Thursday, August 6th, 2020
आर्थिक/बिजनेश

आर्थिक/बिजनेश

– सरकारले सहुलियतको ३० हजार मेट्रिकटन चिनी आयात गर्न साल्ट ट्रेडिङ र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई अनुमति दिएको छ । आयात हुने चिनीमा ५० प्रतिशत भन्सार छुट गरिनेछ । उद्योग मन्त्रालयको प्रस्ताव र अर्थमन्त्रालयले अनुमतिमा मन्त्रिपरिषदले दुई वटा कम्पनीमार्फत चिनी खरिद गर्न सहमति दिएको उद्योग मन्त्रालयकी सहप्रवक्ताले जानकारी दिइन् ।

– बैंक तथा वित्तीय संस्थामा लगानीयोग्य रकम (अधिक तरलता) निरन्तर बढ्दो छ । गत आर्थिक वर्षको अन्त्यमा भएको सरकारी खर्च बैंक तथा वित्तीय संस्थामा आएको, नयाँ कर्जा माग नभएको, रेमिट्यान्स वृद्धिलगायत कारण वित्तीय प्रणालीमा लगानीयोग्य रकम बढिरहेको हो । राष्ट्र बैंकका अनुसार बिहीबारसम्म वित्तीय प्रणालीमा करिब २ खर्ब ५ अर्ब रुपैयाँ लगानीयोग्य रकम छ ।

– अब केही समयपछि चितवनको नारायणगढ–मुग्लिङ सडक दस्तुर नतिरी आवतजावत गर्न पाईने छैन । ३६ किलोमिटर दूरी रहेको यो सडक खण्डमा सरकारले सवारीसाधन गुडाएबापत शुल्क उठाउने निर्णय गरेको छ । त्यसका लागि हलुका र भारी सवारीसाधनको फरकफरक शुल्क निर्धारण गरिएको छ ।

– सनराइज बैंकमा देखिएको विवाद तत्कालका लागि समाधान भएको छ । बिहीबार बसेको बैंकको सञ्चालक समिति बैठकमा विवादित दुबै पक्षले आत्मालोचना गरेर विवाद समाधान भएको बैंक सञ्चालक समिति श्रोतले जानकारी दिएको छ ।

– संघीय संसद्को उद्योग तथा वाणिज्य श्रम तथा उपभोक्ता हित समितिले नेटवर्किङ कारोबार सम्बन्धमा छानबिन गर्न उपसमिति गठन गरेको छ। समितिको बिहीबारको बैठकले नेटवर्किङ कारोबारको छानबिन गर्न उपसमिति गठन गर्ने निर्णय गरेको हो।

– देश भरका अधिकाशं भूभागमा रोपाई सकिएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जनाएको छ । मन्त्रालय माताहतको देशभरका विभिन्न इकाईले पठाएको विवरणअनुसार १३ लाख ११ हजार २९९ हेक्टर क्षेत्रफलमा रोपाइँ सम्पन्न भएको छ । कुल धान रोपाइँ योग्य जमिनको ९५.६० प्रतिशतमा रोपाइँ सकिएको कृषि मन्त्रालयका प्रवक्ताले जानकारी दिए ।

– वर्षायाममा बढ्दो बाढीको जोखिम व्यवस्थापनका लागि खर्च जुटाउन सरकारले एशियाली विकास बैंकसँग सहयोग माग्ने भएको छ। बाढी जोखिम व्यवस्थापनका लागि अनुमानभन्दा धेरै रकम आवश्यक परेपछि स्रोत जुटाउन एडीबीसँग सहयोग माग्न लागिएको हो।

– सुनको भाउले आज फेरि नयाँ रेकर्ड बनाएको छ । तोलामा ३ सय रुपैयाँ बढेर तोलामा ९९ हजार ३ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । चाँदीको भाउ भने आज एकैदिन तोलामा २५ रुपैयाँ घटेर तोलाको १२ सय रुपैयाँ निर्धारण गरिएको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com