Thursday, August 6th, 2020
मनोरञ्जन/फिल्मी खबर

मनोरञ्जन/फिल्मी खबर

– निर्देशक दिपेन्द्र के खनालले दुई नयाँ चलचित्रको निर्देशन गर्ने तयारी थालेका छन् । दिपेन्द्रको निर्देशनमा बन्न लागेका २ चलचित्रमा क्रमशः ‘लकडाउन र चिसो मान्छे’ राखिएको छ । दुबै चलचित्रको नाम चलचित्र विकास बोर्डमा दर्ता गरिएको छ । यी दुबै चलचित्रलाई सामाजिक कथावस्तुमा बनाउने तयारी गरिएको छ । चलचित्र ‘आमा’ बनाएको यो टिमले दर्शकको चाहना अनुसार चलचित्र बनाउने बताउँदै आएको छ । निर्मात्री शर्मिला पाण्डेका अनुसार, ‘चिसो मान्छे’को छायांकन पहिला हुनेछ । सरकारले छायांकनका लागि अनुमती दिएसँगै छायांकन प्रारम्भ गरिने शर्मिलाले बताइन् ।

– सरकारले लकडाउन अन्त्य गरेसँगै विभिन्न क्षेत्रको व्यापार व्यवसाय खोल्ने निर्णय गर्यो । भदौ १ गतेदेखि विद्यार्थी भर्ना, परीक्षा सञ्चालन र राष्ट्रियरअन्तर्राष्ट्रिय उडान गर्ने सरकारको निर्णयसँगै करिब चार महिनादेखि बन्द भएका फिल्म हलका संचालकहरु पनि हल खोल्ने तयारीमा छन् । सरकारले फिल्म हल कहिलेदेखि खोल्ने भन्ने विषयमा कुनै निर्णय गरेको छैन ।

– कलाकार हरिवंश आचार्यले ‘तिमी के को जान्ने’ बोलको गाइजात्रा गीत सार्वजनिक गरेका छन् । हरिवंशकै शब्द, स्वर तथा संगीतमा तयार भएको यो गीतले देशको समसामयिक बिषयमा ब्यङ्ग्य प्रहार गरेको छ । गायक आचार्यको यो गीतले शक्तिमा रहेको एक नेताको चाँकडी कसरी गरिन्छ र उसले आफूलाई कसरी देवत्वकरण गरिरहेको छ भन्ने बिषयमा ब्यङ्ग्य प्रहार गर्न खोजेको छ ।

– नायक सुशान्त सिंह राजपुतको निधनको बिषय अब नयाँ मोडमा प्रवेश गरेको छ । मुम्बई प्रहरीले सुशान्तको निधनको बिषयमा बलिउडकर्मी तथा उनको आफन्तसँग सोधपुछ गरिरहेको छ । यसैविच, सुशान्तका पिताले पटना प्रहरीमा रिया चक्रवर्तीविरुद्ध एफआइआर दर्ता गरेपछि पटना प्रहरीले पनि यसको छानबिन गरिरहेको छ । सुशान्तका पिताले रिहाले सुशान्तको बैंक एकाउन्टबाट १५ करोड रुपैयाँ ट्रान्सफर गरेको भन्दै उजुरी दिएका थिए । सुशान्तका पिताले दर्ता गरेको एफआइआरमा सुशान्तको बैंक खाताबाट रियाले आफ्नी आमा, भाई र आफ्नो खातामा रकम ट्रान्सफर गरेको आरोप लगाइएको छ ।

– नायिका आँचल शर्माले आफू बिहेपछि झनै विन्दास भएको बताएकी छिन् । लकडाउनको समयमा जीम जाने, मन परेका परिकार खाने र परिवारसँगै समय बिताएको बताउने आँचल अहिले भने म्यूजिक भिडियोको छायांकनमा व्यस्त छिन् । लकडाउनपछि २ वटा म्यूजिक भिडियोमा काम गरेकी आँचलले गीत छनोट गरेर मात्र भिडियोमा काम गर्ने बताइन् ।

– क्लोथिङ्ग ब्रान्ड ‘डक्टर डेनिम’ले चलचित्रमा लगानी गर्ने भएको छ । यो ब्राण्डले नयाँ चलचित्र निर्माण गर्ने घोषणा गरेको छ जुन अर्को बर्ष रिलिज गर्ने योजना गरिएको छ । प्रेमकथामा बन्ने चलचित्रका लागि कलाकार मनिष राउत फाइनल भएका छन् । नायिकाको छनोट भने अहिलेसम्म गरिएको छैन । निलुस गौतमको लगानीमा बन्ने चलचित्रका लेखक र अन्य टिमको जानकारी गराइएको छैन । चलचित्रको लागि कथा फाइनल भैसकेको छ । चलचित्रको छायांकन नेपाल, जर्मनी र भारतमा हुनेछ ।

– नायक पल शाह र नायिका पूजा शर्माले अभिनय गरेको चलचित्र ‘म यस्तो गीत गाउँछु २’ कहिले रिलिज हुन्छ, टुंगो छैन । यो चलचित्र कोरोना भाइरसका कारण देशभर लकडाउन भएपछि रिलिज हुन सकेको थिएन । लकडाउन भएपछि घरमै रहेका नायिका पूजा शर्मा र नायक पल शाह अब एउटा म्यूजिक भिडियोमा एकसाथ देखिने भएका छन् । प्रमोद खरेलको आवाजमा रहेको एक गीतको भिडियोमा पल र पूजा देखिन लागेका हुन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com