम जारी रहेको जिल्ला प्रहरी कार्यालयका डीएसपीले जानकारी दिए ।

– दाङको बंगलाचुली गाउँपालिकामा पहिरोले घर पुरिँदा दुई जनाको मृत्यु भएको छ । बंगलाचुली गाउँपालिकाको वडा नं. ५ साकिनेमा देवीराम नेपालीको घर पुरिँदा २४ वर्षीया बाटुली नेपाली र उनको दुई वर्षीया छोरी आयुस्माको मृत्यु भएको हो ।

– अवैध अन्तर्राष्ट्रिय कल बाइपासमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भक्तपुरको मध्यपुर ठिमी–५ घर भइ बौद्ध बस्दै आएका हरिशंकर श्रेष्ठ छन् । विशेष सूचनाको आधारमा खिचापोखरीस्थित इम्पेरियल बचत तथा ऋण सहकारी संस्था लिमिटेड र युनाइटेड टेक्नोलोजी प्रा.लि. रहेको भवनमा छापा मार्दा अवैध रुपमा भीओआईपी कलबाइपास गराउने गरिएको भेटिएको थियो ।

– लगातारको वर्षासँगै आएको पहिरोका कारण संखुवासभाको भोटखोला जाने सडक अवरुद्ध भएको छ । उत्तर–दक्षिण सडकखण्डको मकालु गाउँपालिका–३ को सम्माटारमा पहिरो खसेपछि सदरमुकाम खाँदबारीबाट भोटखोला गाउँपालिका जाने सडकखण्ड १५ दिनदेखि अवरुद्ध भएको उत्तर-दक्षिण सडक कार्यालयका प्रमुख इन्जिनीयरले जानकारी दिए ।

– विषालु च्याउको तरकारी खाँदा जाजरकोटमा एकै घरका चारजनाको मृत्यु भएको छ । कुशे गाउँपालिका-१ स्याँक्रीकी एकै घरका थप तीनजना बालबालिकाको सुर्खेतस्थित कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मंगलबार मृत्यु भएको हो । एक बालिकाको सोमबार गाउँमै मृत्यु भएको हो ।

– गएरातिदेखि भइरहेको वर्षासँगै कैलाली र बर्दियाको सीमा नदी कर्णालीमा पानीको बहाव खतरानजिक पुगेको छ । इलाका प्रहरी कार्यालय चिसापानी (कैलाली) का प्रमुख प्रहरी निरीक्षकले मध्याह्नसम्म कर्णाली नदीमा पानीको बहाव दश दशमलब दश मिटर पुगेको बताए ।

– विश्व बजारमा महंगो मध्येको मानिने मेथामफेटामाइन आइस लागुऔषधसहित मोरङ प्रहरीले एक जनालाई पक्राउ गरेको छ । मंगलबार साँझ आधा किलो मेथामफेटामाइन आइससहित मोरङको सुन्दरहरैंचा नगरपालिका–८ सलकपुरका ४२ वर्षीय रामप्रसाद पोखरेललाई पक्राउ गरेको हो । पोखरेल व्यावसायी हुन् ।

– पर्सा प्रहरीले लागूऔषधसहित एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बाराको बिश्रामपुर–५ इटियाहीका १९ वर्षीय शेख अजाद रहेका छन् । उनको साथबाट २/२ सय थान नुर्फिन, फेनारगन र डाइजेपाम बरामद भएको र उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

– फिदिमका एक व्यक्ति सिँचाइ कुलोमा मृत फेला परेका छन् । फिदिम नगरपालिका-४ जोरसालका ५१ वर्षीय जगन्नाथ सुवेदी वडा नं २ स्थित थाङसाङ खोलाबाट आफ्नो गाउँतर्फ लगिएको कुलोको पानीमा डुबेको अवस्थामा मृत फेला परेका हुन् ।

– दैलेखको आठबीस नगरपालिकामा पहिरोले ६ घर परिवार विस्थापित भएका छन् । अबिरल वर्षासँगै गएको पहिरोले आठबीस–५, मालाचौरका ६ घर विस्थापित भएका हुन । बुधबार बिहान गएको पहरोले एक घुम्तीसहित तीन घर बगाइ सकेको छ भने तीन घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

– बुधबार बिहान गएको पहरोले एक घुम्तीसहित तीन घर बगाइ सकेको छ भने तीन घर उच्च जोखिममा रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । अविरल बर्षाका कारणले राजमार्गको दैलेख, कालिकोट सडकखण्डको विभिन्न ठाउँमा पहिरो गएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

– पाल्पाको रामपुरमा काजकिरिया सकिने दिन पकाएको पितृ भोजको खीर खाँदा २८ जना बिरामी परेका छन् । रामपुर नगरपालिका–७ मोहतीमा पाउडर दूधमा पकाएको खीर खाँदा २८ जना बिरामी परेका हुन् ।

– मंगलबार राति खसेको पहिरोले कालीकोटको नरहरिनाथमा एकै परिवारका ७ सहित ९ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी प्रमुख श्यामबाबु ओलियाका अनुसार नरहरिनाथ–७ माल्कोट बागामा पहिरोले घर पुरिँदा एकै परिवारका ७ जनाको मृत्यु भएको हो ।

– लमही–घोराही–तुलसीपुर सडकखण्डमा पर्ने खोलामा आएको बाढीले दुईवटा एम्बुलेन्स बगाएको छ । बाढीले बुधबार बिहान एम्बुलेन्स बगाएपछि प्रहरी र स्थानीयको सहयोगमा चालकसहित ११ जनाको उद्धार गरिएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com