Thursday, August 6th, 2020
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप २८ जना प्रहरी अधिकारीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको छ । सवारी र सञ्चार शाखामा कार्यरत प्रहरीमा संक्रमण पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङका आधारमा गरिएको स्वाब संकलनको परीक्षणबाट थप २८ जना प्रहरी अधिकारीहरुमा संक्रमण पुष्टि भएको हो ।

– देशव्यापी लकडाउन हटाइए पनि लुकीछिपी आउजाउ गर्नेबाट संक्रमण फैलिनाले सीमावर्ती सहरमा प्रशासनले लकडाउन र निषेधाज्ञा गर्न थालेका छन् । वीरगन्जमा गत शनिबारदेखि निषेधाज्ञा छ भने राजविराजमा लकडाउनसँगै निषेधाज्ञा लगाइएको एक साताभन्दा बढी भइसकेको छ ।

– आधा किलो सुन र साढे १४ किलो चाँदी बरामद प्रकरणमा नयाँ ट्वीस्ट आएको छ । महानगरीय प्रहरी वृत्त, दरबारमार्गको टोलीले पछ्याउँदै गएपछि गाडीबाट सुन फ्याकेको नभई प्रहरी जवानको हातमा दिएको पाइएको छ । दरबारमार्ग प्रहरी प्रमुख डीएसपी रञ्जनकुमार दाहाललाई समेत गलत सूचना दिएर प्रहरी जवान बहादुरसिंह कडायतले सुन्धारामा सुन लिएको पाइएको हो ।

– विराटनगर महानगरपालिकामा शनिबारदेखि लागू हुने गरी दुई साताका लागि फेरि लकडाउन गरिएको छ । समुदायस्तरमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण देखिएको निष्कर्षसहित महानगरपालिकाले लकडाउन गर्ने निर्णय गरेको मेयर भीम पराजुलीले जानकारी दिए ।

– जगदम्बा इन्टरप्राइजेजका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को कोरोना संक्रमणबाट मृत्यु भएको छ । जगदम्बाका ५६ वर्षीय सीईओको नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचारको क्रममा बिहीबार राति मृत्यु भएको छ । उनी भारतीय नागरिक हुन् । कोरोना अस्पतालका इन्चार्ज डा. निरजकुमार सिंहका अनुसार सीईओ लामो समयदेखि मुुटुसम्बन्धी रोगबाट पीडित थिए । बिहीबार राति नै कोरोना अस्पतालमा जगदम्बाका सीईओसहित ३ जनाको मृत्यु भएको छ ।

– प्रदेश २ मा अर्का एक न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएको छ । उच्च अदालत जनकपुरधामका एकजना न्यायाधीशमा बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो । ५० वर्षीय न्यायाधीशमा कोरोना संक्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ ।

– गृह मन्त्रालयले रातको समयमा काठमाडौं प्रवेशमा रोक लगाएको छ । गृह मन्त्रालयले १५ साउनबाटै लागू हुने गरी साँझ ७ बजेदेखि विहान ७ बजेसम्म उपत्यका प्रवेश नाकामा यात्रु आवागमनमा रोक लगाएको हो । उपत्यका बाहिरबाट आएका यात्रुहरुको स्वाब संकलन गरेर परीक्षण गर्दा २४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भए लगतै मन्त्रालयले यो कदम चालेको हो ।

– वीरगञ्ज महानगरपालिका प्रमुख विजयकुमार सरावगीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य परीक्षणका लागि काठमाडौं आएका सरावगीको त्यहीँ स्वाब संकलन गरेर परीक्षण गरिएको थियो । परीक्षण रिपोर्ट पोजेटिभ आएको जानकारी उनले दिएका छन् ।

– कोशी राजमार्गअन्तर्गत विराटनगर–इटहरी सडकखण्डमा राखिएको डिभाइडरमा बस ठोक्किँदा एकजनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको सिमोन यातायातको बस बिहीबार राति ८ः३० बजेतिर आरती स्ट्रिप्स फ्याक्ट्री अगाडि डिभाइडरमा ठोक्किँदा अन्दाजी ३० वर्षीय पुरुषको मृत्यु भएको मोरङ ट्राफिक प्रमुख प्रहरीले जानकारी दिएको छ । मृतकको पहिचान खुलेको छैन ।

– मकवानपुरमा ३ दिनयता प्रहरीलाई घुस दिन खोज्ने १६ जना पक्राउ परेका छन् । त्यस्तै आर्थिक प्रलोभनमा परेको भन्दै बागमती प्रदेश प्रहरी कार्यालयले ४ जना प्रहरी कर्मचारीलाई आर्थिक प्रलोभनमा परेको भन्दै निलम्बन गरेको छ ।

– चितवनमा बसको ठक्करबाट एकजना प्रहरी हबल्दारको मृत्यु भएको छ । पूर्वी चितवनको राप्ती ५ भण्डारामा बसको ठक्करबाट प्रहरी हवल्दार अर्जुनकुमार थापाको मृत्यु भएको हो । उनी इलाका प्रहरी कार्यालय भण्डारामा कार्यरत थिए ।

– कोरोना संक्रमण बढ्न थालेपछि महोत्तरीको दुई स्थानीय तहमा निषेधाज्ञा जारी गरिने भएको छ । सदरमुकाम जलेश्वरसहित महोत्तरी गाउँपालिकाको दुई वडामा निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारीले जानकारी दिए । बिहीबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण जिल्ला समितिको निर्णयले शुक्रबार रातिदेखि दुई ठाउँमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

– लगातारको वर्षाका कारण डोटीको सेती नदीमा पानीको बहाव बढेको छ । पानीको बहाव बढेकाले नदी आसपासका बस्ती, तटीय क्षेत्र र डुबान भइरहने होचा ठाउँमा खतरा हुन सक्ने भन्दै सचेत रहन जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ ।

– काठमाण्डौको स्वयम्भूमा बस पल्टिँदा एक जनाको ज्यान गएको छ । स्वयम्भूबाट वनस्थलीका लागि छुटेको बस पल्टिँदा अन्दाजी २२ वर्षका युवकको ज्यान गएको प्रहरीले जनाएको छ । राति भएको दुर्घटनामा ज्यान गुमाएका युवकको परिचय खुलेको छैन ।

– मोरङको बुढीगंगामा प्रहरी र लागुऔषध कारोबारीबीच झडप हुँदा तीन जना प्रहरी घाइते भएका छन् । लागुऔषधको कारोबार भइरहेको सूचना पाए लगत्तै गएको प्रहरी टोलीमाथि अचानक आक्रमण भएको प्रहरीले जनाएको छ । प्रहरीमाथि आक्रमण भएपछि प्रहरीले प्रतिरक्षाका क्रममा गोलीसमेत चलाएको थियो । घटनास्थलबाट सात जनालाई पक्राउ गरिएको छ ।

– स्याङ्जाको वालिङ नगरपालिकामा बिहीबार बेलुकी जीप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । वालिङ नगरपालिका–१३ बाँयटारीबाट वडा नम्बर १२ को सिर्सेकोट मैदानतर्फ जाँदै गरेको जीप वालिङ–१२ को लामपाते नजिकै जैरामे भन्ने ठाउँमा दुर्घटना भएको हो । दुर्घटनामा जीपका सह–चालक १४ वर्षीय सुदिप गुरुङको घटनास्थलमै ज्यान गएको हो ।

– काठमाडौंमा थप एक किलो सुन जस्तो देखिने पहेँलो धातु बरामद भएको छ । साढे १४ किलो चाँदी र आधा किलो सुन प्रकरणको अनुसन्धानका क्रममा थप एक किलो धातु बरामद भएको हो । बरामद धातु सुन हो वा सुन जस्तो देखिने धातु मात्र भन्ने परीक्षण हुन बाँकी छ । दरबारमार्ग प्रहरीका तत्कालीन डीएसपी रञ्जन दाहाललाई गलत सूचना दिएको अभियोग लागेका सादा पोशाकका प्रहरी जवान प्रसन्न श्रेष्ठको कोठामा छापा हान्दा सुन जस्तो देखिने धातु बरामद भएको हो ।

– अनशनमा बसेकाहरुको माग सम्बोधन गर्न दबाब दिने उद्देश्यले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बाहिर प्रदर्शनमा उत्रिएका हरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शनासमेत छिन् । कोरोना महामारी रोकथाम तथा नियन्त्रणमा सरकारले प्रभावकारी कदम चाल्नुपर्ने माग राखेर अनशनमा बसेका ईः सहितका अभियन्ताको माग सुनुवाईको लागि दबाब दिन बिहीबार इनफ इनफ अभियानका अभियान्ताले प्रदर्शन गरेका थिए ।

– जाजरकोटको कुशे गाउँपालिका–१ स्याक्रीमा विषालु च्याउको तरकारी खाँदा मृत्यु हुनेको संख्या ५ पुगेको छ । च्याउ खाएर गम्भीर बिरामी भएका ३२ वर्षीय ललित चलाउनेको बिहीबार राति कर्णाली प्रदेश अस्पताल, सुर्खेतमा उपचारका क्रममा मृत्यु भएपछि संख्या पाँच पुगेको हो । बिरामीमध्ये एकजनाको अवस्था अझै गम्भीर रहेको र दुईजनाको अवस्था सामान्य रहेको छ । यही साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा ल्याइ पकाएर खाएका टेकबहादुर चलाउनेसहित परिवारका ८ जना गम्भीर बिरामी परेका थिए ।

– ललितपुरस्थित पाटन अस्पतालमा उपचाररत ६५ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । आईसीयूमा उपचाररत उनको शुक्रबार बिहान ९ स् १५ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले बतायो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५६ पुगेको छ ।

– बाजुरामा पहिरोमा बेपत्ता भएका एकजनाको तीन दिनपछि शव फेला परेको छ । बाजुराको बुढीगंगा नगरपालिका अम्कोटमा गएको पहिरोमा पुरिएर बेपत्ता भएका स्थानीय २२ वर्षीय धर्मराज पाध्याको शव शुक्रबार बिहान फेला परेको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com