Thursday, August 6th, 2020
विदेशमा आज

विदेशमा आज

– कोरोना भाइरस संक्रमणका कारण अमेरिकामा एक लाख ५० हजारभन्दा धेरै जनाको मृत्यु भएको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४ सय ४७ छ । यसैगरी ४४ लाख १४ हजार ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

– भारतले कोरोना सङ्क्रमित धेरै भएका क्षेत्रबाहेकका ठाउँमा लकडाउन खुकुलो बनाउँदै लैजाने निर्णय गरेको छ । चरणवद्ध रुपमा लकडाउन खुकुलो पार्दै लगेको भारत सरकारले अब सङ्क्रमित धेरै भएका क्षेत्रमा ३१ अगष्ट अर्थात भदौ १५ गतेसम्म नै लकडाउन लम्ब्याउने तर सङ्क्रमित कम भएका ठाउँमा खुकुलो पार्दै लैजाने निर्णय गरेको हो ।

– इरानले क्षेप्यास्त्रको अभ्यासको क्रममा अमेरिकी युद्धपोतको डमीलाई उडाएको छ । यो रणनीतिक रुपमा निकै महत्त्वपूर्ण मानिँदै आएको स्ट्रेट अफ् होरमुजमा गरिएको हो, यसले फारसको खाडीलाई ओमानको खाडीसँग जोड्छ । यो अभ्यासमा यति धेरै आगोको लप्का निस्किएको थियो, जसका कारण अमेरिकी सेनाले आफ्नो दुई क्षेत्रीय शिविरलाई अलर्ट मोडमा राखेको थियो ।

– बेल्जियममा कोरोना संक्रमितको संख्या बढेपछि संक्रमण रोक्न सरकारले कर्फ्यु लगाउने निर्णय गरेको छ। गत २४ घण्टामा मात्रै चार सय दुई संक्रमित बढेपछि बिहीबारबाट लागू हुने गरी अन्त्वेरपेन प्रान्तको सम्पूर्ण इलाकामा कर्फ्यु लगाइने भएको छ। अनुमानित चारदेखि पाँच हजार नेपालीसमेत बसोबास गर्ने उक्त प्रान्तका सबै बासिन्दा बेलुका ११स्३० बजेदेखि बिहान ६ बजेसम्म घरभित्रै बस्नुपर्नेछ। पुनः लकडाउन वा कस्तो रणनीति अपनाउने भन्ने विषयमा १० घण्टा लामो बैठक बसेको थियो। बैठकपछि अन्त्वेरपेनको प्रान्तीय गभर्नर क्याथी बर्क्सले १२ वर्षभन्दा माथिका सबै बासिन्दाका लागि सार्वजनिक स्थानमा फेस मास्क अनिवार्य गरिएको बताए।

– भारतले नयाँ शिक्षा नीति लागु गरेको छ । नयाँ शिक्षा नीति अनुसार अब पाँच कक्षासम्म मातृ भाषामा पढाइ हुने छ । विदेशी भाषाको पढाइ माध्यमिक तहबाट हुने छ । भारतको ‘केन्द्रीय मानव संसाधन विकास मन्त्रालय’को नाम परिवर्तन गरेर ‘शिक्षा मन्त्रालय’ नाम राखिएको छ । केन्द्रीय मानव संसाधन विकास मन्त्री रमेश पोखरियाल अब शिक्षा मन्त्री हुनेछन् । पोखरियालले नयाँ शिक्षा नीति २०२० लाई मन्त्रिपरिषदबाट पारित भएको जानकारी दिएका छन् ।

– भारतले फ्रान्ससँग गरेको खरिद सम्झौताअन्तर्गत ‘विवादित’ रफाल (डसाल्ट रफाल) लडाकु विमानको पहिलो खेपअन्तर्गत पाँच वटा जहाजले बुधबार हरियाणाको अम्बालास्थित एयरबेसमा अवतरण गरेका छन् । यी लडाकु विमान फ्रान्सबाट करिब सात हजार किलोमिटर दूरी अम्बालामा अवतरण गरेका हुन् । यी लडाकु विमानलाईबीचमा एक पटक मात्र यूएईमा रोकिएको थियो । र, जहाजले उडानकै क्रममा हावामै इन्धन भरेका थिए ।

– दक्षिण कोरियामा कोरोना भाइरसका संक्रमित पछिल्लो समयमा बढ्न थालेका छन् । पछिल्लो २४ घण्टामा थप ४८ जनामा कोरोना भेटिएको बताइएको छ । बुधबार बिहान सो जानकारी दिइएको हो । यो सँगै संक्रमितहरुको संख्या १४ हजार २५१ जना पुगेको बताइएको छ । गएको २४ घण्टामा थपिएका ४८ जना संक्रमितमध्ये २९ जना विदेशबाट आएका नारिक हुन् । पछिल्लो दुई दिनमा दुई व्यक्तिको मृत्यु भएपछि संक्रमणबाट ज्यान जानेको संख्या ३०० जना पुगेको बताइएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com