Thursday, August 6th, 2020
विदेशमा आज

विदेशमा आज

– बेलायतले आउँदो वर्षदेखि अंकमा आधारित अध्यागमन प्रणाली लागू गरी भिसा प्रक्रिया केही सहज बनाउने तयारी गरिरहेको छ । यसबाट अन्तर्राष्ट्रिय विद्यार्थी र दक्ष कामदारलाई बेलायत आउन सहज हुने विश्वास गरिएको छ ।

– भारतको उत्तर प्रदेशकी क्याबिनेट मन्त्री कमला रानी वरुणको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण मृत्यु भएको छ । उनी गत जुलाई १८ मा कोरोना भाइरसबाट संक्रमित भएकी थिइन् । संक्रमण भएपछि उनलाई उपचारको लागि लखनऊको एसजीपीजीआई अस्पतालमा भर्ना गरिएको थियो । जहाँ उनको आइतबार बिहान मृत्यु भएको हो ।

– भारतमा कोरोनाभाइरसबाट एकैदिनमा सङ्क्रमितको संख्या ५७ हजार नाघेको छ । यो संख्या एकैदिनमा सङ्क्रमित भएका मध्ये अहिलेसम्मकै सवैभन्दा धेरै हो । अधिकारीहरुले शनिबार विहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ५७ हजार ११७ सङ्क्रमित भएका छन् । योसँगै देशभरी कोरोनाबाट अहिलेसम्म सङ्क्रमितहरुको संख्या १६ लाख ९५ हजार ९९८ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

– ब्राजिलका राष्ट्रपति जइर बोल्सोनारोकी पत्नी र उनको मन्त्रिमण्डलका एक मन्त्रीमा कोरोनाभाइरस संक्रमण देखिएको छ । ब्राजिल अमेरिकापछि दोस्रो ठूलो कोरोना प्रभावित देश हो । यसअघि ब्राजिलका राष्ट्रपति बोल्सोनारो पनि कोरोना संक्रमित भएका थिए । बोल्सोनारोले आफूलाई कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट आएको भन्दै संक्रमणबाट मुक्त भएको केही घण्टामै उनकी पत्नी मिसेलमा पनि कोरोना संक्रमण पुष्टि भएको हो ।

– दक्षिण अफ्रिकामा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या पाँच लाख नाघेको छ । दक्षिण अफ्रिकाका स्वास्थ्यमन्त्रीले दिएको जानकारी अनुसार शनिबार मात्र मुलुकभर कोरोना भाइरसका १० हजार १०७ नयाँ संक्रमित फेला परेका थिए । यससँगै दक्षिण अफ्रिकामा कोरोना भाइरसबाट संक्रमितको संख्या पाँच लाख तीन हजार २९० पुगेको छ । त्यस्तै दक्षिण अफ्रिकामा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या पनि आठ हजार १५३ पुगेको छ ।

– रुसी सरकारले अबको तीन महिनाभित्र आफ्ना नागरिकलाई कोरोना भाइरस विरुद्धको खोप दिने तयारी गरेको जनाएको छ । अक्टोबर महिनामा कोरोना विरुद्धको खोप दिने योजनाअनुसार अघि बढिरहेको रुसी स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले बताउनुभएको हो । उहाँले पहिलो चरणमा चिकित्सक र शिक्षकलाई खोप दिने योजना भएको जानकारी पनि दिनुभएको छ ।

– अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चिनियाँ लगानीको एप्स टिकटकलाई अमेरिकामा प्रतिबन्ध लगाउने घोषणा गर्नुभएको छ । राष्ट्रपती ट्रम्पले आज राति नै टिकटकलाई प्रतिबन्ध लगाउने कार्यकारी घोषणामा हस्ताक्षर हुन सक्ने बताउनुभएको हो । चिनियाँ प्रविधि कम्पनी बाइटडान्सले बनाएको टिकटक विश्वमै सबैभन्दा धेरै रुचाइएको एप्स हो ।

– इङ्गल्याण्डमा कोरोना सङ्क्रमित बढेपछि खुकुलो पार्ने भनिएका क्षेत्रहरुमा अर्को दुई हप्ता लकडाउन कायम नै रहने भएको छ । खोल्ने भनिएका क्यासिनो र खेलस्थलहरु अझै दुई हप्ता बन्द गरिने भएको हो । प्रधानमन्त्री बोरिस जोनसनले अहिले ’साइकलमा ब्रेक लगाउनुपर्ने बेला आएको’ भन्दै सिनेमा हल लगायतका अरु लकडाउन खुकुलो पारिएको क्षेत्रमा पनि मास्क अनिवार्य लगाउनुपर्ने बताउनुभएको छ ।

– भारतको पन्जाबमा नक्कली रक्सी पिउँदा ३८ जनाको ज्यान गएको छ । पन्जाबको अमृतसर, बटाला र तरन तारण जिल्लामा नक्कली रक्सी पिएका ३८ जनाको ज्यानको ज्यान गएको भारतीय संचार माध्यमले जनाएको छ । मुख्यमन्त्री क्याप्टेन अमरिन्दर सिंहले घटनाको बारेमा अनुसन्धान थाल्न निर्देशन दिइसक्नुभएको छ । उहाँले रक्सी बनाइने इकाइमा अनुसन्धान गर्न निर्देशन दिँदै घटनामा संलग्नलाई कडा कारबाही गर्ने बताउनुभएको छ ।

– ताइवानका पूर्वराष्ट्रपति ली तेङ–हुईको ९७ वर्षको उमेरमा निधन भएको छ । ताइवानमा तानाशाही व्यवस्था अन्त्य गरी लोकतान्त्रिक शासन पद्धति स्थापना गर्न उनको महत्त्वपूर्ण भूमिका रहेको जनाइएको छ । ताइवानमा हुईलाई ‘लोकतन्त्रको पिता’ समेत भनेर चिनिन्छ । शरीरको भित्री अङ्गले काम गर्न छोडेपछि उनको निधन भएको डाक्टरले बताएका छन् ।

– हङकङको आगामी सेप्टेम्बरमा हुन गइरहेको संसदीय परिषद्को निर्वाचन एक वर्षका लागि स्थगित भएको छ । हङकङकी प्रमुख क्यारी लामले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण बढ्दो क्रममा रहेको भन्दै आपतकालीन कानुनको प्रयोग गर्दै एक वर्षका लागि निर्वाचन स्थगित गर्ने निर्णय गरेकी हुन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com