Sunday, September 20th, 2020
आजको दुर्घटना तथा अपराध

आजको दुर्घटना तथा अपराध

– विराटनगरस्थित कोशी अस्पतालको आइसोलेसनमा मृत्यु भएका पुरुषको कोरोना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । सोमबार राति करिब १ बजे कोशी अस्पतालमा भर्ना हुने क्रममा मृत्यु भएका उदयपुरको बेलका नगरपालिका–१ का ५५ वर्षीय पुरुषको पीसीआर परीक्षणको रिपोर्ट मंगलबार दिउँसो नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरीटेण्डेन्टले जानकारी दिए ।

– कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मुक्त हुनेको संख्या बढ्दै गएको छ । पछिल्लो तथ्याङ्कअनुसार प्रदेशमा सक्रिय संक्रमितको संख्या १९८ मात्र छ । मंगलबारसम्म संक्रमित १९४५ मध्ये १७४१ जना संक्रमणमुक्त भएका हुन् । मंगलबार भने नयाँ संक्रमितको संख्या शून्य छ ।

– कर छली रोक्ने सरकारी अड्डाका प्रमुख नै दुई लाख घुससहित मंगलबार पक्राउ परेका छन् । बुटवल–१२ नयाँगाउँमा रहेको राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विजय राना चिनी र सुर्ती व्यापारीसँग घुस लिंदै गर्दा बुटवल–१३ बुद्धचोकबाट पक्राउ परेका हुन् ।

– रुपन्देहीको देवदहस्थित क्वारेन्टिनका सुरक्षा गार्डले आत्मदाह गरेका छन् । देवदह–५ मितेरी टोलका २४ वर्षका विपिन बस्यालले मंगलबार बिहान करिब ३ बजेतिर शरीरमा मट्टीतेल खन्याएर आत्मदाह गरेका हुन् ।

– कुशे गाउँपालिका–५ बाटुलेकी २७ वर्षीया पशुपति पुनको सुत्केरी भएको छ घण्टापछि मृत्यु भएको छ । सोमबार बिहान छोरा जन्माएकी उनको सालनाल खस्न ढिलो हुँदा मृत्यु भएको हो । बिहान ४ बजे सुत्केरी भएकी उनलाई ढिलो गरी स्थानीय मेडिकलमा ल्याएर सालनाल निकालिएको थियो । सालनाल निकालेलगत्तै बेहोस भएपछि उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुखले बताए ।

– एकै परिवारका १४ जनामा कोरोना संक्रमण पुष्टि भएपछि स्थानीय तहले मोरङको रंगेली बजार मंगलबारदेखि अनिश्चितकालका लागि बन्द गरेको छ । रंगेली नगरपालिकाले अर्को सूचना नहुन्जेलसम्मका लागि अस्पताल पनि पूर्ण रुपमा बन्द गरेको छ ।

– नारायणी अस्पतालको प्रयोगशालामा सोमबार राति गरिएको परीक्षणमा दुई चिकित्सकसहित थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ३४ जना संक्रमितमध्ये दुई जना बारा, एक जना सर्लाही र एक जना सुर्खेतका छन् ।

– मोहना नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुईजनाको शव फेला परेको छ । आइतबार पौडी खेल्ने क्रममा बेपत्ता भएका धनगढी उपमहानगरपालिका–१३ श्रीलङ्काका १५ वर्षीय सन्दीप चौधरी र १२ वर्षीय अरुण चौधरीको शव मङ्गलबार फेला परेको हो ।

– चितवनमा मोटरसाइकल चोरी गरेको आरोपमा तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारी अनुसार पक्राउ पर्नेमा इच्छाकामना गाउँपालिका–७ गर्दासका ३० वर्षीय रामबहादुर गुरुङ, कालिका नगरपालिका–३ सिमलढापका २७ वर्षीय योगेश वाइवा र वडा नम्बर २ पदमपुरका २८ वर्षीय सुरज गुरुङ छन् ।

– घुँगी खोज्नलाई भनेर निस्किएका एक पुरुषको मोरङको रतुवामाई नगरपालिका–१० स्थित पैनीमा डुबेर मंगलबार मृत्यु भएको छ। रतुवामाई–१० का अमर श्रेष्ठको घरमा काम गर्दै आएका ४० वर्षीय सोम सतारलाई पानीमा डुबेको अवस्थामा मृत फेला पारिएको इलाका प्रहरी कार्यालय सिजुवाका प्रहरी निरीक्षकले बताए।

– नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट थप २५९ जना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । यसैगरी पछिल्लो २४ घण्टामा ६५ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । हालसम्म कोरोनामुक्त हुनेको संख्या १५ हजार २६ छ । पछिल्लो २४ घण्टामा एक जना संक्रमितको मृत्यु भएको छ । योसँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ५८ पुगेको छ ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com