Thursday, August 6th, 2020
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– सुनसरीको बराहाक्षेत्र नगरपालिका–१ कोशीगढमा शनिबार डुङ्गा (नाउ) दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुईको भने उद्दार गरिएको छ । मृत्यु हुनेमा भोजपुर आपचोक गाउँपालिका–८ का २० वर्षीय राजकुमार राई रहेको इलाका प्रहरी कार्यालय बराहले जनाएको छ । दुर्घटनामा परेका भोजपुर आपचोक गाउँपालिका–८ का शङकर राई र अजय राईको उद्दार गरिएको र उनीहरुको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

– सर्लाहीमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत लालबन्दी नगरपालिका–१७ मा मोटरसाइकल शनिबार राति आपसमा ठोक्किएका थिए । दुर्घटनामा मोटरसाइकल चालक लालबन्दी–५ बस्ने ५० वर्षीय व्रह्मदेव चौधरी र रौतहटको ईशनाथ नगरपालिका ७ बस्ने ५५ वर्षीय नन्द किशोर साहको मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ताले जानकारी दिए ।

– महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना) का दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भिमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टिनमा राखिएको छ । गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको छ ।

– कोरोनाको जोखिम बढेपछि बाँकेमा स्थानीय प्रशासनले आजदेखि तीन दिनसम्म निषेधाज्ञा जारी गरेको छ । नेपालगञ्जमा सरकारी कार्यालय र समुदायस्तरमा गरिएको कोरोना परीक्षणमा एकै दिन ३० जनामा संक्रमण देखिएपछि कोरोना संकट व्यवस्थापन समितिको बैठकले तीन दिनसम्म पूर्णरुपमा निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो ।

– सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको दोभान र झुम्सामा सडक भासिएपछि बुटवल–पाल्पा खण्डमा सवारी साधन सञ्चालनमा प्रशासनले रोक लगाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ दोभान प्रहरी चौकी नजिकै सडक भासिएपछि मालबाहक ट्रक, मिनी ट्रक तथा यात्रुबाहक बस सञ्चालनमा रोक लगाइएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रवक्ता डिएसपीले जानकारी दिए ।

– पर्सामा थप ४५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालस्थित पीसीआर प्रयोगशालामा परीक्षण गर्दा १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । शनिबार गरिएको पीसीआर परीक्षणका क्रममा ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालकाले जानकारी दिएको छ ।

– श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलमाथि कार्यकक्षमै कुटपिट भएको छ । भ्रष्टाचारविरुद्ध खरो अभिव्यक्ति दिँदै आएका उपसचिव सञ्जेलमाथि शनिबार बिहान करिब ११ बजे कार्यकक्षमै कुटपिट भएको हो । कुटपिटमा संलग्न भएको आरोपमा प्रहरीले दुई महिला कर्मचारीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले कार्यालयका सहयोगी कर्मचारी नेत्र भट्टराई र मेनुका सापकोटा कोइरालालाई नियन्त्रणमा लिएको हो ।

– समुदाय स्तरमा कोरोना संक्रमण फैलिएको मानिएको वीरगञ्जमा शनिबार मात्र कोभिड-१९ बाट दुई जनाको मृत्यु भएको छ । यससँगै पछिल्लो १० दिनमा वीरगञ्जमा मात्र कोरोना संक्रमणबाट ११ जनाको मृत्यु भएको छ । वीरगञ्ज–१६ नगवा बस्ने ६० बर्षीया महिलाको शनिबार साँझ ६ बजे उनको मृत्यु भएको नारायणी अस्पतालका मेडिकल सुपरीटेन्डेन्टले जानकारी दिए ।

– कोरोना भाइरस (कोभिड–१९)को संक्रमण पुष्टि भएका दुई जना सम्पर्कविहीन बनेका छन् । लुम्बिनी प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको जानकारी पाएलगत्तै उनीहरु सम्पर्कविहीन भएका हुन् । शुल्क तिरेर गरिने परीक्षणका लागि उनीहरुले शुक्रबार स्वाब दिएका थिए ।

– क्वारेन्टिनमा बसेर घर पुगेका बझाङको केदारस्यूँ गाउँपालिकाका ६६ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनीहरु असार अन्तिम साता भारतको बेंलोरबाट आएर क्वारेन्टिनमा बसेका थिए ।

– इलाममा थप १७ जना सशस्त्र प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । उनीहरु सशस्त्र प्रहरी बल, हेडक्वार्टर नम्बर १ गणमा कार्यरत छन् । यसअघि संक्रमण देखिएका ११ जनाको सम्पर्कमा आएहरुको परीक्षण गर्दा उनीहरुमा पनि संक्रमण पुष्टि भएको हो ।

– प्रहरीको साइबर ब्यूरोले अश्लिल फोटो बनाएर सामाजिक सञ्जालमा पठाउने एक जनालाई पक्राउ गरेको छ । ब्यूरोको टोलीले तनहुँ भानु नगरपालिकाकी १३ वर्षीया बालिकाको फेसबुकमा नक्कली आइडी बनाएर आफन्तलाई पठाउने तनहुँका सविनराज मिश्रलाई शुक्रबार पक्राउ गरेको हो ।

– सुदूरपश्चिम प्रदेशसभा सदस्य अम्बिकुमारी थापा मोटरसाइकल दुर्घटनामा घाइते भएकी छिन् । कैलालीको धनगढीबाट जुगेडातर्फ जाँदै गर्दा पछाडीबाट आएको मोटरसाइकलले ठक्कर दिएपछि उनी घाइते भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षकले बताए ।

– गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमितको संख्या १५०० नाघेको छ । आइतबार चारजना महिलासहित २० जना संक्रमित थपिएसँगै प्रदेशमा संक्रमितको संख्या १५०५ पुगेको हो ।

– नेपालमा पहिलो पटक कोभिड–१९ संक्रमितको कन्भालेसेन्ट प्लाज्मा थेरापी विधिबाट उपचार गरिएको छ । ६५ वर्षीय संक्रमितलाई त्रिवि शिक्षण अस्पतालमा प्लाज्माथेरापी विधिबाट उपचार गरिएको हो । उनलाई कोरोना संक्रमणबाट निको भएका २६ वर्षीय युवकले प्लाज्मा दिएका हुन् । सुरुमा संक्रमितलाई ९० प्रतिशत अक्सिजन दिनु परेको र ‘प्लाज्मा थेरापीपछि २४ प्रतिशत मात्र अक्सिजन दिनुपरेको डाक्टरले बताएका छन् ।

– उदयपुरको बेलका नगरपालिकामा भ्रष्टाचार भएको भनी छानबिन माग गर्दै भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा दुबै पक्षका गरी १० जना भन्दा धेरै घाइते भएका छन् । नगरपालिकामा भएको भ्रष्टाचारको निष्पक्ष छानबिन गरी दोषीमाथि कारबाहीको माग गर्दै आइतबार नगरपालिकाको कार्यालय रहेको रामपुरमा नेपाली कांग्रेस, जनता समाजवादी र राप्रपा कार्यकर्ताले प्रदर्शन गरेका थिए ।

– धरानमा आइतबार एकैपटक ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित पुष्टि भएकाहरुमा धरान–१३ बस्ने कोरोना संक्रमित युवा काम गरेको धरान ८ तीनकुनेस्थित धरान औद्योगिक क्षेत्रको उद्योगमा कार्यरत ५ जना र एन्फा क्वारेनटाइन बसेका ४ जना रहेका छन् ।

– विश्वभर महामारीका रुपमा फैलिएको कोभिड– १९ को संक्रमणबाट बितेका सात दिनमा विदेशमा २८ नेपालीको मृत्यु भएको छ । भारतमा २५, साउदी अरेबियामा दुई र दक्षिण अफ्रिकामा एक जनाले ज्यान गुमाएका हुन् । यससँगै संक्रमणका कारण विदेशमा १८९ नेपालीको मृत्यु भएको गैरआवासीय नेपाली संघले जनाएको छ ।

– कोरोना महामारीको त्रासकै बेला परीक्षा लिन लागेको भन्दै कक्षा ११ का विद्यार्थीले बुटवलमा सरकार र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) विरुद्ध प्रदर्शन गरेका छन् । कोरोना महामारीका कारण कक्षा ११ को परीक्षा नलिने भने पनि सरकारले निर्णय परिवर्तन गरी एक्कासी परीक्षा लिने भनेर मानसिक तनाव दिएको भन्दै विरोध प्रदर्शन भएको हो ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com