Sunday, September 20th, 2020
राजनीतिमा आज

राजनीतिमा आज

– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्थायी कमिटीको बैठकमा सहभागी नहुने भएका छन् । आफ्नो अनुपस्थितिमा हुने बैठकले वैधानिकता पनि नपाउने ओलीको तर्क छ । ओलीले केन्द्रीय कमिटीको बैठक माग गर्नेहरुलाई पनि निराश बनाइदिएका छन् ।

– कांग्रेस सभापति शेरबहादुर देउवाले कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानबिन गर्न माग गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बालुवाटारमा आयोजना गरेको स्वास्थ्य विज्ञहरु, कोभिड–१९ संकट व्यवस्थापन समितिका सदस्यहरु र विभिन्न पार्टीका राजनीतिज्ञहरुसँगको छलफलमा देउवाले ७ बुँदे सुझाव र माग पेश गरेका हुन् ।

– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर राणाले अयोध्यामा राम मन्दिर निर्माण हुने विषयले प्रफुल्लित तुल्याएको बताएका छन् । भारतको अयोध्यामा बुधबार राम मन्दिरको शिलन्यास गरिने कार्यक्रम तय गरिएको छ ।

– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रवत्ता नारायणकाजी श्रेष्ठले प्रधानमन्त्री पार्टीको स्थायी कमिटी बैठकबाट भाग्न नमिल्ने बताएका छन् । एकीकरण पश्चात पार्टीको पहिलो अध्यक्ष र प्रधानमन्त्रीसमेत भएको नाताले उनले बैठकमा उपस्थित हुनुपर्ने उनको भनाइ छ ।

– कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण गर्न प्रदेश-२ सरकारले प्रत्येक दिन एक हजार मानिसको कोरोना परीक्षण गर्ने नयाँ रणनीति बनाएको छ । कोरोना भाइरस नियन्त्रण गर्न सीमामा पनि कडाई गरेको छ । संक्रमितको उपचार गर्न एकै साथ ५० भेन्टिलेट खरिद गर्ने निर्णयसमेत गरेको आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले जानकारी दिए ।

– प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले वस्तुको प्रत्यक्ष विक्री व्यवसाय दर्ता तत्काललाई रोक्न निर्देशन दिँदै सरकारलाई पत्र पठाएको छ । सांसदहरुले दिएका सुझाव र समितिको निर्णय अनुसार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई प्रत्यक्ष बिक्रीको नाममा इजाजत नदिन निर्देशनसहितको पत्र पठाइएको समिति सभापतिले जानकारी दिए ।

– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशमा क्वारेन्टिन र आइसोलेसन सेन्टर थप गर्न निर्देशन दिएका छन् । पछिल्लो समय कोरोना संक्रमित बढिरहेको भन्दै उनले यसको नियन्त्रणको लागि क्वारेन्टिन र आइसोलेसन थप गर्न निर्देशन दिएका हुन् ।

– प्रदेश ५ को प्रदेश सभामा प्रमुख विपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको नेतामा वीरेन्द्रकुमार कनौडिया चयन भएका छन् । मंगलबार बुटवलमा बसेको पार्टी संसदीय दलको वैठकले कपिलवस्तु ३ (ख) बाट निर्वाचत कनौडियालाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको हो ।

– अख्तियार दुरुपयोग अनुसन्धान आयोगका १५ कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार १८२ कर्मचारीको स्वाब संकलन गरी परीक्षण गर्दा मंगलबार १५ जनामा कोरोना संक्रमण पुष्टि भएको अख्तियार स्रोतले जनाएको छ । उनीहरु अधिकांश प्रहरी कर्मचारी हुन् ।

– सत्तारुढ नेकपाले राष्ट्रिय सभाका विषयगत समिति सभापतिमा पुरानालाई नै निरन्तरता दिने भएको छ । राष्ट्रिय सभाका चार विषयगत समितिभध्ये तीन समिति सभापतिमा आफ्नो पक्षका सांसद र एउटा समितिको सभापति प्रमुख प्रतिपक्षी कांग्रेसलाई दिने पनि नेकपाभित्र सहमति बनेको हो ।

– जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरले कोभिड–१९ को संक्रमणलाई ध्यानमा राखेर सरकारले बढीभन्दा बढी परिक्षण गर्नु पर्ने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार विज्ञ, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) का सदस्यहरू र विभिन्न राजनीतिक दलका नेताहरूसँगको परामर्श बैठकमा जसपा अध्यक्ष ठाकुरले सरकारले परीक्षणमा ढिलाई गरेको उल्लेख गर्दै आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराई परीक्षण बढाउन सुझाव दिएका हुन् ।

Share This:

Leave a Reply

Your email address will not be published. Required fields are marked *

*

PHP Code Snippets Powered By : XYZScripts.com